|

काठमाडौं : गोकर्णको जागेश्वरी भगवती मन्दिरमा बिहीबार बिहानै भजन गीत बज्दै थियो,‘ॐ भूर् भुवः स्वः तत् सवितुर्वरेण्यं.....।’ कोरोनाको त्रासबीचमा पनि भक्तजनहरू मन्दिरमा आएर दर्शन गरिरहेका थिए।  त्यहीबीच मन्दिरको गेटमा बसिरहेका थिए रामदेव सिंह। झट्ट हेर्दा उनी जोगीको रुपधारण लिएर बसेजस्तै देखिन्थे। 

उनी त्यही मन्दिरमा बस्छन्।​ उनको घर, ठूलो महल अनि परिवार भनेकै  मन्दिर हो। उज्यालो हुनासाथ गेटमा बस्छन्। उनी पैसा माग्दैनन्। भक्तजनले दिएमा उनी खुसी हुँदै पैसा  भाँडामा थाप्छन् अनि भन्छन,‘जय शम्भो।’बाबाको रुपधारण र पहिरन लगाएकाले फोटो खिच्न उनीसँग युवायुवती झुमिन्छन्। खुसी हुँदै फोटो खिच्न मान्छन् उनी। भन्छन्,‘भक्तजनहरुले थोरै भए पनि पैसा दिइरहन्छन्। यसरी नै जीवन चलिरहेछ।’

‘परिवारले बुझेको भए यस्तो हुने थिएन’
मोरङ जिल्लाका उनी काठमाडौंमा बसेको ३० वर्ष भयो। ३० वर्षमा धेरै उनले हण्डर खाए। सडकमा आउन बाध्य भएको पनि उनले आफ्नै परिवारलाई दोष दिन्छन्। ‘परिवारको कुरा नगर्नुस हजुर,’आक्रोशित हुँदै भन्छन्,‘मेरो परिवारले मलाई बुझेको भए यस्तो गतिविधि हुने थिएन।’

उनी पहिला धेरै पढ्न चाहन्थे। पढेर आफ्नो नाम र इज्जत कमाउन चाहन्थे। तर, परिवारले साथ दिएन। त्यसपछि रामदेव सिंहले महाभारत र रामायणका कथा पढ्न थाले। परिवारको सधैको टोकसोपछि उनी जोगी बन्ने सोचले २०४७ सालमा घर त्यागे। त्यसपछि पशुपतिमा गए। उनलाई थाहा छैन। त्यहाँ कति वर्ष बसे। ‘भोकभोकै बस्न नसकिँदो रहेछ,’नम्र स्वारमा भन्छन्,‘भोकभोकै बस्न नसकेकोले पशुपति छोडेपछि सडकमा आए। यो पापी पेटले दुःख दियो। न त पुरै जोगी बन्न सके न त अब मान्छे नै।’

सडकमा बस्दा बस्दै उनी ४६ वर्षका भइसकेका छन्। घर फर्कन पनि मनले मान्दैन रामदेवलाई। समाजले बस्न दिँदैन भन्ने पनि उनमा चिन्ता छ। उनले भने,‘अब बाँकी मेरो जीन्दगी पनि यसरी नै बित्छ होला।’

लकडाउनमा भोकभोकै
सरकारले कोरोना भाइरस रोकथामका लागि झण्डै तीन महिना लकडाउन लगायो। अत्यवश्यक काम बाहेक कसैलाई पनि घरबाहिर जान दिइएन। भक्तजन र सर्वसाधारण ज्यान जोगाउन घरभित्रै बसे। तर, भक्तजन आउँछन् कि भन्दै बाटो हेरेर उनी मन्दिरमै दिनरात कटाए। उनलाई अहिले पनि न कोरोनाको त्रास छ न त पानी न त हुरीबतासको नै। मात्रै, भोकको उनलाई चिन्ता छ।

‘पहिला कोही भक्तजन नआएको बेला धेरै पटक भोकै बसे,’उनले सुनाए,‘कहिलेकाही खाजा खुवाउने मान्छे आउथे। उनले दिएको खाजा खाएर बाँचे।’ उनले फेरि थपे ‘मलाई यहाँको वडा अध्यक्ष कोहो भनेर पनि थाहा छ। तर, उसले केही खुवाएनन्।’ सरकारले लकडाउन खुकुलो बनाएपछि मन्दिरमा भक्तजन आउन थालेका छन्। त्यसो त उनी थोरै भए पनि ढुक्क छन्। भक्तजनले दिएको ५/१० रुपैयाँले अहिलेसम्म उनले आफ्नो पेट पालेका छन्।‘अहिले भक्तजन आउँदैछन्,’उनले भने,‘उनीहरुले दिएको पैसाले जीवन धानेको छु। नदिएको बेला भोकै बस्छु। पहिला जस्तो भक्तजनले पैसा दिन छोडेका छन्। कुन दिन भोकै मरिन्छ थाहा छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.