म्याग्दी : हिमाली जिल्ला म्याग्दीका ६ वटा स्थानीय तहहरुले आगामी आर्थिक वर्षको पुँजीगत तर्फको एक चौथाइभन्दा बढी बजेट सडक निर्माणमा मात्र विनियोजन गरेका छन्।म्याग्दीको ६ वटा स्थानीय तहहरुमा गरी कुल दुई अर्ब ६२ करोड ६२ लाख ४१ हजार ५ सय ९३ बजेट रहेकोमा पुँजीगततर्फ ८८ करोड ६३ लाख ७५ हजार ८९ बजेट रहेको छ।
सोही बजेटबाट सडक पूर्वाधारका लागि २५ करोड ३८ लाख एक हजार ५ सय ८० अथवा २८ प्रतिशत बजेट विनियोजन भएको छ। कमजोर भूबनोट भएको हिमाली जिल्ला म्याग्दीमा विगत ५ वर्षयता ग्रामीण सडक निर्माण तीव्र रुपमा हुँदै आएको छ।
तर जथाभावी खनिएका सडकका कारण नै जिल्लाका दुई दर्जनभन्दा बढी गाउँहरु बाढी र पहिरोको उच्च जोखिममा परेका छन्। सुगम, कृषि तथा उद्योग व्यवसायको विकास, जनजीवन सहज र उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउ पुग्ने गरी ग्रामीण सडक निर्माण तथा स्तरोन्नतिमा जोड दिएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।पुँजीगततर्फ १७ करोड ९८ लाख ८५ हजार ५६० विनियोजन गरेको मङ्गलाले सडकलाई सात करोड ८९ लाख १५ हजार छुट्टाएको छ।
बेनीलाई स्मार्ट सिटी बनाउने महत्वाकांक्षी योजना अघि सार्दै पुँजीगततर्फ १९ करोड ४० लाख छुट्टाएको बेनी नगरपालिकाले सडकमा पाँच करोड १५ लाख विनियोजन गरेको छ। १२ करोड ६५ लाख ५२ हजार पुँजीगत बजेट विनियोजन गरेको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाले सडकमा मात्र तीन करोड ६४ लाख ८६ हजार ५८० राखेको छ।
सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको मुदी र मल्कवाङ यसै महिना सडक सञ्जालमा जोडिएका छन्। १३ करोड ६५ लाख पाँच हजार ९४९ विकास बजेट रहेको मालिका गाउँपालिकाले दरवाङ बजारदेखि वडा कार्यालय जोड्ने सडक स्तरोन्नति र बस्तीमा सडक विस्तार गर्न तीन करोड ८३ लाख विनियोजन गरेको छ। मालिकाले कुल लागतको तीन प्रतिशत मर्मत सम्भार कोषमा राख्ने नीति लिएको अध्यक्ष श्रीप्रसाद रोकाले बताए।
११ करोड ५८ लाख ३१ हजार पुँजीगत बजेट विनियोजन गरेको रघुगङ्गा गाउँपालिकाले सडकमा रु तीन करोड २० लाख छुट्याएको छ। १३ करोड ३६ लाख पुँजीगत बजेट विनियोजन गरेको अन्नपूर्ण गाउँपालिकाले सडक आयोजनाका लागि एक करोड ६७ लाख राखेको छ।
सडकलगायत पूर्वाधारसम्बन्धी विकास आयोजना निर्माणमा कोरोनाका कारण रोजगारी गुमाएर विदेश र सहरबाट फर्किएकालाई परिचालन गर्ने नीति लिएको रघुगङ्गाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। सङ्घीय र प्रदेश सरकारसँग साझेदारीमा सञ्चालन हुने पूर्वाधार योजनाका लागि समपूरक कोषमा ११ करोड ५० लाख विनियोजन गरेका छन्।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरण, नियन्त्रण र व्यवस्थापन गर्नका लागि विपद् व्यवस्थापन कोषमा रु सात करोड २७ लाख १३ हजार विनियोजन गरेका छन्। बेनी नगरपालिकाले ९० लाख, धौलागिरिले रु ७५ लाख, मालिकाले एक करोड ७६ लाख १३ हजार, मङ्गलाले ८६ लाख, रघुगङ्गाले रु एक करोड ६० लाख र अन्नपूर्णले एक करोड ४० लाख विनियोजन गरेका छन्।
कृषि र पशुपालन क्षेत्रमा ६ करोड २६ लाख ४० हजार अथवा सात प्रतिशत बजेट छुट्टाएका छन्। बेनीले रु एक करोड २५ लाख, धौलागिरिले एक करोड दुई लाख, मालिकाले रु ७६ लाख, मङ्गलाले रु ९२ लाख ७० हजार, रघुगङ्गाले एक करोड ६० लाख र अन्नपूर्णले ७० लाख विनियोजन गरेका छन्।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को असरलाई कम गर्न रोजगारमुखी बजेट ल्याउने र कृषि तथा पशुपालनको क्षेत्रमा आगामी आर्थिक वर्षको महत्व दिने बताइए पनि म्याग्दीमा भने अधिकांश बजेट भौतिक पूर्वाधार निर्माणमा नै खर्चिने देखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।