|

काठमाडौं : सरकारले लकडाउन खुकुलो पारसँगै पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर खोल्ने तयारी गरेको छ। चैत ११ गतेदेखि कोरोना भाइरसको त्रासको कारण लकडाउन हुँदा तीन महिनाभन्दा बढी पशुपति मन्दिर बन्द भइसकेको छ। विकास कोषले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पशुपति मन्दिर दर्शन गर्न दिने तयारी गरिरहेको हो।

सरकारले लकडाउन स्थगित गरिएको घोषणासँगै पशुपति दर्शनको लागि खुला भएको भनी सूचना जारी गरिने पशुपति क्षेत्र विकास कोषका निर्देशक घनश्याम खतिवडाले बताए।

 निर्देशक खतिवडाले भने,' मन्दिर परिसरमा स्यानिटाइजरको प्रयोग गर्न दिने। दर्शनार्थीले अनिवार्य मास्क लगाउनुपर्छ। दुई मिटरको दूरी कायम गरी दर्शनार्थीलाई लाइनमा खडा गराउने गरी मापदण्ड बनिरहेको छ।'

दर्शनार्थीलाई अबदेखि मन्दिर परिसरमा मोबाइल लान नदिने उनले जानकारी दिए। लकडाउन हुनुभन्दा अगाडि गोजीमा मोबाइल बोकेर जान्थे भने दर्शनार्थीको झोला, जुत्ता राख्ने लकरमा राख्न दिने उनले बताए। तत्कालै मन्दिर खुला गर्ने हो भने मन्दिरमा नियन्त्रण गर्न नसक्ने गरी दर्शनार्थीको भिड लाग्न सक्ने खतिवडाले टेलिफोनमा कुरा गर्दै थाहाखबरलाई बताए।

सरकारले घोषणा गरेको लकडाउन साउन ७ गतेसम्म यथावत रहेकोले अहिले मन्दिर दर्शनको लागि खुला गर्न सक्ने अवस्था नरहेको उनले जानकारी दिए। 'विकास कोषले यस्तो महामारीको बेला पनि दर्शनार्थीको लागि कसरी दर्शन गराउन सकिन्छ त्यसको लागि विकास कोषले तयारी गरिरहेको छ,' उनले भने,' मन्दिर दर्शन गर्नको लागि ज्येष्ठ नागरिक बढी आउने भएकोले उनीहरुको स्वास्थ्य सुरक्षामा विकास कोष बढी संवेदनशील हुन्छ।'

सरकारले केटाकेटी र ज्येष्ठ नागरिकलाई सुरक्षित राख्नु भनेकोले पनि विकास कोषले पनि त्यसमा ध्यान दिइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.