काठमाडौं : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ। लकडाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो।
निगमले असार २६ गते सूचना निकालेर पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर १ रुपैयाँले मूल्यवृद्धि गरेको थियो। काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ तोकिएको छ।
नेपाल आयल निगमले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै गत बुधबार नेविसंघले ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्र बुझाएपछि शुक्रबार पुनः मूल्यवृद्धि भएपछि नेविसंघ सडकमा उत्रिएको हो।
दैनिक रोजगारी गरेर खाने आम जनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले महंगी बढाएर जनताको ढाड भाँच्न थालेपछि यसको विरुद्धमा सडकमा उत्रिनुपरेको नेविसंघ अध्यक्ष राजीव ढुंगानाले बताए।
सरकारले अहिलेको अवस्थामा नियोजित ढंगले जनतालाई दुःख दिने गरी मूल्यवृद्धि गरेको उनले बताए। मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ। बबरमहलमा भएको प्रदर्शनमा सहभागीहरुले ‘जनता मार्न पाइँदैन’, ‘भ्रष्टाचारी सरकार राजीनामा दे’, ‘हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ’, सरकार तेरो पाराले दुःख पाए साराले’ नारा लगाएका थिए।
भिडियो
तपाईंको ईमेल गोप्य राखिनेछ ।