|

काठमाडौं : मिर्गौला तस्कर गरेको अभियोगमा ललितपुर महानगरपालिकाका वडा ३ का अध्यक्षलाई मानव बेचबिखन ब्यूरोको हिरासतमा राखेकोमा ललितपुर महानगरले आपत्ति जनाएको छ।

शनिबार अवैधरुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा चितवनस्थित भरतपुर मेडिकल कलेजका डाक्टर राकेश बर्मा, डा. सुप्रभात श्रेष्ठ र डा.बालकृष्ण कालाखेतीसँगै प्रहरीले जिल्ला प्रशासन चितवनका शाखा अधिकृत रामचन्द्र ढकाल, ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाश प्राप्त खरिदार नवराज केसी पनि पक्राउ परेका छन्।

त्यसैगरी जिल्ला प्रशासनका कार्यालय सहायक नवराज केसी पनि पक्राउ परेका छन्। पक्राउ पर्ने महिलाहरूमा जमुना राजभण्डारी र रेश्मा राई थिए। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले मंगलबार एक विज्ञप्ति जारी गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सिफारिस तथा प्रमाणित गर्ने अधिकार वडा कार्यालयको रहने व्यवस्था भएकोले वडा अध्यक्षको हैसियतमा कानुनी प्रमाणित गर्ने व्यवस्था भएकोले त्यस्तो काम गरिएको हुन सक्ने बताएका हुन्।

'वडावासीको सेवामा इमान्दारीपूर्वक समर्पित जनप्रतिनिधिहरुको प्रत्यक्ष संलग्नतामा नभइ वडा बाहिरका अन्य व्यक्तिहरुले झेली गरेको गलत लिखत क्रियाकलापमा वडाअध्यक्षलाई समेत मुछि हिरासतमा लिएबाट निर्वाचित जनप्रतिनिधहरु हतोत्साही हुनुको साथै वहाँहरुमा त्रासको वातावरण सिर्जना भएको हुँदा यथाशिघ्र सत्यतथ्य छानविन गरी जनप्रतिनिधिहरूलाई जनताको सेवामा समर्पित हुने कार्यबाट वञ्चित हुन नपरोस,' विज्ञप्तिमा भनिएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.