'उट्पट्याङ, अपुष्ट र अप्रमाणित कुरा' : थापा, 'प्रधानमन्त्रीको उपचार खोजौं' : भट्टराई

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थान भारतको अयोध्यामा नभई नेपालकै वीरगञ्‍ज पश्चिममा पर्ने भनी दिएको अभिव्यक्ति देशभित्रै विवादित बनेको छ। 

भानु जयन्तीका अवसरमा सोमबार सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले भारतले नक्कली अयोध्या खडा गरी सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए। 

'भारतले नक्कली अयोध्या खडा गर्‍यो, राम पनि नेपाली नै हुन्'

प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएलगत्तै राजनीतिकर्मी, अभियन्ता र कूटनीतिज्ञहरूले फरक-फरक धारणा राखिरहेका छन्‌। राजसंस्था र हिन्दु धर्मलाई राजनीतिको आधार बनाउने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेका छन्‌।

​उनले ट्वीटरमा लेखेका छन्‌, '​प्रमको स्तरबाट यस्ता उटपट्याङ,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन। भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ प्रमको ध्यान गएजस्तो लाग्छ। नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन।'

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि ओलीमाथि सदाझैं कटाक्ष गरेका छन्‌। यसबारे उनले दुईवटा ट्वीट गर्दै पहिलो ट्वीटमा 'आधी-कवि ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं! सिधै बैकुण्ठधामको यात्रा गरौं!' भन्दै कटु व्यंग्य गरेका छन्‌। 

यस्तै, दोस्रो ट्वीटमा उनले 'अति गरे खति हुन्छ भन्छन्! प्रमका वचन/कर्मले सीमा नाघ्दैछन्! संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न।संसद स्थगन गरेर अध्यादेश/संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ!उपचार खोजौं!' भनि लेखेका छन्‌।

राम नेपालमै जन्मेको भनि लामो समयदेखि पैरवी गर्दै आएका लोकमणि पौडेलले प्रधानमन्त्री ओलीको अभिव्यक्ति प्रतिरक्षा गरेका छन्‌। आफूले लामो समयदेखि सक्कली अयोध्या नेपालमै पर्ने उल्लेख गरेपनि केहीले उडाइरहेको बताउँदै यो तथ्य सिद्ध गर्न आफूसँग पर्याप्त प्रमाण रहेको दाबी गरेका छन्‌। 


पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले धर्म राजनीति र कूटनीति भन्दा माथि रहेको यो एक उच्च भावनात्मक मुद्दा  भएकाले उपहासपूर्ण बयानले अप्ठ्यारोमात्रै पार्ने उल्लेख गरेका छन्‌। उनले ट्वीटरमा प्रतिप्रश्न गरेका छन्‌, 'यदि अयोध्या वीरगन्ज नजिक छ भने, सरयू नदी कहाँ छ?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.