|

काठमाडौं : साझा पार्टीबाट दुईजना नेताहरु अलग्गिएका छन्। सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनाल पार्टीबाट बाहिरिएका हुन्। 

आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनीहरुले पार्टीबाट बाहिरिने बताएका थिए। पार्टीका सहप्रवक्ता शरदराज पाठकका अनुसार उनीहरूलाई अहिलेसम्मको योगदानका लागि धन्यवाद दिएर विदा गरिएको हो।

‘केन्द्रीय समिति बैठकमा दुवैजनाको योगदानलाई धन्यवाद दिने निर्णय भएको छ। उहाँहरुले पार्टी बाहिर बसेर सघाउने भन्दै बाहिरिनु भएको छ', पाठकले भने, 'उहाँहरुले अर्को पार्टी बनाउने कुरा गर्नु भएको छैन। तर उहाँहरुले पार्टी संगठन बाहिर रहेर सहयोग गर्ने भनेर विदा हुनु भएको हो।'

एकजना नेताका अनुसार दुई नेता र पार्टीका संयोजक रवीन्द्र मिश्रसँग विवाद थियो। उनीहरुले पार्टी संगठनलाई पूरै भंग गरेर नयाँ शिराबाट अघि बढाउने बताएका थिए। दुई नेताले नयाँ संरचना अनुसार अघि बढ्न खोजेका थिए भने मिश्रसहितका नेताहरु केही वर्षअघि फुटेर अलग्गिएको विवेकशील सहितका दलहरूसँग एकता गर्ने पक्षमा थिए। 

स्रोतका अनुसार कैलालीका गोपी हमाल र नयाँ शक्तिबाट आएका केशव दाहालसहित नेताहरुले विचार मिल्ने शक्तिसँग एकता गर्ने पक्षमा मिश्रलाई सहयोग गरिरहेका छन्। दुई नेताले भने एकजना संयोजक तोकेर सबै समितिहरु भंग गरी अघि बढ्नुपर्ने अडान राखेका थिए। 

तर उनीहरुको मत विपरीत दुई दिन अघिको सचिवालय बैठकमा पार्टी समिति भंग नगरी अघि बढ्ने निर्णय लिएको थियो। सचिवालयले विचार मिल्ने शक्तिसँग एकता अघि बढाउने पनि निचोड निकालेको थियो। तर दुई नेताहरु पुराना दलहरूसँग मिलेर जाँदा झन् समस्या पर्ने भन्दै पार्टीलाई नयाँ ढंगले संरचना बनाएर अघि बढाउने पक्षमा उभिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.