काठमाडौं : ठेकेदारको चरम लापारबाहीले वर्षौदेखि अलपत्र भएको राष्ट्रिय शहीद तथा शान्ति पार्कको काम शुरु भएको छ। गोकर्णेश्वर नगरपालिका ४ स्थित यज्ञडोल डाँडामा रहेको अलपत्र शहीद पार्कको लकडाउनबीच निर्माण कार्य थालिएको हो।
गोकर्णेश्वर नगरपालिका वडा ४ अध्यक्ष श्रीकुमार श्रेष्ठले अलपत्र परेको पार्कको काम थालनी गरेको बताए। ‘ठेकेदार नै बेपत्ता भएपछि शहीद पार्क अलपत्र परेको थियो,’उनले भने,‘अहिले शहीद पार्ककै योजनामा युनेस्कोले काम थालेको छ।’ उनले सम्पर्कमा नरहेका ठेकदारलाई कारबाही गर्ने प्रकृया अघि बढाएको र कुनै ठेकेदार भने सम्पर्कमा आइसकेको जानकारी दिए।
उनका अनुसार यज्ञडोल डाँडामा ६ सय ५० रोपनीमा पार्क फैलिएको छ। अहिले पार्क जाने पैदल मार्ग बनाउने लगायत काम धमाधम हुँदै छ। उनले भने,‘अहिले युनेस्कोले काम थालेको छ। ठेकेदारले अलपत्र पारेको काम पूरा गर्न ती ठेकेदारलाई सम्पर्कमा ल्याएका छौँ। अब उनीहरुलाई पनि काम गर्न लगाउँछौँ।’
उक्त पार्क बनाउन २०६८ सालमा शिलान्यास भएको थियो। तर, निर्माण थालिएको आठ वर्ष बित्दा पनि काम पूरा हुन सकेको छैन।
पार्क निर्माणका लागि ४६ करोड ७१ लाखमा सुनौला खिम्ती जेभी, बोखिम कन्ट्रक्सन शान्ति निर्माण सेवा, सूर्य-आ.बि- जनपथ-जे.भि, चक्रेश्वरी -सूर्यजीवन जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो।
यसमा ४ प्याकेज अनुसार काम छुट्याएको छ। दोस्रो जनआन्दोलनको अभिलेख राख्न, शहीदलाई श्रद्धा व्यक्त गर्न, शहीद भएका निजामती कर्मचारी, दुर्घटनामा निधन भएका वन विज्ञको स्मरण गर्न, शान्ति तथा एकताको सन्देश फैलाउनलाई पार्क बनाउने सुरु गरिएको बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।