नेकपाले बोल्नुपर्ने अडान

|

 काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार केपी शर्मा ओलीले गुमाएको जनाएको छ।

भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भगवान रामको जन्म भारतमा नभई नेपालमै भएको बताएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सरकारको भनाई नरहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ती निकालेर जनायो

यही विषयमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गरेर पछिल्लो समय देशमा देखिएको विविध परिदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरूले केही गम्भीर प्रश्‍न उठाएको बताएका हुन्।  

‘प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार उहाँले गुमाएको थप पुष्टि हुन्छ,’ कांग्रेसको विज्ञप्तीमा भनिएको छ, ‘पछिल्लो समय देशमा देखिएको विविध परिदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरूले केही गम्भीर प्रश्‍न उठाएका छन्। प्रतिपक्षी दलका तर्फबाट सार्वजनिक प्रश्‍न गर्नु हाम्रो कर्तब्य भएको छ। देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरूले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद ब्यक्तिको जमिन्दार कि देशको जिम्मेवारी?’ 

कांग्रेसले आजको परिस्थितिमा प्रधानमन्त्रीको दायित्व एकातर्फ, ब्यवहार अर्कातर्फ हुनु देशका लागि दुर्भाग्य भएको पनि बताएको छ।  

कांग्रेसले प्रधानमन्त्रीलाई ४ वटा प्रश्‍न पनि सोधेको छ ।

१)  बाढी–पहिरोमा कयौंको मृत्यु भएको बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ र के हुनुपर्दछ ? केवल समवेदनाको एक वक्तव्य?

(२)  कोरोना महामारीका बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ कयौंको मृत्यु र हजारौं संक्रमित भएको विवरण बहीखातामा सारेर बस्ने तर समय सदुपयोग गरेर युद्ध स्तरमा तयारी नगर्ने? 

(३) सर्वसम्मतिले देशको नयाँ नक्सा संसदबाट जारी भएपछि प्रधानमन्त्रीको दायित्व के हुन्छ ? गम्भीर कुटनैतिक पहलकदमी गर्ने कि नक्सालाई सत्ता राजनीतिको ब्यक्तिगत हतियारका रूपमा उपयोग गर्ने?

(४) नक्सा अनुरुपको जमिनमा हक स्थापित गर्न गम्भीर कुटनैतिक पहलकदमी भन्दा अयोध्याबारे विवादास्पद मत व्यक्त गर्नुको अर्थ विषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर हुनुहुन्‍न भन्‍ने पुष्टि त भएको छ नै अपरिपक्व टिप्पणी मार्फत उहाँले संवेदनशील बिषयमा असंवेदनशील ब्यबहार प्रस्तुत गर्नु भएको छ। 

प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत होकि होइन? भन्दै कांग्रेसले प्रश्‍न सोधेको छ। त्यस्तै प्रधानमन्त्रीको दल नेकपा पार्टीको विश्वास बमोजिम उक्त अभिव्यक्ति आएको होकि हैन नेकपाले स्पष्टिकरण दिनुपर्ने पनि कांग्रेसको माग छ। 

‘प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर ब्यक्तिगत सनकको कैदी बन्‍न मिल्दैन । संस्थागत जिम्मेवारी भन्दा अलग निर्दलीय आधिपत्य प्रधानमन्त्री पदमा संविधानले परिकल्पना गरेको छैन,’ शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अतः प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र ब्यबहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्री नै बदल्ने, उहाँकै दल नेकपाको बिषय हो । तर दुई प्रश्न, देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन? संस्थागत प्रस्टिकरण अनिवार्य आवश्यक भएको छ।’ 

कांग्रेसले प्रधानमन्त्रीको पछिल्ला अभिव्यक्ति र  व्यवहारप्रति गम्भीर विमति प्रकट गर्दै यसबारे सरकार नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न पनि माग गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.