|

बैतडी : जिल्लाभरका माध्यमिक विद्यालयका एसइई दिन नपाएको विद्यार्थीको आन्तरिक मूल्यांकन सम्पन्न भएको छ। चैत ११ गतेदेखि सुरु भएको लकडाउन कारणले एसइई परीक्षा सञ्चालन हुन नसक्दा सरकारले आन्तरिक मूल्यांकन बाट विद्यार्थीलाई नम्बर वितरण गर्न आदेश दिएको थियो।

बैतडीका ५ हजार ६९४ ले विद्यार्थीले परीक्षा दिन पाएका थिएनन्। जिल्लाका २ हजार ७ सय २८ छात्र र २ हजार ९ सय ६६ छात्राको आन्तरिक मूल्यांकन गरिएको हो।

१२४ ओटा माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरुको आन्तरिक मूल्यांकन बाट वितरण गरिएको नम्बर तालिका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीमा आइपुगेको सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए।

'प्रत्येक विद्यालयहरूले प्रथम त्रैमासिक, अर्ध बार्षिक र बार्षिक परीक्षाको आधारमा आन्तरिक मूल्यांकन गरेर विद्यार्थीहरुको नतिजा पठाइसकिएको छ,' उनले भने 'विद्यालयहरूले पठाएको आन्तरिक मूल्यांकनको नतिजा एकीकृत गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउने तयारी भएको छ।'

राष्ट्रिय परीक्षा बोर्डले यो बर्ष माध्यमिक शिक्षा परीक्षा दिन नपाएका विद्यार्थीहरुको आन्तरिक मूल्यांकन भनेपछि यहाँका विद्यालयहरूले विद्यार्थीहरुको आन्तरिक मूल्यांकन गरेका हुन्।

गत चैत ६ गतेदेखि तय भएको एसइई परीक्षा कोरोना जोखिमका कारण चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो।

लकडाउनका कारण  रोकिएको कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष नगर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकन ग्रेड सीट तयार पार्ने निर्णय गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.