|

रुकुम (पूर्व) : अन्य जिल्लामा थोरै समय रहे पनि रुकुमपूर्वमा भने झण्डै एक सातादेखि सलहरले क्षति पु¥याइरहेको छ। हावाको बेगसँगै उड्ने यो कीरा प्रदेश ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्व पुगेपछि उत्तरतर्फ उड्न सकेको छैन।

हिम श्रृंखलातर्फ चिसोले पस्न नसकेको र पुनः दक्षिणतिर पनि फर्कने हावाको बहाव नपाएकाले सलह रुकुमपूर्वमा घुमिरहेको छ। जसले गर्दा यो जिल्लामा अन्यत्रको भन्दा ठूलो क्षति पु¥याएको छ। 

असार १६ गतेबाट भूमे गाउँपालिकामा देखा परेका सलहले जिल्लाभर क्षति पु¥याउँदै गरेको छ। जिल्लाका सबै ठाउँमा सामान्य क्षति गरे पनि भूमे–२ को दहबाङ, गाबाङ, खाबाङ, वडा नम्बर १ को लुकुम, वडा नम्बर ६ को तामारी, वडा नम्बर ७ को गुनाम, ८ को कुचिबाङ, वडा नम्बर ९ को चुनबाङ र वडा नम्बर ३ को झुम्लाबाङ, सीमा क्याङ्सीमा मकै तथा तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ। 

यसैगरी दुई स्थानीय तह पुथाउत्तरगंगा र सिस्ने गाउँपालिकाका विभिन्न ठाउँमा पनि अन्नबालीमा क्षति पुर्‍याएकोले यो वर्ष भोकमरीले सताउनेमा जिल्लाबासी चिन्तित छन्।  १६ गतेदेखि देखापरेको सलह आकाशमा लाखौंको संख्यामा त्यस्तै उडिरहेका छन् भने जमिनमा पनि उत्तिकै बसिरहेका छन्। 

मकैबलीमा बसेपछि मकै ढलाउन(गोड्न) बारीमा गएका दिनभर गोड्न छोडेर सलह धपाउनमै व्यस्त बनेका छन्। यति गर्दा पनि सलह कीराबाट मकै बाली जोगाउन नसकिएको सिस्ने–५ रुमालबाराका पूर्णबहादुर घर्तीले बताए।  

‘यो साल त मुख्य अन्नबाली मकै, आलु लगायत वर्षामासको खाद्यान्न सलहले सखाप गर्ने भयो’, भूमे–२ गाबाङका जुनकुमार रोका मगरले दुःख व्यक्त गर्दै भने, ‘यो वर्ष भोकमरी हुनेभो।’ सोमबारदेखि बिहिबारसम्म भन्दा शुक्रबार सलह केही कम देखिएका छन्। 

भूमेले प्रतिकिलो ४० रुपैयाँमा सलह किन्यो

जिल्लाको भूमे गाउँपालिकामा धेरै सहल कीरा देखा परेपछि गाउँपालिकाले किसानसँग प्रतिकिलो ४० रुपैयाँमा खरिद गरिरहेको छ। बिहीबारसम्म दुई सय ७१ किलो सहल खरिद गरी जलाएर नष्ट गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए। 

प्रदेश ५ सरकारले निर्णय गरेको प्रतिकिलो २० रुपैयाँ र गाउँपालिकाले आफैंले निर्णय गरेको प्रतिकिलो २० रुपैयाँ गरेर प्रतिकिलो ४० रुपैयाँमा सलह संकलन गरिएको श्रेष्ठले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.