|

भारतमा कोरोना संक्रमितलाई अक्सिजन अभाव भएको छ। संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको, तर अक्सिजन उत्पादन बढाउन नसकेकाले बिरामीको उपचारका क्रममा अत्यावश्यक अक्सिजन अभाव भएको हो। 

महाराष्ट्र लगायतका राज्यमा संक्रमित बिरामीहरु अक्सिजन अभावमै स्वास्थ्य समस्यासँग जुधिरहेको बीबीसीले उल्लेख गरेको छ। अधिकांश बिरामीहरु अक्सिजन जडान गरिएको शय्यामा राख्नुपर्ने स्थितिमा रहेका, तर अक्सिजनको उपलब्धता पर्याप्त हुन नसकेको जनाइएको छ। 

कोरोना संक्रमितको स्वास्थ्यअवस्था नाजुक हुँदै जाँदा स्वासप्रस्वासमा समस्या देखिन्छ। यस्ता संक्रमितलाई अक्सिजन दिएरै राख्नुपर्ने हुन्छ। 

भारतका कोरोना संक्रमित धेरै बिरामीको शरीरमै अक्सिजन अभाव देखिएको छ। गम्भीर स्थितिमा पुगेका बिरामीहरुलाई अक्सिजनको सहारामा भेन्टिलेटरमा राख्नुपर्ने भएपनि अक्सिजन अभावका कारण उपचार प्रकृयामा समस्या निम्तिएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार हरेक साता थपिने १० लाख संक्रमितका लागि विश्वभर प्रतिदिन ६ लाख २० हजार क्युबिक अक्सिजन आवश्यक पर्छ। 
झण्डै ८० प्रतिशत अक्सिजन उत्पादन गर्ने प्लान्टहरु निश्चित कम्पनीहरुको नियन्त्रणमा छ। अहिले भारतमात्रै नभई विश्वका धेरै देशहरुले कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव भोगिरहेका छन्। 

भारतमा अहिलेसम्म ८ लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् र यो संख्या दिनानुदिन बढिरहेको छ। अस्पताल र हेरचाह केन्द्रहरुमा दैनिक करिब १३ सय टन अक्सिजन आवश्यक पर्नेमा कोरोना महामारी फैलनुअघि जम्माजम्मी ९०० टन अक्सिजन मात्र मौज्दात थियो। 

भारतभर रहेका करिब ६०० प्लान्टहरुले निकाल्ने १५ प्रतिशत अक्सिजन मात्रै अस्पतालहरुमा प्रयोग हुने गरेको छ। बाँकी अक्सिजन स्टील र अटोमोबाइल उद्योगहरुमा प्रयोग हुने गरेको छ। यस्ता उद्योगहरुले ब्लास्ट फर्निस र वेल्डिङको काममा अक्सिजन प्रयोग गर्ने गर्छन्। 

सन् २०१७ मा उत्तर प्रदेशको एक अस्पतालमा अक्सिजन अभावका कारण ३० बालबालिकाको ज्यान गएको थियो। बिल नतिरेको भन्दै अस्पतालले ती बालबालिकालाई दिइरहेको अक्सिजन आपूर्ति काटिदिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.