|

ललितपुर : महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो । 

नर्सले आफू सङ्क्रमित देखिनु अघि आमालाई लुभुस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याउनुभएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए। 
त्यस फार्मेसीमा कार्यरत श्रेष्ठका दुई छोराले यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा उहाँहरुको रिपोट समेत कोरोना पोजेटिभ आएको श्रेष्ठले जानकारी दिए।

श्रेष्ठलगायत उनका नाति र बुहारी हाल होम क्‍वारेन्टाइनमा छन्। फार्मेसीमा कार्यरत जेठा छोरा र अर्का चिकित्सक भनिएका कान्छा छोरा भने हाल सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा उपचार गराइरहेका छन्। 

त्यस वडामा यसका अलवा विदेशबाट फर्किएकी एक महिला, ग्वार्काेको बी एण्ड बी अस्पतालमा उपचारका लागि गएका एक पुरुष र स्थानीय अर्की एक महिला गरी हालसम्म लुभुका १५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको नगर प्रमुख रामेश्वर श्रेष्ठले बताए।

'यसका साथै वडा नम्बर ६ सिद्धिपुरका तीन, वडा नम्बर १ र वडा नम्बर ४ इमाडोलका एक-एक गरी अन्य पाँच जनासमेत कोरोना पोजेटिभ देखिएको छ, नगरपालिकाभित्र हालसम्म कूल २० जना कोरोना पोजेटिभ देखिएका छन्', उनले भने। 

यी सङ्क्रमितको काठमाडौँका विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ। लुभुका यी १२ व्यक्तिमा एकैदिन यही असार २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.