समाज

जेलमा रहेका शिक्षकलाई तलब, अख्तियारले थाल्यो अनुसन्धान

असार ३०, २०७७

    बैतडी : बैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई शिक्षकलाई तलब दिएको खुलेको छ। जिल्लाको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भए पनि निजलाई कारवाही गर्नुको साटो तलब भत्ता दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

    आयोगले प्रकाशित गरेको विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा प्रधानाध्यापक भण्डारीले  ८३ हजार १०० लिएको खुलेको छ। सरकारी रकमको दुरुपयोग गरेकाले अख्यितारले सो रकम असुलउपर गरी पाउन भन्दै सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेकोले तत्कालीन प्रधानाध्यापक भण्डारी र अध्यक्ष भण्डारीबाट बिगो असुलउपर गर्न अख्तियारले माग गरेको छ। 

    यस्तै जिल्लाको दोगडाकेदारमै रहेको जशलिंग प्राविका तत्कालीन शिक्षक महानन्द कपाडीलाई पनि नियम विपरीत तलब खुवाएको अख्यितारले जनाएको छ। अख्तियारले गरेको छानबिनमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका कपाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरि नाथको सहमतिमा रु ८१ हजार ९०० तलब खुवाएको पाइएको छ।

    सरकारी रकमको दुरुपयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपडी, स्रोतव्यक्ति हरि नाथ र विद्यालयका तत्कालिन शिक्षक कपाडीबाट सो रकम असुलउपर गर्न विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

    दोगडाकेदार गाउँपालिका–३ श्रीकोट घर भएका शिक्षक कपाडी र दोगडाकेदार–४ का शिक्षक भण्डारी कर्तव्य ज्यान मुद्दामा २०७४ असार १५ मा जेल परेका थिए। दुई वर्ष कैद सजाय र ८२ हजार जरिवानासहित जेल परेका दुवै जना २०७५ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा जेल मुक्त भएका थिए। उनीहरु ६४ प्रतिशत कैद भुक्तान गरेपछि २०७५ सालमा गणतन्त्र दिवसको अवसरमा छुटेका थिए। उनीहरु दुवैजनाले दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकै अर्जुनसिंह विष्टको हत्या गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]