५०० जना पीडितहरू भोकै-रुझ्दै त्रिपाल र विद्यालयमा अलपत्र

|

जाजरकोट : गाउँभर पहिरो चलेपछि ज्यान जोगाउन विस्थापित भएका सर्वसाधारण भोकभोकै बस्न बाध्य भएका छन्।

जिल्लाका विभिन्न स्थानमा चलेको पहिरोका कारण ५०० जनाभन्दा बढी नागरिक विस्थापित भएका छन्‌। तर, खानेकुरा नपाउँदा उनीहरूले भोकभोकै बस्न बाध्य भएको बताएका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा एक गेडो चामल नभएपछि सर्वसाधारणहरू समस्यामा परेका हुन्‌। ठेकेदारले स्वीकृत कोटाअनुसार घाट डिपोमा १ हजार ५७ क्विन्टल चामल ढुवानी नगर्दा समस्या चुलिएको छ। सदरमुकामको गोदाममा भने चामल भरिभराउरहेको छ।

ठेकेदारलाई चामल ढुवानीका लागि पटक-पटक आग्रह गरेपनि नमानेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुखले नै बदमासी गर्ने ठेकेदारलाई जोगाउने गरेको प्रजिअ पन्तको भनाई छ। जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले भने 'बारेकोटमा नयाँ ठाउँमा खाद्य डिपो स्वीकृत भएर आयो, तर चामल आएन।'

चामल लिन गएपनि एक महिनादेखि रित्तो रहेको डिपोबाट सर्वसाधारणहरू रित्तो हात फर्केका छन्। विद्यालय तथा पालमा हालेर खुल्ला चौरमा ज्यान जोगाउन बसेका सर्वसाधारणहरूले आफन्त जोगाउनुको पीडाका साथै खानेकुराको अभावमा समस्या भोगेको बारेकोट गाउँपालिका ५ का मोहनजंग शाहीले जानकारी दिए।

पहिरो गएको चार दिनपछि राहत लिने छलफल

पहिरो गएको चौथौ दिनमा वनमन्त्री शक्तिबहादुर बस्नेतले हेलिकोप्टरमा लिएको २ हजार ३ सय किलो बाहेक अन्य कसैले पनि राहत वितरण नगरेको सर्वसाधारणहरूको गुनासो छ। 

पहिरो पीडित अलपत्र परेको चौथो दिनमा बल्ल सदमुकाम खलंगामा विपद्‌ व्यवस्थापन समितिको बैठक बसि राहत सामग्री लिने विषयमा छलफल भएको छ। सर्वसाधारणहरू बाँच्नका लागि जंगलमा पाल टाँगेर रात बिताउन बाध्य छन्‌। आधा शरिर भिजेर बसिरहेका बेला सदरमुकाममा भने बल्ल चार दिनपछि राहतबारे सामान्य छलफल सुरू भएको हो।

बारेकोट-४ सार्कीटोलमा खानेपानीदेखि ओत लिने त्रिपालसम्म नहुँदा एउटै पालमा १५ जनाभन्दा बढी बस्नु परेको स्थानीय कालीबहादुर सार्कीले बताए। प्रदेश सरकारले राहतको लागि कुनै पनि पहल नगरेको बारेकोट गाउँपालिकाले जनाएको छ। तीन तहका सरकारले ५०० नागरिकलाई ओत लाग्ने ठाउँसम्म व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको स्थानीयले बताएका छन्‌। 

विद्यालयको भुईँ कोठामा मानिसहरू खाँदिएर बस्दा बिरामी पर्न थालेको रमित सार्कीले बताए। गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहदेखि वडा अध्यक्षसम्म विस्थापित भएका छन्। बाटो भत्किएका कारण राहत सामग्री लिन मुस्किल भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। कुन ठाउँमा के भएको छ भन्ने थाहा नहुने अवस्था रहेका कारण जिल्लाका मुख्य ठाउँमा सूचना केन्द्र स्थापना गर्न पहल सुरू भएको भनिएको छ।

घरमा भएको अन्न समेत खाना पाइएन

खोलामा भएका सबै पानी घट्ट बग्दा घरमा भएको अन्नसमेत पिसेर खाना नपाएको सर्वसाधारणहरूले गुनासो गरेका छन्। बारेकोट ५ का ६१ बर्षीय जनक शाहीले भने, 'डिपोमा चामल छैन, एक गाउँबाट अर्को गाउँमा जानसक्ने अवस्था पनि छैन, कसरी बाँच्नु ?'

यता जिल्ला विपद्‌ व्यवस्थापन समितिको बैठकले नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त ९० थान त्रिपाल भेरी नगरपालिकाले ढुवानी भाडा व्यहोर्नेगरी पठाउने तयारी भएको प्रजिअ पन्तले बताए

तर, खाद्यान्न पठाउनका लागि अहिलेसम्म कुनै पहल भएको छैन। बारेकोटमा वर्षेनी यही समयमा खाद्यान्न अभाव हुने ठाउँ हो। पहिरोमा हराइरहेका बारेकोट ४ का १ जना र वडा नं ६ का २ अझै फेला परेका छैनन्‌। बारेकोटमा मात्रै पहिरोमा पुरिएर ११ जनाको ज्यान गएको छ। सेना र सशस्त्र प्रहरी उद्धार कार्य स्थानीय प्रहरीलाई जिम्मा दिदै आज सदरमुकाम फर्किएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.