कञ्चनपुरमा सबैभन्दा बढी रोपाइँ

|

कैलाली : सुदूरपश्चिमभर ९१ प्रतिशतभन्दा बढी रोपाइँ सकिएको छ। कृषि विकास निर्देशनालय दिपायलका अनुसार यस वर्ष कूल धान रोप्न योग्य क्षेत्रफलको ९१.५३ प्रतिशत धान रोपाइँ भएको हो। 

अघिल्लो वर्षको साउन मसान्तसम्म ९६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो। निर्देशनालयका प्रमुख यज्ञराज जोशीले ९१ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको जानकारी दिए। समयमै मनसुन सुरु हुँदा आकाशे पानीबाट सिँचाइ सुविधा नभएको ठाउँमा पनि रोपाइँ भएको उनले बताए। समयमै रोपाइँ सकिएकाले यस वर्ष धान उत्पादनमा वृद्धि हुने उनको दाबी छ। 

सुदूरपश्चिमका ९ ओटै जिल्लामा कुल एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। हालसम्म एक लाख ६२ हजार दुई सय ३० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको निर्देशनालय जनाएको छ।

कञ्चनपुरमा सबैभन्दा बढी ९६.५ प्रतिशत रोपाइँ भएको छ भने कैलालीमा ९३.५, बैतडी र डडेल्धुरामा ९०, दार्चुलामा ८८, अछाम र बझाङमा ८५, डोटीमा ८२, बाजुरामा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा कम रोपाइँ भने बाजुरामा भएको छ।

किसानले राधा–४, सुक्खा–३, सावित्री, मन्सुली, रामधान जातको बिउ रोपेका छन्। समयमै मनसुन भित्रिएपछि असारको अन्तिमसम्म ९१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो। यसपालि समयमै पानी परेपछि किसानहरुलाई राहत भएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.