|

पर्वत : जिल्लामा पहिलो पटक शवलाई बिग्रन नदिन चिसो बनाइराख्ने प्रविधि सुरु गरिएको छ। गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको ८ लाख रुपैयाँ लागतमा शवलाई चिस्याएर राख्ने ‘मर्चरी च्याम्बर’ जडान गर्न लागिएको हो। 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार पोस्टमार्टमका लागि जिल्लाका शवहरु राख्ने गरिएको पर्वत अस्पतालमा रहेको शव गृहमा १÷२ दिन भित्रमा नै च्याम्बर जडान गर्न लागिएको छ। 

जिल्लामा शवलाई चिस्याएर सुरक्षित तरिकाले राख्ने प्रविधि नभएका कारण कानुनी प्रक्रिया लागि समेत झमेला हुँदा आएको थियो। जिल्लामा बेवारिसे अवस्थामा शव फेला परेमा मृतकको पहिचान गरेर आफन्तको खोजी गर्ने बेलासम्म शवलाई पर्वत अस्पतालको पोस्टमार्टम कक्षमा राख्ने गरिएको छ। 

कुस्मा नगरपालिका–५ बडा गाउँको बस्ती नजिकै रहेको अस्पतालको बस्तीतर्फकै भागमा रहेको शवगृहमा रहेका शव कुहिएर आउने गन्धले बडा गाउँबासी र अस्पतालमा कार्यरत कर्मचारीले नै दुर्गन्ध भोग्नुपरेको थियो।

पोस्टमार्टमका लागि प्रहरीले शव ल्याएपछि पहिचान भएमा आफन्तले जिम्मा लिन्छन् र अन्तिम संस्कार गर्छन्। तर पहिचान हुन नसकेका, कुहिएको अवस्थामा फेला परेका शवका कारण समस्या हुने गरेको थियो। 

बडा गाउँबासीले पटक–पटक अस्पताल प्रशासन तथा अस्पताल व्यवस्थापन समितिलाई शव गृहबाट आएको गन्धले घरमा बस्नै नसक्ने अवस्था आएको भनेर गुनासो पनि गर्दै आएका थिए। ‘जिल्लामा नै पहिलो पटक मर्चरी च्याम्बर ल्याउन सफल भएका छौँ। अब कसैले पनि शव गन्हायो भनेर गुनासो गर्नुपर्ने छैन,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पहाडीले भने, ‘बडा गाउँबासी र अस्पतालमा कार्यरत कर्मचारीलाई दुर्गन्धले सताएको थियो। पहिचान हुन नसकेका शव डुंगडुंगङ्ती गन्हाउँदा पनि सहेर बस्नु परेको थियो। त्यस्तै अवस्थाका शवको पोस्टमार्टम गर्नुपरेको थियो।’ 

शवलाई चिसो राख्ने प्रविधि जडान भएपछि शवको विषयमा प्रहरीले गर्ने अनुसन्धान गर्न तथा पहिचानका लागि पनि सजिलो हुने जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको भनाइ छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.