एकैदिन २२ जनाको ज्यान गयो, ४१ जना बेपत्ता

|

काठमाडौं : बाढी पहिरोका कारण ठुलो जनधनको क्षति भइरहेका बेला विभिन्न जिल्लामा उद्धारमा कठिनाई भइरहेको छ। उद्धारका लागि खटिएका सुरक्षाकर्मीलाई घटनास्थलसम्म पुग्न सकस परेको छ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी देशका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या २२ पुगेको छ। ४१ जना हराइरहेका छन्‌। राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी अवस्थीले कास्कीमा ७, म्याग्दी, लमजुङ र जाजरकोटमा ३–३ जना र रुकुममा २ जनाको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार म्याग्दीमा ३१, जाजरकोटमा ९ र रुकुम पश्चिममा १ जना गरी ४१ जना बेपत्ता छन्। यसअघि बुधबार राति सिन्धुपाल्चोक पहिरोमा परी २ जनाको मृत्यु हुनुका साथै १८ जना हराइरहेका छन्‌। 

कास्की

कास्कीमा पहिरोमा परेर ७ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन्।

प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालका अनुसार कास्कीमा ३४ घरपरिवार रहेको एउटा बस्ती अझै जोखिममा रहेको छ। उनले त्यसका लागि सुरक्षाकर्मी तैनाथ अवस्थामा रहेको जानकारी दिए।

म्याग्दी

म्याग्दीमा पनि ३ जनाको मृत्यु भएको छ भने अझै ३१ जना बेपत्ता रहेका छन्। त्यहाँ ७ जना घाइते भएका छन्। पहिरोका कारण ३५ देखि ४० घर पुर्णरुपमा प्रभावित भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए।

हिँड्न मिल्ने गोरेटो पनि नभएकाले उद्धारमा भने कठिनाई भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए। धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा अहिले उद्धारका लागि सुरक्षाकर्मी समेत पुग्न नसकेको अवस्था छ। त्यहाँका थुप्रै व्यक्ति बेपत्ता छन्।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार उद्धारका लागि हेलिकोप्टर प्रयोग गरेपनि ल्याण्ड हुन नसकेपछि उद्धार गर्न सकिएको छैन। शुक्रबार हेलिकोप्टर ल्याण्ड हुन नसकेपछि आज (शनिबार) देखि उद्धारका काम थाल्ने भनिएको छ। तर मौसममा सुधार नआएकाले उद्धारमा बिलम्व हुने देखिएको छ।

सिन्धुपाल्चोक

अविरल वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकस्थित भोटेकोसी नदी करिडोरका तीन बस्तीमा जनधनको क्षति गरेको छ। बुधबार मध्यरातमा आएको बाढीले वितण्डा मच्चाउँदा दुई जनाको मृत्यु भएको छ। ३३ घर बगाएको छ। बाढीले बगाएका २२ जना बेपत्ता छन्।

बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा बाढी र पहिरोमा बेपत्ता भएकाहरुको आजै बिहानदेखि खोजी जारी छ। तर त्यहाँ उद्धारमा निकै कठिनाई रहेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भोटेकोसी आसपासमा उद्धार गर्न निकै कठिन भएको बताएका छन्‌। उनले भोटेकोसी किनारको बस्ती नसारे जति उद्धार गरेपनि अझै ठुलो क्षति हुन सक्ने बताए। 'कि त त्यहाँ बस्ती नै बसाउन दिनु भएन्, कि त बस्ती हटाउन पर्‍यो, तर अहिले त्यो सम्भव पनि छैन,' उनले भने, 'उद्धारका लागि विभिन्न कठिनाई छन्, साधनश्रोतको अभाव छ, त्यसमा पनि रातीमा उद्धार गर्न अझ कठिन छ।'

रुकुम पश्चिम

यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-३ मा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ।

पहाडी भूगोल भएका कारण पानी ठुलो पर्दा पहिरो जानसक्ने भन्दै पर्याप्त तयारी गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौड्यालले बताए। ठाँउ ठाउँमा सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा रहेको उनले बताए।

पूर्वी नवलपरासीमा डाइभर्सन नै बगायो

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ। गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो। लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए। बिहान ४ बजेबाट सडक अवरुद्ध भएको उनले बताए। अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन्। 

वर्षा नरोकिने 

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले अबको केही दिन देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हलुकादेखि मध्यम र केही ठाउँमा भारी वर्षासमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि देशका धेरैजसो ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ।

नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा कतिपय ठाउँमा डुबानसमेत हुने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  

मनसुन सुरु भएयता ३५ जनाको मृत्यु 

गत जेठ ३० गतेदेखि नेपालमा मनसुन सुरु भएको थियो। त्यसको भोलिपल्ट जेठ ३१ गते पर्वतको कुश्मामा गएको पहिरोमा ९ जनाको मृत्यु भएको थियो।

यस्तै, गत हप्ता असार २० गते बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परी ६ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका थिए।

यससँगै नेपालमा यस वर्षको मनसुन सुरु भएयता मृत्यु हुनेको संख्या ३५ पुगेको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ। ५९ जना बेपत्ता रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.