प्राकृतिक विपद्‍मा परेकाको उद्धारमा जुट्न आग्रह

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवन रक्षाको दायित्वबाट कसैले पनि विमुख हुन नमिल्ने बताएका छन्। 

केही दिनयता देशमा निम्तिएको बाढीपहिरोसहितका प्राकृतिक विपदलाई केन्द्रित गरी शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट कोही पनि पछि हट्न नमिल्ने पनि बताएका छन्। 

‘यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन । मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन’, उनले भनेका छन्, ‘त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ।’

उनले नेकपामा देखिएको विवादबारे पनि बोलेका छन्। ओलीले घुमाउरो भाषा प्रयोग गर्दै अहिले देखिएका राजनीतिक विषय र सन्दर्भप्रति जनताको ध्यान तानिएको उल्लेख गरेका छन्। 
‘अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरुप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो । महामारी र प्राकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा होइन’, उनले थपेका छन्, ‘जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पु¥याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो । पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन्।’
ओलीले यी विवाद छलफलबाट सुल्झिने पनि बताए। ‘यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन्’, उनले भने, ‘यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।’ अहिलेको विवादले जनतामा व्यवस्थाप्रति नै चिन्ता जगाएको हुनसक्ने उनले बताएका छन्। 

‘अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्छ’, उनले भनेका छन्, ‘म आश्वस्त पार्न चाहन्छु, आमनेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।’ 

उनले आफ्नो पूरा ध्यान नागरिकको जीवन रक्षामा केन्द्रि भएको बताएका छन्। ‘यतिबेला मेरो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित रहेको छ । हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलवाड गरेर महाविपत्ति निम्त्याउन किमार्थ पनि मिल्दैन’, उनले भनेका छन्, ‘तसर्थः जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तीनवटै तह, जनप्रतिनिधिहरु, राजनीतिक नेता, कार्यकर्ताहरु एकजुट भएर संभव सबै प्रकारका उद्दार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रुपमा अघि बढाइहाल्नु पर्दछ।’

उनले अहिलेको विपदमा उद्धारमा जुट्न पनि आह्वान गरेका छन्। ‘म यहाँहरु सबैलाई सम्बन्धित स्थानमा उद्दार कार्यमा जुट्न र आफ्ना दाजुभाइ दिदीबहिनीहरुको सहयोगमा केन्द्रीत हुन विशेष आह्वान गर्न चाहन्छु’, उनले भनेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.