|

पर्वत : पर्वतको जलजला गाउँपालिकाका ८ सय विपन्न परिवारलाई खाद्यान्न सामग्रीहरू निःशुल्क रूपमा वितरण सुरु गरिएको छ। कोरोना भाइरस नियन्त्रणका लागि भइरहेको लकडाउनको अवधिमा काम नपाउँदा झनै समस्यामा परेपछि गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले दाता खोजेर झन्डै ३० लाख मूल्य बराबरको सामग्रीहरू गरिब तथा विपन्नलाई वितरण सुरु गरेका हुन्।

हिमालयन बाल कल्याण मञ्चको सहयोगमा गाउँपालिका प्रमुख मल्लले उक्त राहत वितरण अभियान सञ्चालन गरेका हुन्। जलजला गाउँपालिकाका वडा नं २, ४, ५ र ७ नम्बर वडाका ८ सय विपन्न परिवारलाई लक्षित गरी वितरण गर्ने काम भइरहेको र प्रतिपरिवारलाई ४० किलो चामल, ४ किलो दाल, ३ लिटर तेल र २ किलो नुन बाँडिएको    मल्लले बताए।

‘कोरोनाको उच्च जोखिमको बेलामा लामो समय भएको लकडाउनले विपन्न र गरिबको रोजीरोटी नै खोसेको छ। काम गरेर पेट पाल्दै आएकाहरू खान नपाउने अवस्थामा पुगेका छन्। अलिकति भए पनि राहत बाँड्न सके उनीहरूको प्राण धानिन्छ भनेर नै अभियान चलाएको हुँ।’ गाउँपालिका प्रमुख मल्लले भने, ‘अहिले निश्चित वडामा मात्रै बाँड्न लागिएको छ। अरू दाताहरूको पनि खोजी गरिरहेको छु। केही पाइयो भने अरू वडामा पनि लगेर राहत बाँड्छौँ।’

राहत सहयोगका लागि प्रदेश सभा सदस्य ललितकला गुरुङ र मोदी गाउँपालिका १ भूकका वडाध्यक्ष भुलबहादुर पौडेलले समन्वय गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.