|
फाइल फोटो

काठमाडौं : ३३ किलो सुन प्रकरणमा जोडिएका आरोपी एक जनालाई प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ। इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएपछि युएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर आज काठमाडौं ल्याइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहका अनुसार उनलाई काठमाडौं उत्रिएपछि गौशाला प्रहरीको जिम्मा लगाइएको छ। उनी २०७५ माघमा यूएईमा समातिएका थिए। खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो।

काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए। वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन्। यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७३ साल पुस २१ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए।

नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दुबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो। ३३ किलो सुन विमानस्थलबाट बाहिरिएसँगै गायव भएको थियो। उक्त सुन चुडामणि उप्रेती भनिने गोरको समूहले ल्याएको थियो। हाल उनी जेल जीवन बिताइरहेका छन्। उक्त सुन काण्डमा सनम शाक्यको ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.