|

बैतडी : जिल्लाका सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्नेमाथि बैतडी प्रहरीले कारबाही थालेको छ। असार २२ गतेदेखि हालसम्म २ हजार ३१२ जनालाई कारबाही गरिएको बैतडीका प्रहरी प्रवक्ता गौरीप्रसाद जैसीले जानकारी दिए।

बजार क्षेत्रमा बिना मास्क निस्केका ६९ जनालाई जनही  १ सय रुपैयाँ  जरिवाना समेत तिराइएको उनले बताए। मास्क नलगाउनेलाई  नियन्त्रणमा लिनुका साथै जरिवाना समेत तिराउने गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

नियन्त्रणमा लिएका अधिकांशलाई मास्क अनिवार्य लगाउनुपर्नेबारे सम्झाई-बुझाई छाडिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए। गृह मन्त्रालयले असार २२ गते मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो। 

स्थानीय प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिइएको हो। मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेअनुसार कारबाही गर्ने क्रम जारी रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अवलम्बन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको थियो।  कोरोना भाइरसको संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन अनिवार्य मास्क लगाएर हिँडडुल गर्न तथा सामाजिक दूरी कायम गर्नको लागि आग्रह गरिएको छ।

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो। त्यसयता सडक र बजार, कलकारखानामा मास्क/सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.