काठमाडौं : इङ्ग्लिस प्रिमियर लिगको साविक च्याम्पियन म्यानचेस्टर सिटीले महत्वपुर्ण मुद्दामा विजयी हासिल गरेको छ। इंलिस क्लब सिटीमाथि युइएफएले लगाएको दुई वर्षको प्रतिबन्ध 'कोर्ट अफ आर्बिटेसन फर स्पोर्टस' (कास)ले खारेज गरेको हो।
सोमबार भएको सुनुवाइमा अदालतले सिटीको पक्षमा फैसला गरेसँगै सिटीले ठूलो राहत महसुस गरेको छ। यो सँगै सिटीले युरोपियन क्लब प्रतियोगितामा सहभागि हुन पाउने बाटो समेत खुल्ला भएको छ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले प्रिमियर लिग क्लब सिटीलाई गत फेब्रुअरीमा दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो । जसले गर्दा सिटीले युरोपको प्रतिष्ठित च्याम्पियन्स लिग लगायत महत्वपुर्ण प्रतियोगिता खेल्न नपाउने भएको थियो।
युइएफएको क्लब लाइसेन्सिङ्ग र फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाइएको थियो । युइएफको क्लब फाइनान्सियल कन्ट्रोल बडीले गरेको अनुसन्धानमा सिटीले २०१२ देखि २०१६ सम्म स्पोन्सरमार्फत भएको आर्जन नदेखाएर छली गरेको आरोप प्रमाणित गर्दै प्रतिबन्धको सिफारिस गरेको थियो। सिटीलाई ३० मिलियन युरोसमेत जरिवाना गरिएको थियो । प्रतिबन्ध लागेपछि सिटीले कासमा अपिल गरेको थियो ।
सिटीको प्रतिबन्ध फुकुवासँगै समर्थकहरुले सामाजिक सञ्जालमार्फत खुसी ब्यक्त गरिरहेका छन्। सिटी आफैले पनि सत्यको जितका रुपमा यसलाई लिएको छ।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यसअघि क्लबमाथि लागेको प्रतिबन्ध फुकुवा हुनेमा विश्वास रहेको बताउँदै आएका थिए । सिटीको प्रतिबन्ध फुकुवा भएपछि अब सिटीले अर्को सिजन युरोपियन च्याम्पियन्स लिग खेल्न पाउनेछ । सिटीले १० मिलियन युरो जरिवाना भने बुझाउनुपर्ने अदालतले जनाएको छ ।
सिटी अहिले ३५ खेलबाट ७२ अंकसहित प्रिमियर लिगमा दोस्रो स्थानमा छ र शीर्ष चारमा रहने पक्का छ। अब चेल्सी, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच शीर्ष ४ मा पर्ने प्रतिष्पर्धा कायम छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।