|

कपिलवस्तु : धान रोप्ने सिजन सुरु भएसँगै कपिलवस्तुका किसानको चिन्ता सुरु हुन्छ। मलको जोहो कसरी गर्ने ? किसानलाई हरेक वर्ष मल पाउन निकै सकस पर्छ। केही सहकारीबाट, केही भारतबाट र केही कालो बजारी गर्नेबाट मल खरिद गर्छन्। 

बुद्धभूमि नगरपालिका–५ गिदवाका रिजवान गद्दी दुई सातादेखि मलका लागि सहकारीमा चक्कर लगाइरहेका छन्। उनले गत वर्ष पनि मल पाउन निक्कै सास्ती खेप्नु परेको थियो। एक बोरा युरिया सहकारीबाट, बाँकी भारतबाट चोर बाटो ल्याएर टारे। अहिले उनलाई २० बोरा युरिया र पाँच बोरा डिएपी मल खाँचो छ। सहकारीबाट मल नपाएपछि भारतीय सीमा क्षेत्र मर्जादपुर समेत पुगे। सीमा बन्दले गर्दा मेसो मिलाउन सकेनन्। यस वर्ष मलबिना रोपाइँ गरे।

खेतीको सिजन सुरु हुँदा मल नपाएपछि कपिलवस्तुका किसानहरूले धानमा मल प्रयोग गर्न पाएका छैनन्। धानका लागि आवश्यक पर्ने युरिया र डिएपी मल अभाव हुँदा धेरै किसान हायलकायल बनेका छन्। 

गत वर्ष मल अभाव भएको बेला सीमावर्ती भारतीय बजारबाट ल्याउने गरेका थिए। यस पटक लकडाउनका कारण सीमा बन्द हुँदा भारतीय मल समेत ल्याउन नपाएपछि कृषकलाई थप समस्या भएको छ। ‘मल नहुँदा धानको गाँज राम्रोसँग लागेको छैन। बोट हरियो भई हुर्किन पर्ने हो भएको छैन,’ वाणगंगा नगरपालिका–५ का किसान ईन्द्रेश थारुले भने, ‘डेढ बिघामा लगाएको धान खेतीमा मल नहुँदा असर गरेको छ।’ 

९७ प्रतिशत खेतीमा मल पुग्दैन

कपिलवस्तुमा धानबालीको सिजनमा मात्र करिब आठ हजार टन युरिया र ६ हजार टन डिएपी आवश्यक पर्छ। तर, यस पटकको सिजनमा २४० टन युरिया र २०० टन डिएपी मल आएको छ। जसका कारण ९७ प्रतिशत धान खेती मल विहीन हुन पुगेको छ।

कृषि सामग्री संस्थान बहादुरगन्ज डिपोका प्रमुख ताराप्रसाद खनालका अनुसार अहिले गोदाममा युरिया १० टन, डिएपी ३६ टन र पोटास २२ टन स्टक रहेको छ। तीन हजार टन युरिया, दुई हजार टन डिएपी र १०० टन पोटास आवश्यक पर्छ।

लकडाउनपछि १०० टन युरिया र १०० टन डिएपी आएको खनालले बताए। चालु आर्थिक वर्षमा एक हजार ७०० टन युरिया, ९०० टन डिएपी र ५० टन पोटास आएको छ। प्रमुख खनालका अनुसार करिब तीन सातासम्म मल आउने सम्भावना छैन।

जिल्ला सदरमुकाम तौलिहवामा रहेको कृषि सामग्री संस्थानको डिपोमा पनि मल थोरै स्टक छ। मल अभाव भएपछि एउटा सहकारीलाई युरिया दुई बोरा, डिएपी १६ बोरा , पोटास र कृषि चुन स्टक रहेसम्म मागअनुसार वितरण गरेको छ। गोदाममा १४० टन डिएपी थियो शुक्रवारदेखि बाँढ्न सुरु गरिएको थियो। अहिले ७० टन डिएपी र ६ टन युरिया स्टक रहेको छ। यहाँ धानको एक सिजनमा पाँच हजार मेट्रिक टन युरिया र चार हजार मेट्रिक टन डिएपी आवश्यक पर्दछ।

‘जिल्लामा ७१ हजार ५०० हेक्टरमा धान खेती गर्ने गरिन्छ। कपिलवस्तु धान उत्पादन धेरै हुने जिल्ला पनि हो,’  कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रामचन्द्र आर्याले भने, ‘मलको अभावले गर्दा उत्पादनमा प्रभाव पार्न सक्छ। खनजोत गर्ने बेलामा डिएपी नहुँदा बिरुवाको राम्रो विकास हुँदैन। बालीको वृद्धिका लागि युरिया मल प्रयोग हुने गरेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.