'म आफैँ पनि संघर्षमा छु, बहसमा छु'

|
फाइल फाेटाे

काठमाडौं : सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले हतार गरेकाे भए देश र पार्टी दुर्घटनामा जाने बताएका छन्। त्यस्तै उनले विकास निर्माण जस्तै पार्टीमा आफू पनि संघर्ष गरिरहेको बताएका छन्।

शनिबार चितवनको माडीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले  नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै चितवन आएको पनि बताए।

‘चितवन पुगेर आउँछु भनेँ, उहाँले एकदम ठिक सोच्नु भो भन्नु भो । अनि चितवनबाट फर्केर आएपछि हामी कुरा गरौँला भनेर म आएको हो,’ उनले भने, ‘आफू पनि चीतवनबासीको दुख सुखमा व्यवहारिक रुपमा सँगै हौँ भनेर आएको हुँ। अप्ठ्यारो के छ भनेर म भन्न चाहन्नँ। म आफैँ संघर्षमा छु। बहसमा छु।’ उनले समाजवाद निर्माणका लागि पार्टी एकता गरेको र जनताले भरोसा गरेकोले पार्टी र देश दुर्घटना जान नदिन अन्तिमसम्म पनि कोसिस गरिरहने बताए।  

'हतारमा केही गरेर फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क छु’  उनले भने, ‘मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिन समयसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास दिलाउँछु। मैले हतार गरेको भए दुर्घटना या अर्काे के हुन्थ्यो म भन्न सक्दिनँ।’ 

उनले पछिल्लो पटक अर्काे अध्यक्ष ओलीसँगको वार्ता सकारात्मक भएको जानकारी  पनि कार्यक्रममा गराए। ‘पछिल्लो प्रयास कुनै न कुनै समझदारीबाट अहिलेको अप्ठ्यारोबाट हल निस्कने विश्वास मैले लिएको छु। प्रधानमन्त्रीको संकेत पनि हल निस्कन्छ भन्ने नै छ’, उनले भने। कोरोनाको कारण देशको अर्थतन्त्रले अझै धेरै अप्ठ्यारो बेहोर्नुपर्ने अवस्था आइपरेको भन्दै उनले चिन्ता व्यक्त गरे। 

त्यस्तै उनले नेकपा फुटाउन चाहनेहरुले प्रचण्ड र ओली दुवैलाई उचालिरहेको पनि बताए। ‘नेकपालाई फुटाउन चाहनेहरुले यो बेला केपी ओलीलाई छोड्न हुन्न भन्दिने, अर्काे तर्फ प्रचण्डलाई छोड्न हुन्न यही बेला भन्दिने पनि बुझिएको छ। तपाईंहरु त्यस्तोमा नलागिदिनुहोला हामी ठिक छौँ’, उनले भने।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.