|

दाङ : विकास निर्माणका क्षेत्रमा दाङको परिचय लामो समयसम्म 'पानी मुनि पुल भएको जिल्ला' का रुपमा रह्यो। बर्खाका बेला बढ्ने खोलाको सतहले सवारीसाधन आवतजावतका लागि बनाइएका कज-वे नै डुबाउने र पानीको भेलमै सवारीसाधन हुलेर जोखिमपूर्ण यात्रा भनुपर्ने बाध्यता दाङमा लामो समयसम्म रह्यो। 

यसअघि दाङका तुलसीपुर–घोराही र घोराही–लमही सडकखण्डमा पर्ने खोलामा कज वे मात्रै थिए। बर्खाका बेला खोलाले सवारी साधन र मानिसलाई बगाउने घटना बारम्बार दोहरिन्थ्यो। लामो समयसम्म आवतजावत प्रभावित हुन्थ्यो। अन्य समयमा पनि कज वेमा लेउ लाग्दा सवारी साधान चिप्लेर दुर्घटना हुने गर्थे। 

अहिले भने यातायातका क्षेत्रमा दाङको पूरानो परिचय फेरिन थालेको छ। तुलसीपुर–घोराही र घोराही –लमही सडकखण्डका झण्डै एक दर्जन खोलामा पानीमाथि नै पुल बनेको छ। तीनवटा पुल बन्ने क्रममा छ।

 

तर, निर्माण कम्पनीको लापरबाहीका कारण घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत पत्रे खोलामा निर्माणाधिन पुल अलपत्र पर्दा जिल्लाबासीको सकस पूर्णरूपमा हटिसकेको छैन।  नागरिकले सास्ती भोगिरहेका छन्। ​हापुर र सेवार खोलामा पुल नहुँदा वर्षायाममा यात्रुहरूले निकै जोखिम मोल्नुपरेको छ।

गत शुक्रवार राती तुलसीपुर-१८ का अजय घर्ती नारायणपुरबाट दुधरासतर्फ आउँदै गर्दा पत्रेखोला तर्दै थिए। तर, बीच भागमा आइपुग्दा खोलामा एक्कासी बाढी आयो। उनले खोलामा रहेको पिलरमा चढेर बल्लतल्ल ज्यान जोगाए। खोला तर्न नसकेपछि पिलरमै रहेका उनलाई राती ११ बजे जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले राती सोनापुर सिमेन्ट उद्योगबाट क्रेन ल्याएर उद्धार गर्नुपर्‍यो।

नेपालजस्तो खोलानाला बढी भएको मुलुकमा निर्वाध यात्रा गर्न सडक सञ्जाललाई आवश्यक स्थानमा पुलले जोड्नैपर्छ। सडकमार्गमा पर्ने एउटा खोलामा मात्रै पुल नहुँदा आवागमनमा समस्या भोग्नुपर्छ। अहिले दाङमा पनि यही भएको छ। मूख्य सडकमार्गमा पर्ने धेरै स्थानमा पुल बनाइएको छ। तर तीनवटा खोलामाथि अझै पुल बनिसकेको छैन। त्यसैले जिल्लाबासीले विगतमा झैं यो वर्ष पनि सास्ती खेप्नुपरेको छ।

तुलसीपुर–घोराही र लमही सडकखण्डमा पर्ने पत्रे खोलामा बर्खाका बेला जिल्लाकै सबैभन्दा जोखिम हुने गरेको स्थानीइ व्यवसायी वीरेन्द्र खड्का बताउँछन्‌। 'सडक सञ्जाललाई समयमै पक्की पुल बनाएर पूर्णता दिन नसकेको प्रदेश सरकारले तुलसीपुरमा विद्युतीय बस सञ्चालन गर्नेसम्मको योजना बनाएको छ। तर खोलाहरूमा पुल नबनाए पानीको भंगालो छिचोल्दै विद्युतीय बसले कसरी यात्रा भर्न सक्छ?' खड्का भन्छन्‌, 'अन्यत्र त पुल बनिसक्यो, तर तीनवटा खोलामा पुल नहुदाँ सास्ती कायमै छ।'

सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले लामो समयदेखि अलपत्र पत्रे खोलाको पुल निर्माण प्रक्रिया अगाडी बढेको बताए। उक्त पुल निर्माणको ठेक्का शंकर माली कन्ट्रक्सनले लिएको र २०७७ साल पुस २२ गतेसम्म निर्माण अवधि तोकिएको उनले बताए।

तर, लामो समयदेखि अलपत्र पुलको डिजाइन असार १९ गतेमात्रै स्वीकृत भएको छ। निर्माणकै क्रममा २०७३ सालमा सुपरस्ट्रक्चर नमिलेकाले पुनः डिजाइन गर्नुपर्ने भन्दै पुल निर्माणको काम रोकिएको थियो। डिजाइन स्वीकृत भएसँगै अलपत्र रहेको पुल निर्माणको बाटो खुलेको छ।

यसअघि डिजाइन फाइल स्वीकृत नहुँदा पुल निर्माणको जिम्मा पाएको शंकर माली निर्माण सेवाले काम गरेको थिएन। शाक्यले भने, ‘अब पुल निर्माणको बाटो खुलेको छ, निर्माण कम्पनीले छिट्टै पुल निर्माणको काम सुरू गर्नेछ।’रसहित ४ करोड ३५ लाख रुपैयाँमा सम्झौता भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.