|

लमजुङ : अविरल वर्षाका कारण पहिरो जाँदा बेँसीशहर–चामे खण्डसहित जिल्लाका अधिकांश ग्रामिण सडक अवरुद्ध भएका छन्।

लमजुङ र मनाङ जोड्ने बेँसीशहर-चामे सडकखण्ड अन्तर्गत बेँसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका अन्तर्गतका विभिन्न खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। यो सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको मर्स्याङ्दी गाउँपालिका अन्तर्गत रामबजार, स्याँगे, र काभ्रेभिरको  पहिरो हटाइएको लमजुङ प्रहरीले जनाएको छ।

वर्षाका कारण मध्यनेपाल नगरपालिका पुग्ने सडकका दर्जनौ ठाउँमा पहिरो खसेको छ। सडक अवरुद्ध भएका कारण नगरपालिका केन्द्र भोर्लेटार पुग्न नसकिने अवस्था छ भने एक वडाबाट अर्को वडामा समेत जान मुस्किल भएको स्थानीयले बताएका छन्। वर्षा भईरहेको र धेरै ठाउँमा ठूला पहिरो खसेका कारण सुचारु गर्न नसकिएको नगरप्रमुख रमेश कुमार पाण्डेले बताए।

जिल्ला सदरमुकाम बेँसीशहर नगरपालिका अन्तर्गतका चिती, पुरानकोट, बाँझखेत लगायतका स्थान पुग्ने सडकहरू पनि अवरुद्ध भएका छन्‌। सदरमुकाम बेंसीशहर बजारबाट बाँझाखेत तर्फ जाने मर्स्याङ्दी पुलमाथि गएको पहिरोले सडक अवरुद्ध भएको नगरप्रमुख गुमानसिँह अर्यालले बताए।

मौसम पूर्वानुमान महाशाखाले अझै भारी वर्षाको सम्भावना भएको जनाएकाले जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गदै उच्च सतर्कता अपनाउन सर्वसाधरणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.