विचार

नेपालमा गाडधन गाथा र आर्थिक समृद्धिको कथा

असार २९, २०७७

    नेपाल प्राकृतिक स्रोत र खानीमा अत्यन्त धनी छ। हाम्रा धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार नेपाल स्वर्णभूमि रहेकाले यहाँ बहुमूल्य खनिज प्राप्त हुने बताइएको छ। पृथ्वी नारायण शाहको दिव्योपदेशमा 'खानी भएका ठाउँमा गाउँ भया पनि गाउँ अरु जगामा सारीकन पनि खानी चलाउनु' भन्ने कुराले उसैबखत पनि खानीको दूरगामी महत्व आत्मसात् गरेको पाइन्छ।

    खानीहरू मूलतः नेपालको अनगिन्ती प्राकृतिक स्रोत हो। तिनको उत्खनन्, अन्वेषण र उपयोग गरी राष्ट्रले लाभ लिनु पर्ने समय आएको महशुस हुन्छ। यो मुलुकको गाडधन नै हो।

    फलाम खानी

    नेपालमा ठाउँ ठाउँमा फलाम खानी छन्‌। नवलपरासीको धौवादी फलाम खानीबाट उत्पादन सुरू गर्न पहुँचमार्ग निर्माण र मेसिनरी जडान कार्य सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ। सरकारले फलामको वैज्ञानिक परीक्षण गरी फलाम उत्खनन एवं प्रशोधन कार्य अघि बढाउन बजेटमा रकम नै विनियोजन गरेको छ।

    आ.व. २०७२।७३ को बजेट वक्तव्यमा रामेछापको ठोसेमा फलाम खानी स्थलसम्म बाटो र विजुली पुर्‍याएर खानी संचालनमा ल्याउने कुरा बताइएको थियो। तर, यस काममा प्रगति भए/नभएको सुनिएको छैन। 

    रत्‍न, शालिग्राम र जेम्स

    नेपाल बहुमूल्य पत्थरमा पनि धनी छ। नेपाल सरकारले सुर्खेतमा बहुमूल्य पत्थरको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य लिएको छ। नेपालको रत्‍न पत्थर ढुङ्गालाई प्रशोधन गरी निकासी गर्न सकिने प्रबल सम्भावना छ।

    हाल केही युवाहरूलाई पत्थर काट्ने तालिम पनि दिइएको छ। साथै, हस्तकला उद्योगको नाममा यस क्षेत्रमा केही व्यवसायिक काम भएको छ। यसलाई ठूला आयोजनाका रुपमा संचालन गर्न सरकार र निजी क्षेत्र साझेदारीमा अघि बढ्नु उचित हुनेछ।

    नेपालका ठाउँ-ठाउँमा विभिन्न रंगका ठूला बलिया ढुङ्गाहरू पाइन्छन्‌ कालीगण्डकीको दुबै किनारामा कालो रंगका अनगिन्ती शालिग्राम भेटिन्छन्। गोलो चेप्टो आकारको ढुङ्गाभित्र अभूतपूर्व प्राकृतिक कलाकृति कुदिएको देख्न सकिन्छयस्ता रंगीचंगी ढुङ्गाका खानीहरूको संरक्षण गर्नुपर्छ

    दर्शनढुङ्गाको नामले परिचित ढुङ्गा पूरै सेतो रंगमा भेटिन्छ। यी बहुमूल्य पत्थरको कटिङ गरी कुन-कुन प्रयोजनमा उपयोग गर्न सकिन्छ भनी व्यापकरुपमा अध्ययन गर्नुपर्छ।

    सामान्यतः यसबाट जेम्स उद्योग संचालन गर्न सकिन्छ। नेपालको मार्बलले ख्याति कमाएको छ। नेपाली मार्बलमा अनेकौं प्राकृतिक कलाकृति कुदिएको पाइन्छ।

    चुनढुङ्गा सिमेन्ट

    नेपालमा सिमेन्ट उद्योगका लागि आवश्यक चुनढुङ्गा खानी प्रशस्त रहेको छ। एउटा अध्ययनले दक्षिण एसियाको सिमेन्टको आगामी दुईसय वर्षको मागलाई आपूर्ति गर्न सक्ने हैसियत नेपालसँग रहेको देखाएको छ। यसका लागि ठूलै लगानी र गुरुयोजना  बनाएर आधारमा वातावरणीय विस्तृत प्रभाव अध्ययनसहित अघि बढ्नु बुद्धिमानी हुनेछ।

    मुलुक हाल सिमेण्ट उत्पादनमा आत्मनिर्भर छ। सरकारले सिमेण्ट उद्योग स्थापना गर्नेलाई खानीसम्म पुग्ने सडक निर्माण गरिदिने तथा डेडिकेटेड फिडरलाइन  सरकारकै खर्चमा कारखानासम्म पुर्‍याइदिने प्रतिबद्धता व्यक्त गरेको छ। चालू आर्थिक वर्षको बजेटमा सरकारी स्वामित्वको उदयपुर र हेटौंडा सिमेन्ट कारखानाको क्षमता विस्तार गर्ने लक्ष्य लिइएको छ।

    नेपालमा हाल ६१ वटा सिमेन्ट उद्योग संचालनमा छन्। नेपालमा खरिढुङ्गाका साथै डोलोमाइटबाट ठूलो लाभ लिन सकिने सम्भावना पनि देखिएको छ।

    पेट्रोल

    नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता देखिएको धेरै भयो। तर, हामीले यसको इकोनोमिक स्केल कति छ भन्नेबारे विस्तृतमा सम्भाव्यता अध्ययन गर्न सकिरहेका छैनौं। वर्तमान सरकारले दैलेख लगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको उत्खनन गर्ने प्रतिबद्धता जनाएको छ। जसअनुसार, चिनियाँ सरकारको सहयोगमा उत्खननको काम अघि बढेको छ।

    पूर्वी नेपालका बिभिन्न स्थानमा पनि धैरै पहिले नै करिब ३५ सय मिटर तल उत्खनन गरी पेट्रोलियम खानी भएको पहिचान गरिएको थियोमोरङमा गरिएको सो उत्खनन् कार्य आन्तरिक  द्वन्द्वका कारण रोकियोत्यसबेला  अमेरिकी कम्पनीहरूले उत्खननमा चासो देखाएका थिए

    मूलतः यस्ता अध्ययनमा उच्च प्रविधि र उपकरण चाहिने हुँदा यसमा व्यवहारिक ज्ञान भएका र नेपालकै जस्तो भौगोलिक अवस्था भएका मुलुकसँग सहयोग लिन हिचकिचाउनु हुँदैन।

    खानीको 'हब'

    बैतडी र बझाङ्गमा रासायनिक मलमा प्रयोग हुने फस्पोराइट अन्वेषण गर्ने सरकारी योजना छ। आर्थिक वर्ष२०७०।७१ को बजेटमा खानी र खनिजको अत्यधिक सम्भावना भएको सल्यान, जाजरकोट र रुकुम जिल्लाको भौगर्भिक अध्ययन तथा नक्साकंन गरिने कुरा व्यक्त भएको थियो। यसको पनि आजसम्म ठोस प्रगति सार्वजनिक भएको छैन।

    प्राकृतिक ग्यास

    काठमाडौं उपत्यकाको जमिनमुनी प्राकृतिक ग्यास रहेको छ। धेरैअघि जापानको सहयोगमा यसको पूर्व सम्भाव्यता अध्ययन भएको छ। यसबाट काठमाडौंका जनतालाई ४० वर्षका लागि आवशेयक ग्यास पूर्ति हुन सक्ने बताइएको थियो।

    यसलाई खाना पकाउने ग्यासको प्रयोगको अलावा सिएनजी प्रविधिबाट सार्बजनिक बस संचालनमा ल्याउन सकिने कुरा पनि विज्ञहरूले बताएका छन्। यसैगरी यस ग्यासबाट विद्युत शक्ति उत्पादन गर्ने गरी परीक्षण गर्ने पनि भनिएको थियो। यस ग्यासलाई उपयोग गर्न आवश्यक अध्ययनका लागि भन्दै बंगलादेशमा अध्ययन टोली पनि गयो। तर, प्रगति भने आजसम्म शून्यमा रहेको छ।

    म्याग्‍नेसाइट क्षेत्र

    वर्तमान सरकारले उदयपुरको कम्पुघाटमा म्याग्नेसाइटको विस्तृत अध्ययन तथा अन्वेषण गरिने जनाएको छ। दोलखामा पहिले नै म्याग्नेसाइट कारखाना संचालनमा ल्याएर पनि निरन्तरता दिन सकिएन।

    यसरी नेपालको प्राकृतिक सम्पदाबाट लाभ लिने विषयबाट बीचैमा विमुख हुनु शुभसंकेत भने होइन। हाल म्याग्नेसाइटको खानी रहेको दोलखाको आसपासको क्षेत्रमा फिल्मी सिटी बनाउने योजना अघि बढेको छ।

    सुन, तामा र  यूरेनियम

    नेपाल सरकारले सुन, तामा, युरेनियम, फलाम लगायत संभाव्य खनिज वस्तुको अन्वेषण तथा व्यवसायिक उत्पादन सम्भाव्यता अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। चालू आर्थिक वर्ष को बजेट वक्तव्यमा निजी क्षेत्रको सहभागितामा सम्भाव्य देखिएका खनिज र बहुमूल्य धातुहरूको अन्वेषण, उत्खनन र प्रशोधन गरिने बताइएको छ।

    समय समयका बजेटले सिमेण्ट, मार्बल, म्याग्नेसाइट, तामा, फलामजस्ता खनिज पदार्थमा आधारित उद्योगहरूलाई विस्तार गर्न प्रोत्साहित गर्ने नीति अख्तियार गरिएको पाइन्छ। यसैगरी, सिमेन्ट, फलाम र तामा उद्योगको खानीसम्मको पहुँचमार्ग र विद्युत प्रसारण लाइन लगायतको पूर्वाधार निर्माण गर्न सरकार उत्सुक रहेको जनाइएको छ।

    औद्योगिक व्यवसाय ऐनले खनिज, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण तथा उत्खननमा लगानी गर्नेलाई सात वर्ष आयकरमा पूर्ण छुटको व्यवस्था गरेको छ। साथै, त्यसपछिको तीन वर्ष पनि आधा मात्रै आयकर तिरे पुग्ने प्रबन्ध गरेको छ।

    खानी भएर दु:ख !

    यी सबै कामका लागि  खानी, खनिज, पेट्रोलियम, ग्यासजन्य वस्तुहरूको मौज्दात पहिचान गरी बृहत् राष्ट्रिय खानी 'इन्भेन्ट्री' तयार गर्नुपर्छ। यसका आधारमा खानी तथा खानीजन्य उद्योगमा लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ।

    प्रत्येक वर्ष खानी उद्योगमा लगानी गर्न इच्छुक राष्ट्रिय लगानीकर्ताको राष्ट्रिय सम्मेलनको आयोजना गर्नुपर्छ। साथै, प्रत्येक ३ वा ५ वर्षमा अन्तर्राष्ट्रिय लगानीकर्ता र गैरआवासीय नेपालीको सहभागितामा अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्नुपर्छ। यस्ता सम्मेलनबाट प्राप्त सूचनामा आधारित भै नेपालमा खानीजन्य उद्योग स्थापना गर्न दिनु पर्ने सुविधासहितको बिशेष प्याकेज घोषणा गर्नुपर्छ।

    खानी नै समृद्धि आधार

    आखिर सधैँ हामी माल पाएर चाल नपाउने अवस्थाबाट गुज्रिन मिल्दैन। कृषिपछि नेपालको आर्थिक सम्बृद्धिको सम्भावनाको क्षेत्र प्राकृतिक खनिज र खानी हो। यसर्थ, नेपालमा खनिज एवं खानीजन्य उद्योग स्थापनाका लागि सरकारले उत्खनन र अन्वेषणको कामलाई उच्च प्राथमिकता दिनुपर्छ। एकैपटक सबै काम गर्न सकिन्न, यसर्थ, आर्थिकरूपमा सबल ५।७ वटा वस्तुको पहिचान गरी प्राथमिकीकरणको आधारमा लगानी केन्द्रित गर्नुपर्छ।

    ठुला आयोजना संचालनका लागि सरकार निजी क्षेत्रको साझेदारीमा अघि बढ्नु उचित हुनेछ। यसका लागि खानी उत्खननको नीतिगत स्थिरता हुनुपर्छयर्थाथमा लगानीमैत्री नीति लगानी मैत्री प्रशासनबाट नेपाली खानीमा आधारित उद्योग स्थापना गर्न सकिन्छएक अध्ययनका अनुसार सिमेन्ट उद्योग संचालकले ३८ वटा सरकारी निकायमा पुग्नु पर्ने प्रशासनिक सास्तीको अबस्थामा सुधार हुनैपर्छ

    यस क्षेत्रमा अध्ययन र अनुसन्धानका लागि विश्व विद्यालयलाई अति उच्च प्राथमिकतामा राख्नुपर्छ। एक पटकका लागि प्रयोगशाला लगायतका पूर्वाधार निर्माणमा विश्व विद्यालयको भूगर्भ विभागलाई केही अर्बको बजेट विनियोजन गर्नुपर्छ। यस क्षेत्रमा संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्छ। साथै, खानी भएको क्षेत्र छुट्याएर संरक्षण गर्ने नीति लिनु पर्छ।

    यस अतिरिक्त खानीको उपयोगका लागि खानी भूमिबाट वन, स्थानीय जनताको अधिकार क्षेत्र हटाई संघीय सरकारको खानी तथा भूगर्भ विभागको एकल अधिकार क्षेत्र कायम गर्नुपर्छ। यसबाट एकद्वार प्रणालीका माध्यम मुलुकको खनिजजन्य बस्तु र खानीको उपयोग गर्न सकिन्छ। जस्ले मुलुकको आर्थिक सम्बृद्धिमा कल्पना नै नगरिएको योगदान गर्ने पक्का छ।

कृष्णहरि बाँस्कोटा

सूचना आयोगका पूर्व-अध्यक्ष बाँस्कोटा सरकारका पूर्वसचिव पनि हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]