|

काठमाडौं : सामाजिक सञ्‍जाल चलाउन छाड्छु भनेर आफैँसँग कसम खाएको यो कति पटक हो? कहिलेकाहीँ आफैँसँग प्रश्न गर्छु। लाज मान्दै हिसाब गर्न छोडेको महिनौं भएको सम्झन्छु।

लत लागेपछि कसम पनि फ्याट्ट फुटिजाने पानीका फोका हुन थाले। खायो। भुल्यो। हिँड्यो। फेसबुक र ट्विटर सूचना स्रोत हुन्। तर, पछिल्लो समय यो कुनै मानसिक रोगी उत्पादन गर्ने अखडा बन्न थाल्यो। त्यसपश्चात् भने मैले टाइमलाइन हेर्न छोडे। साथीहरूले किन हराएको भनेपछि भने साथीहरूको मन राख्‍न म्यासेन्जरको प्रयोग गर्न थाले।

लागेको बानी सजिलै छुटेन। केही दिनअघि टाइमलाइन हेरे। विवादहरु छरपष्ट थिए। प्रसंग फरक। विवादको स्वरूप उही! अहिले विवादको मुख्य प्रसंग नेपालका कलाकारमा केन्द्रित थियो।

विवाद यस्तो उत्कर्षमा पुगेको छ कि मानौं यहाँ अर्को महाभारत लेखिनेवाला छ। सञ्‍जाल कुरुक्षेत्र बनेको छ। अहिलेको हटकेक हो, कलाकार तथा दीपाश्री निरौलाको 'महानायक काण्ड', पूजा शर्माको १४ जिल्ला, ७२ प्रदेश, साम्राज्ञी र भुवनको हिंसाकाण्ड।

उक्त विषयहरूमा सबैले आ-आफ्ना रायहरू प्रस्तुत गरिरहेका छन्। सबै सामाजिक सञ्‍जाल प्रयोगकर्ता  द्वापर युगका कृष्ण बन्ने होडबाजीमा छन्। सबैका विचार समान हुनुपर्छ भन्ने होइन। तर, कुन विचार कस्तो भनी मूल्यांकन हुने कुरा भने अवश्य हो।

सबैभन्दा ठूलो रूप भने महानायक काण्डको छ। एकथरीले भनिरहेका छन्, ' दीपाले महानायक राजेश हमाल होइनन् भन्नु उनको गल्ती हो।' अर्को थरी दीपाको पक्ष बोलिरहेका छन्। उनीहरूले दीपाको अभिव्यक्तिबारे  सही या गलत भनेर अन्तिम निष्कर्ष त निकालेका छैनन्। तर, छोरी भएर जन्मिएको कारण उनीमाथि आक्रमण गरिएको छ भन्ने तर्क अगाडि ल्याएका छन्।

यहाँ हरेक घटनापश्चात् उक्त घटनालाई कहिले जातियताका  आधारमा त कहिले लैंगिकता आधारमा टिप्पणी गर्छौं हामी। म सोच्ने गर्छु, 'जुनसुकै घटनाहरू किन नहोस्, किन हामी जातियताको हिसाबले जान्छौं? किन हामी लैंगिक हिसाबले जान्छौं? के हामी बस मानव भएर मानवकै न्यायका निम्ति आवाज उठाउन सक्दैनौं?' घटनाहरू त मानिसका बौद्धिकताको दायराले निर्माण गर्ने तर्क र व्यवहारले गर्छ। सत्य तर्कलाई तोडमोड गर्ने कमजोरीको कारणले घटना घट्ने हो। जबसम्म घटनालाई कुनै वाद वा फरक पक्षसँग जोड्छौँ अनि सुरु हुन्छ  अर्को दुर्घटना। 

दीपाश्रीको भनाइसँग आएका थप केही नायिकाहरूका रायमा शब्दहरू बेग्लै थिए तर भाव भने उस्तै थिए। समाजमा हुने घटनाहरू बारे धेरै नायिकाहरूबाट कस्तो प्रतिक्रिया आउला भनेर म प्रतीक्षा गर्दिनँ। केही नायिकाबाट भने अपेक्षा जरुर हुने गर्छ।  दीपाश्री महानायक काण्डमा नायिकाहरूले कस्तो धारणा व्यक्त गर्लान् भन्ने कौतुहलता थियो।  धारणा अपेक्षा राख्‍नेमध्ये एक नायिका थिइन् केकी अधिकारी।

उनीमा नायिकामा हुनुपर्ने गुण छन् या छैनन् त्यसलाई पर राखिदिऊँ। नेपाली फिल्म जगतकी एक शिक्षित नायिकामध्ये एक हुन् उनी। तर, दीपाको घटनामा उनले 'दीपा छोरी भएर जन्मिनु र सफल बन्नु गलत थियो' भन्ने अभिव्यक्ति दिइन्। यो अभिव्यक्ति म जस्ता हजारौं युवाले गरेको अपेक्षाभन्दा विल्कुल फरक भएको छ। उनको अभिव्यक्तिले म त आश्चर्यमा परेको छु नै, उक्त भनाइमा आएका प्रतिक्रियाले पनि स्पष्ट पारेको छ।

उनी एक शिक्षित (पढेको मान्छेलाई शिक्षित भन्ने समाज) नायिका हुन्। अझ भन्नुपर्दा नायिकाभन्दा पहिले उनी एक नारी हुन् । महानायक काण्डमा उनले जुन शब्द उठान गरेकी छिन् एक नायिकामाथि मात्रै हैन सम्पूर्ण शिक्षित नारीमाथि प्रश्न उठेको छ।

सायद दीपाश्रीको ठाउँमा कुनै अर्को पुरुषले दीपाको जस्तै तर्क गरेर उनी महानायक होइनन् भनेको भए पनि उत्तिकै विरोधका स्वर सुनिने थियो। आफ्ना विषयमा विरोधका स्वर सुनिने  लेपछि महिला भएको कारण हेपियो भन्नु कति अर्थपूर्ण हुन्छ? विरोध महिलालाई होइन उसले गरेको टिप्पणीलाई लिएर गरिएको थियो। हामी महिलाहरूले आफ्ना गल्तीहरू ढाक्न स्वयं आफूलाई कमजोर बनाइरहेका त छैनौँ?

 नायिका वर्षा राउतले जस्तै सायद कुनै नायकले मेरा भारतीय साथीसँग कसरी फेस गर्ने भनेको भए पनि उनको विरोध हुने निश्चित थियो। उनी महिला भएर मात्र विवादमा मुछिएको पक्कै होइन। उनको विरोध गर्दा पनि महिला भएरै हेपियो भनेर उम्कन खोज्नु न्यायोचित हुँदैन। भलै यो विषयमा वर्षाले आफ्नो जिब्रो चिप्लिएको बताइसकेकी छिन्।

कलाकार राष्ट्रका गहना हुन्। उनीहरूका राम्रा पक्षको उत्तिकै समर्थन र नराम्रो पक्षमा विरोध हुनु स्वाभाविक हो। हरेक  क्षेत्रमा  आफ्नो अस्तित्व र आफूले कमाएको प्रतिष्ठालाई जोगाउन हर पाइला-पाइलामा संवेदनशील बन्नुपर्छ।

 झन् कलाकारिता क्षेत्रमा बढी चनाखो हुन जरुरी छ। यहाँ सामान्य घटनाले पनि शिखरको मान्छे सेकेण्डमा भुइँमा पछारिन्छ। नायिका पूजा शर्माले देशमा १४ जिल्ला ७२ वटा प्रदेश छन् भन्नु उनको कमजोरी हो। देशको सामान्य जानकारी नहुने पूजासँग अन्य विषयमा प्रतिक्रियाको कस्तो अपेक्षा गर्ने? कुनै बेला सञ्‍चारकर्ममा पनि लागेकी उनले म के हुँ? कसरी बोल्नुपर्छ भन्ने हेक्का राख्‍न जरुरी छ। नायक अनमोल केसीलाई सोधिएको यस्तै प्रश्नमा पनि उनको जवाफ गलत थियो। उनको चौतर्फी विरोध भएको थियो।

माथि उल्लिखित घटनाहरू र आएका विवादहरू नारी भएको कारण होइन, टिप्पणीले निम्त्याएका हुन। चाहे पुरुष होस् या महिला बोल्दा हरेकले याद राखेरै बोल्न जरुरी छ। तर, कमजोरीलाई लैंगिकतासँग जोडेर हेर्नु लज्जाको विषय हो। सक्छौँ सही तर्कले जित। सक्दैनौं आफ्नो गल्तीलाई महिला शब्दको प्रयोग गरेर हामीलाई हेपे भन्दै आँसु नझार।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.