|

पर्वत : वर्षासँगै आएको पहिरोले घर पुरिँदा कास्की जिल्लामा मृत्यु हुनेहरूको सङ्ख्या ७ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार पोखरा महानगरपालिकाका विभिन्न ४ ठाउँमा आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको हो। बिहीबार राति साढे २ बजेको समयमा आएको पहिरोले घर पुर्दा पोखरा महानगरपालिका १८ सराङकोटको गोठादीमा एउटै घरमा रहेका ५ जनाको मृत्यु भएको छ।

स्थानीय टङ्कबहादुर थापाको घर पुरिँदा सोही घरका सदस्य र पाहुना भई आएका ५ जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा ५० वर्षीय टङ्कबहादुर थापा, उनकी ४५ बर्सिया श्रीमती सोममाया थापा, ११ वर्षीया ईशीका थापा, मृतक टङ्कको दाइको नाति ६ वर्षीय सुवान थापा र ८ वर्षीय शीतल श्रेष्ठ रहेका छन्।

घाइते हुनेहरूमा टङ्कबहादुरकी २२ वर्षीया छोरी पिंकी, १८ वर्षीया आशा, पिंकीकी ५ वर्षीया छोरी पीरिशा, तनहुँको दमौली घर भएकी मृतक सोममायाकी बहिनी २८ वर्षीया सरस्वती श्रेष्ठ, सरस्वतीका १० वर्षीय छोरा सन्देश, टङ्कबहादुरको छिमेकी १९ वर्षीय अनीश तामाङ, १९ वर्षीया रशि थापा र १९ बर्सिया रश्मि थापा छन्।

घाइतेहरू केहीलाई मणिपाल शिक्षण अस्पतालमा र केहीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको लागि लगिएको छ। उनीहरूको टाउको, हातखुट्टा, छाती लगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ। घाइते सबैको अवस्था मध्यम रहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए। दुई जनाले भने पहिरो आएको थाहा पाएपछि भागेर ज्यान बचाउन सफल भएका थिए।

यस्तै, कास्कीकै पोखरा महानगरपालिका २५ हेम्जामा गएको पहिरोमा परी एक ७० वर्षीया महिलाको मृत्यु भएको छ। स्थानीय रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा उनकी आमा भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको पनि कास्की प्रहरीका प्रवक्ता डिएसपी हमालले बताए।

उता, पोखरा महानगरपालिका २६ स्थित पैतेको डाँडामा आएको पहिरोमा परी १ पुरुषको मृत्यु भएको छ। कास्कीका प्रहरी प्रवक्ता डिएसपी हमालका अनुसार बिहीबार राती आएको पहिरोले पुर्दा अन्दाजी ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको हो। सुनारको ब्लकले बनाएको २ कोठे घरलाई पुरेको खबर पाउँदा साथ राती नै प्रहरी घटनास्थलमा पुगेको थियो। डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा दुर्गाबहादुरकी श्रीमती, १ छोरा र १ छोरीलाई सकुशल उद्धार गर्न सफल भएको थियो। बेपत्ता रहेका दुर्गाबहादुर भने शुक्रवार बिहान मृत भेटिएका हुन्।

घरमा पहिरो झरेपछि पोखरा उपमहानगरपालिका १८ छोरेपाटनको सिमलटुँडामा ३ जना घाइते भएका छन्। स्थानीय चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका हुन्। उनीहरूको नमस्ते अस्पताल पोखरामा उपचार भइरहेको डिएसपी हमालले जानकारी दिए।

पोखरा उपमहानगरपालिका ५ मालेपाटनको सुकुम्वासी बस्तीमा बस्दै आएका २ जना पनि घाइते भएका छन्। अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी र पोखरा ४ फिर्के थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.