|

ओखलढुंगा : असार मसान्त लाग्दै गर्दा ओखलढुंगामा विकासको चटारो छ। प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण सडकअन्तर्गत ८० लाख र सडक मर्मत शीर्षकको ३८ लाख बजेटमा सडक ढलान पूर्वाधार विकास कार्यालय ओखलढुंगामार्फत टेन्डर आह्वान गरी ढलान गरिएको छ।

गत चैत्र २ गते भएको सम्झौताअनुसार जेठको पहिलो साताबाट थालिएको काम वर्षामा धमाधम भइरहेको छ। डिभिजन वन कार्यालय ओखलढुंगादेखि जिविस मोड तथा दशहाते शेर्पा होटलदेखि जोरधारासम्म दुई खण्डमा सडक ढलान भइरहेको छ। 

असार मसान्त सम्ममा काम सक्ने गरी चैतमा १ करोड २ लाखमा ठेक्का लिएको र जेठदेखि धमाधम काम भइरहेको टेकराज खनालले बताए।  तर समय सकिँदै गएपछि काम सक्न झरी बादल केही नभनी आफूहरुले काम गरिरहेको निर्माण कम्पनीका खनाल बताउँछन्। 

ठेकेदारले काम धमाधम गरिरहेको भए पनि मापदण्ड विपरीत हिलोमा सडक ढलान भइरहेको र आफूहरूलाई चित्त नबुझेको सदरमुकाम बासी बताउँछन्। ‘घर अगाडिको सडक ढलान भयो भनेर खुसी भइयो, तर हिलोमा धमाधम रड बिच्छ्याएको छ, कति टिक्ने हो?’, जिविस टोलका एक स्थानीयले चिन्ता जनाए। 

दसहातेदेखि जोरधारासम्म गरिएको ढलान पनि पानी परिरहेकाले हालत उस्तै रहेको उनले नाम नभन्ने सर्तमा बताए। तर ठेकेदार कम्पनीका खनालले भने आफूले समयमा काम सक्नुपर्ने भएकाले पानी पर्दा पनि काम गरेको तर हिलोमा त्यसरी ढलान नगरिएको तर्क गरे। 

यता पुर्वाधार विकास कार्यालय ओखलढुंगाले भने कार्यालयले समय समयमा निगरानी गरिरहेको र काम मापदण्डअनुसार भएको दाबी गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.