सुरक्षा प्रोटोकलसहित सामाजिक दूरी कायम गर्न आग्रह

|

काठमाडौं : सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरिसकेको छ। सडकमा केही सार्वजनिक सवारी पनि देखिन थालिसकेका छन्। 

तर स्वास्थ्य जनसंख्या मन्त्रालयले भने सार्वजनिक सवारीमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। 'कोरोनाको जोखिम टरिसकेको छैन, सर्वसाधारणको जनजीवन सहज होस भन्‍ने उद्देश्यले सार्वजनिक यातायात सञ्चालन गर्न दिइएको हो। तर अनावश्यकरूपमा सार्वजनिक सवारी सकेसम्म प्रयोग नगर्नू', मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले भने।

कोभिड-१९ को समस्या समाधान भइसकेर सार्वजनिक यातायात सुचारु गरेको भने नबुझी दिन सर्वसाधारणलाई आग्रह गरिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले बताए। उनका अनुसार जनजीवनलाई कठिनाइका बाबजुत सावधानी अपनाएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ।

'सार्वजनिक यातायातको यात्रा कोभिडभन्दा पहिलाको अवस्था जस्तै सामान्य हो भनेर रुपमा नबुझी दिनुहुन आग्रह गर्दछु,' उनले भने,' यात्रा गर्नुपर्ने भएमा एकअर्काको दूरी कायम गरी मास्कको अनिवार्य रुपमा प्रयोग गरेर मात्र यात्रा गर्नुहोला।'

यात्रा गर्दा हरेक व्यक्तिले कोरोनाको संक्रमण फैलाउन सक्छन भन्‍ने हेक्का राखेर यात्रा गर्नलाई उनले आग्रह गरे। कोभिड-१९ को संक्रमणसँग मिल्दोजुल्दो लक्षण वा  कोरोना लागेको शंका देखिएमा सार्वजनिक यात्रा नगर्नलाई उनले जोड दिए।

पछिल्लो २४ घण्टामा देशभर ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।

त्यस्तै, मंगलबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ३४ जना रहेका छन्। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या १० हजार ३ सय २८ जना छन्।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.