|

मनाङ : विगतमा माघ, फागुन महिनादेखि भरिभराउ हुने मनाङ र तिलिचो ताल अहिले पूर्णरूपमा सुनसान छ। पर्यटकको चहलपहलले मनाङका गाउँहरुमा छुट्टै हतारो हुने गर्दथ्यो। यसवर्ष भने कोभिड १९ संक्रमण फैलिएसँगै यस वर्ष पर्यटकको चहलपहल सबै स्थानमा ठप्प नै छ। विश्वकै पर्यटक आउने मनाङको तिलिचो ताल जानेको भिड लागेको हुन्थ्यो। तर यसवर्ष विश्वकै सर्वाधिक उचाईमा रहेको तिलिचो ताल कञ्चन पानी पर्यटक बिना नै चम्किरहेको छ।

पर्यटन व्यवसायकै भरमा निर्भर रहेका मनाङका होटल व्यवसायी अहिले व्यवसाय ठप्प हुँदा चिन्तित छन्। कहिले खुल्ला र व्यवसाय सुचारु गरौंला भनि पर्खिरहेका छन्।

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित यस ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको छ। यस तालले चार दशमलव आठ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ। यसको लम्बाइ ३ दशमलव ९ किलोमिटर र चौडाइ १ दशमलव ६ किलोमिटर रहेको छ।

ताल तिलिचो पिक र निलगिरी हिमालको गेल्यसियरबाट  निर्माण भएको हो। यस तालबाट अन्नपूर्ण हिम श्रृङ्खलाहरुको मनोरम दृश्यावलोकन गर्नकै लागि पनि विदेशी तथा स्वदेशी पर्यटकको घुइचो लाग्ने गर्छ। यहाँ प्रत्येक सिजनमा १२ हजार देखि १५ हजार स्वदेशी पर्यटकले भ्रमण गर्ने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए। नेपाली फिल्म सुटिङदेखि म्युजिक भिडियो सुटिङमा समेत कलाकारहरु आउने गरे पनि अहिले सबै ठप्प छ। 

तिलिचो जाने उपयुक्त समय

हिमालको काखमा अवस्थित यो तालमा सधैं जान कठिन हुन्छ। अत्यधिक चिसोको समय र हिमपातका बेलामा त्यहाँ पुग्न निकै कठिन हुने हुँदा जुनसुकै समयमा जान सकिदैन। यहाँका स्थानीय त सँधै गएपनि पर्यटकलाई भने जोखिमका साथै मुस्किल पर्छ।

हिमपात र बेमौसमी फुलको सुगन्धले पर्यटकलाई लेक लाग्ने संभावना बढी हुन्छ। त्यसैले यहाँ जानका लागि भदौ, असोज महिना उपयुक्त मानिन्छ। भदौबाट सुरु भई मंसिरसम्म पर्यटक आवात जावत गर्ने गर्छन्। यो समयमा आकाश खुलेर निलो देखिन थाल्छ अनि निलो आकाश मुनि सेता हिमालका लहरहरु मुस्कुराइ रहन्छन्, तब पर्यटकहरु मनोमहक दृश्यमा मोहित हुन्छन्।

‘स्वदेशी पर्यटकहरु विशेषगरी दशैं, तिहारको लामो बिदालाई सदुपयोग गर्दै तिलिचो पुग्छन्,’ होटल व्यवसायी कर्मडोन्डु गुरुङले भने।  पहिले  खासै स्वदेशी पर्यटक नआए पनि पछिल्लो समयमा स्वदेशी पर्यटकको मुख्य गन्तव्य स्थल बन्ने गरेको छ, तिलिचो ताल। 

कोभिड १९ को प्रभाव

दैनिक पाँच सय देखि एक हजार स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ हुने तिलिचो  कोरोना महामारीले गर्दा सुनसान छ। होटल व्यवसाय ठप्प भएको छ। जसले गर्दा पर्यटन व्यवसाय नै धरापमा परेको छ।

मनाङका अधिकांश मानिसहरु होटल व्यवसायमा आत्मनिर्भर रहेकाले यसरी विश्व महामारीका कारण वैकल्पिक पेसा अपनाउन बाध्य भएको होटल व्यवसायीको भनाई छ। कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले एक सय दिन बढी भइसकेको अवस्थामा पनि पुनः उही पेसामा आउन सहज वातावरण बन्न सकेको छैन। कहिले सहज वातावरण बन्ने हो र पुनः पर्यटकको चहलपहल हुन्छ भन्ने पर्खाइमा मनाङवासी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.