|

रौतहट : कटहरिया नगरपालिका लगायत आठवटा स्थानीय तहले अझै पनि नगर सभा गर्न सकेका छैनन्। कटहरियामा एक महिनाको अवधिमा दुईजना प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेपछि नगर सभा अन्योल भएको छ।

असार ७ मा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव श्यामकुमार सिंह निलम्बनमा परे। जिल्ला हुलाक कार्यालय दैलेखमा कार्यरत रहँदा भ्रष्टाचार गरेको आरोपमा उनीमाथि अख्तियार अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेपछि उपसचिव सिंह निलम्बनमा परेका हुन्।

त्यसपछि असार १५ मा शाखा अधिकृत मनोजकुमार रजक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आए। उनी पनि नगरपालिकामा हाजिर भएको एक साता नबित्दै निलम्बनमा परेको नगर प्रमुख सियाराम कुशवाहले जानकारी दिए। केही वर्षअघि रौतहट कै राजदेवी नगरपालिकामा कम्बल खरिदमा अनियमिता गरेको आरोपमा अख्तियारले शाखा अधिकृत रजकसहित छजना माथि विषेश अदालतमा मुद्दा दायर गरेको थियो। रजक असार २२ देखि निलम्बनमा परेका हुन्।

प्रमुख प्रशासकीय अधिकृत लगातार निलम्बनमा परेपछि नगर सभा गर्न नसेको नगर प्रमुख कुशवाह बताउँछन्। असार १० भित्र नै नगरसभा गरी सक्नुपर्ने प्रावधान रहे पनि कर्मचारीको अभावले गर्न नसकेको उनको भनाइ छ। संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाइदिँदा सेवाग्राहीको भुक्तानीमा समेत समस्या आएको छ। प्रमुख प्रशासकीय अधिकृतका लागि नगरपालिलकामा कार्यरतमध्ये सिनियर कर्मचारीको नाम मन्त्रालयले मागेको र सोहीअनुसार नाम पठाए पनि अहिलेसम्म कुनै जानकारी नआएको नगर प्रमुख कुशवाह बताउँछन्।

रोतहटको कटहरियासहित बौधमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, देवाही गुनाही नगरपालिका, राजदेवी नगरपालिका, गुजरा नगरपालिका, ईशनाथ नगरपालिका र गरुडा नगरपालिकाको नगर सभा भएको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.