मन्त्री भन्छन् : बाधा अड्काउ फुकाउबाट निर्णय लिँदैछौं

|

काठमाडौं :  एक सय भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको नवीकरण हुने भएको छ।

कोभिड-१९ का कारण वैदेशिक रोजगारमा कामदार पठाउने अवस्था नरहेपछि बाधा अड्काउ फुकाउमार्फत एक वर्षका लागि सबै म्यानपावर कम्पनीको नवीकरण गर्ने व्यवस्था गर्न लागिएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्‍वर राय यादवले बताए। 

संघीय संसद प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा उपस्थित मन्त्री यादवले कानुनमा न्यूनतम एक सय जना कामदार पठाए मात्रै नवीकरण हुने व्यवस्था रहेको बताए।

उनले अहिलेको परिस्थितिका कारण कानुन मन्त्रालयको सल्लाह बमोजिम बाधा अड्काउ फुकाउबाट नवीकरण गर्ने गरी प्रस्ताव मन्त्री परिषद्‍मा पठाउन लागिएको बताए उनले यसअघि दुई पटकसम्म मन्त्री परिषद्‍मा प्रस्ताव राखेको बताउँदै कानुन मन्त्रालयको सहमति लिएर काम गर्न लागेको बताएका छन्। 

वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखीकरण दिने संस्थाहरुको नवीकरण गर्ने सम्बन्धमा भने कानुन मन्त्रालयको सहमति नभएकाले नवीकरण के गर्ने भन्‍ने अन्योल भएको बताए। 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैह्रेले सबै म्यानपावर कम्पनीको नवीकरणको प्रक्रियाको सुरुवात गर्न माग गरे। उनले असार मसान्त भित्र नवीकरण भइसक्नुपर्ने व्यवस्था भएकाले अहिले नै नवीकरणको प्रक्रियाको सुरुवात गर्नुपर्ने बताए। 

सरकारबाट निर्णय ढिलो हुँदा ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायी कम्पनी बन्द हुने अवस्था आउन लागेको र असार मसान्त सकिन चार दिन मात्र बाँकी रहेकाले छिटो निर्णय गरी कम्तिमा नवीकरणको प्रक्रियामा जान दिन आग्रह गरे।

छलफलमा सांसदहरुले एक सय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीलाई नवीकरण गर्नुपर्छ भन्ने पक्षमा आफुहरु नरहेको तर अहिलेको परिस्थितिका कारण एउटा आर्थिक वर्षका लागि नवीकरण गर्ने व्यवस्था छिटो मिलाउन आग्रह गरेका छन्। 

कानुनमा भएको व्यवस्था परिवर्तन गर्न नसकिने भएकाले सकेसम्म लचकता अपनाएर सहज बनाउन मन्त्रालयले नै अग्रसरता लिनुपर्ने सांसदहरुले बताए। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले वैदेशिक रोजगारमा जाने नयाँ कामदारको श्रम स्वीकृति रोकिएको बताए। 

उनले पुनः श्रम स्वीकृति लिनेहरूका लागि भने अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने र तोकिएको दिन र समयमा आएर श्रम स्वीकृति नवीकरण गर्न सक्ने व्यवस्था गरिएको बताए। उनले सात वटै प्रदेशका कार्यालयबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाइएको समेत बताए।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि वैदेशिक रोजगार क्षेत्र प्रभावित भएको छ। सबै अन्तर्राष्ट्रिय उडान बन्द रहेको र श्रम स्वीकृति पनि बन्द भएका कारण म्यानपावर कम्पनी पूर्ण रुपमा बन्द भएका छन्। 

व्यवसायीहरुले न्यूनतम एक सय जना कामदार नपठाए नवीकरण नहुने अवस्था आएपछि सहजीकरण गरी एक वर्षका लागि नवीकरण गर्न दिन माग गर्दै आएका छन्। यस्तै अभिमुखीकरण सेवा दिने संस्थाहरुको पनि नवीकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरुले माग गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.