नियतवश ओम्‍नीलाई नै ठेक्का दिइएको सांसदहरुको दाबी

|

काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालीन सचिव यादव कोइरालाले ओम्नी समूहबाट स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीको बचाउ गरेका छन्। 

संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा ओम्नी समूहबाट स्वास्थ्य सामग्री खरिद गर्न वार्ता गर्ने समितिमा कार्कीलाई संयोजक मात्रै तोकिएको भन्दै कोइरालाले बचाउ गरेका हुन्। 

२०७६ चैत ११ गते कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गठन भएको उच्चस्तरीय समितिबाट निर्देशन आएपछि वार्ता कमिटी गठन गरिएको कोइरालाले बताए। 

वार्ताका लागि स्वास्थ्य मन्त्रालयका १२ औं तहका विशिष्ट कर्मचारी डा. रोशन पोखरेललाई जिम्मा दिइएको उनले बताए। डा. पोखरेललाई जिम्मा दिएको काममा डा. कार्कीलाई संयोजकको रुपमा मात्र तोकिएको कोइरालाले स्पस्ट पारे।

‘मन्त्रालयले उच्चस्तरीय निर्देशन प्राप्त गरिसकेपछि हतार हतार हाम्रो मन्त्रीज्यू पनि त्यतिखेर समितिमा हुनुहुन्थ्यो उहाँले सूचना निकाल्नुभयो। गोरखापत्रमा सूचना निकाल्नुभयो, पत्रिकामा सूचना निकाल्नुभयो, सबैतिर सूचना निकालिसकेपछि त्यो सूचनामा भोलिपल्ट वार्ता कमिटी गठन गरेको छ,’ उनले भने, ‘वार्ता कमिटी भनेको वार्ता गर्नै हो। सबै अधिकार डिजीलाई छ। तर वार्ता भनेको छलफलका लागि हो। छलफल गर्न त्यहाँ डा. रोशन भनेको १२ औं तहको विशिष्ट तहको कर्मचारी हो। विशिष्ट श्रेणीको कर्मचारीलाई हामीले जिम्मा दिएका छौं। हाम्रो डा. खेम कार्की, जो सल्लाहकार हुनुहुन्थ्यो।’

प्रधानमन्त्रीका सल्लाहकार पनि बसेका र उनी पनि विशेषज्ञ भएकाले उनलाई राखिएको उनले स्पष्ट पारे। प्रधानमन्त्रीका सल्लाहकार सरकारी मानिस भएकाले पोखरेललाई जिम्मा दिइएको उनले स्पष्ट कोइरालाले स्पष्ट पारे। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार खेम कार्कीले आफू नियतवश वार्ता कमिटीमा नबसेको बताएका छन्। 

स्वास्थ्य मन्त्रालयको आग्रहमा वार्ता कमिटीमा बसेको र निर्णय गर्ने सन्दर्भमा २५/३० मिनेट समयभन्दा आफू नबसेको उनले प्रस्ट पारे। उनले भने, ‘जो वार्तामा बसेका थियौं मलाई के अनुरोध आयो भने तपाईले संयोजन गरिदिनुस् न भन्ने खालका कुरा आए। उहाँहरुले मलाई किन संयोजक बनाउनुभयो सायद डिजीले भन्नुहुन्छ होला, किनभने उहाँ पनि त्यो वार्ता टोलीको एउटा सदस्य हो। उहाँहरुले मलाई भनेको कुरा तपाई चाहिँ एमबिबिएस पनि गर्नुभएको छ। त्यसैले क्लिनिकल कुराहरूदेखि लिएर व्यवस्थापनको कुरा पनि तपाईलाई आउने भएको हुनाले तपाईं पनि यो वार्तामा बसिदिनुभयो भने सजिलो हुन्छ भन्ने कुरा आयो र म वार्तामा बसेँ।’ 

उनले थपे, ‘वार्तामा दुई वटा टिमको क्म्प्यारेटिभ चार्ट वहाँहरुले बनाएर ल्याउनुभएको थियो। त्यो वार्ताका दुई वटा पक्षहरुलाई त्यहाँ सँगै राखेर र हाम्रो वार्ताको टोली बसेर हामीले वार्ता अगाडि बढायौं र वार्तामा हामीले तपाईहरुले कति मूल्य घट्न सक्नुहुन्छ भन्ने नै प्रश्‍न हो, दुईवटैलाई। एउटाले म यसमा घट्न सक्दिनँ भनेर भन्यो र अर्कोले धेरै नै मेहनत गरेपछि कोही न कोही त घट्नैपर्छ तपाई दुई जनामध्ये १ जनाले ल्याउनैपर्ने हुन्छ। त्यसकारणले गर्दा यो बाधा फुकाइदिनुस् भनिसके पछाडि एउटा टिमले टोटलमा शून्य दशमलव ५ प्रतिशत घटाउन सक्छु भन्ने कुराहरु गर्यो।’

त्यसपछि एउटाले पोइन्ट फाइभ प्रसेन्ट भए पनि घटाएको र अर्कोले घटाउन नसक्ने भएपछि घटाएकोलाई सिफारिस गरेको उनले खुलाए। उनले फेरि भने, ‘यो २५/३० मिनेटको संलग्नता हो मेरो। न त्यो भन्दा अगाडिको कुनै पनि कार्यविधिमा मेरो संलग्नता छ न त्यस पछिको पनि।’

स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठले वार्ता कमिटीमा कसलाई राख्ने वा नराख्ने भन्ने कानुनी व्यवस्था नभएकाले कार्कीलाई जिम्मा दिइएको बताए। कार्कीलाई संयोजक तोकिएको कमिटीले आयातकर्ता छनोट गर्ने जिम्मा मात्रै पाएको उनले बताए। बजेटको सुनिश्चितता नभएपछि क्याबिनेटबाट जानुपर्छ भन्ने भएको र क्याबिनेटले पहिला फिर्ता गरेको र पछि क्याबिनेटले दिएको स्वीकृतिबाट भुक्तानी दिएको श्रेष्ठले जानकारी दिए। 

बैठकमा सांसदहरुले ओम्नी समूहबाट खरिद गर्न नियतवश निर्णय भएको हुनसक्ने बताएका थिए। सांसदहरुले खरिद गर्ने प्रक्रिया डिजाइनअनुसार योजनावद्ध रुपमा भएको विषय उठेकाले थप अनुसन्धान हुनुपर्ने बताएका छन्। उनीहरुले भ्रष्टाचार भएको कुरा उठिसकेकाले यसको छानबिनका लागि समिति गठन गर्न माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.