एक जना अझै बेपत्ता

|

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घा यतिबेला शोकमा डुबेको छ। असार ३० गते मंगलबार बिहान पहिरोले पुरिएर तीन जनाको ज्यान गएको थियो। एक जना अझै पनि बेपत्ता छन्। दुइ जना घाइते छन्। 

मृतक तीन जनाको बुधबार (हिजो) दाहासंस्कार गरिएको छ। गाउँ नजिकै रहेको कालीगण्डकी नदी अन्तर्गत अरूवाको गौरी घाटमा दाहसंस्कार गरिएको हो। एउटै चिहानमा तीन वटा चिता बनाएर दाहसंस्कार गरिएको छ। 

कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित खहरेका ७० वर्षीय इमानसिंह राना, ६० वर्षीय गिमानसिंह राना र ४६ वर्षीय टीका थापाको पहिरोमा पुरिएर मृत्यु भएको थियो। उनीहरूको अन्तिम संस्कारमा सहभागी सबै भावविह्वल भएका थिए। शव यात्रामा सहभागीहरूको रुवाबासी चलेको थियो। 

स्वर्गीय इमानसिंह गाविस पूर्वअध्यक्ष हुन्। उनी २०५४ सालको निर्वाचनमा गाविस अध्यक्ष पदमा निर्वाचित भएका थिए। गिमानसिंह भूतपूर्व भारतीय क्याप्टेन हुन्। भने टीका थापा नेपाल आर्मीबाट निवृत्त भएका थिए। बेपत्ता प्रेम पाण्डे स्थानीय खेलकुद मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष हुन्। 

४ जना सामाजिक व्यक्तित्व गुमाउनु पर्दा सिंगो गाउँ नै शोकमग्न भएको छिमेकी डिल्लीराज पाण्डेले बताए। इमानसिंह गाविस अध्यक्ष रहँदा पाण्डे उपाध्यक्षमा निर्वाचित भएका थिए। पाण्डेको बुझाइमा इमानसिंह इमान्दार, सरल स्वभाव, शालिन, भद्र र विकासप्रेमी नेता हुन्। ‘इमानसिंहको समन्वयमा नै बिर्घामा पहिलो पटक मोटर बाटो र बिजुली आएको हो’, पाण्डेले भने, ‘सामाजिक कार्यमा खटिँदै गर्दा उहाँको पहिरोले पुरिएर मृत्यु भयो।’ आज उहाँसहित अन्य सक्रिय समाजसेवी चार जना एकै पटक गुमाउनुपर्दा निकै दुःख लागेको उनी बताउँछन्।’ बिर्घाको विकासमा उहाँहरूको निधनले ठूलो असर पारेको पाण्डेले बताए। 

कुनै व्यक्तिगत स्वार्थ नहेरी सामाजिक काम गर्ने इमानसिंहसहित ४ जना अभिभावकको मृत्युले आफूलाई मर्माहत तुल्याएको छिमेकी तथा बिर्घा स्वास्थ्य चौकीका प्रमुख राजकुमार थापाले बताए। 

‘इमानसिंहले कसैलाई सहयोग गर्नेक्रममा राजनीतिक वा व्यक्तिगत स्वार्थ हेर्नु हुन्थेन’, उनले भने ‘गिमानसिंह र टीकाले गाउँको विकास र सबैको सुख दुखमा सक्रिय भएर सहयोग गर्नु हुन्थ्यो, उहाँहरूको दुखद निधनले सिंगो गाउँ भावविह्वल बनेको छ।’
यहाँका युवा बेसाहरा जस्तै बनेका उनले बताए। बेपत्ताको जतिसक्दो छिटो खोजी गर्न उनले अनुरोध गरे। घाइतेको उचित उपचार गर्नुपर्नेमा उनले जोड दिए। 

एक जना अझै पनि बेपत्ता

पहिरोमा पुरिएका एक जना बेपत्ता छन्। स्थानीय प्रेमचन्द्र पाण्डेको शव फेला परेको छैन्। तीन दिन हुँदासमेत उनको शव फेला नपरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरिक्षक विमलराज कँडेलले बताए। ठूलो पहिरो, लेदो माटो र ढुंगाले पुरिएको हुन सक्ने भएकोले खोजी कार्यमा कठिन भएको उनले बताए। उनका अनुसार बुधबार फेरी दुइ पटक पहिरो झरेको छ। पहिरो झर्ने क्रम नरोकिएकोले खोजी कार्यमा समस्या भएको हो। आज पनि बिहानैदेखि जेसिभीको सहायतमा नेपाल आर्मी र प्रहरीले खोजी कार्य जारी राखेको प्रहरी उपरीक्षक कँडेलले बताए।   

पहिरोमा पुरिएर दुई घाइते

पहिरोमा पुरिएर स्थानीय होमनाथ पाण्डे (किसान) र वीरबहादुर राना (बुद्ध) घाइते भएका छन्। उनीहरूको पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। सामान्य घाइते भएका रानाको बुधबार डिस्चार्ज भएको छ। भने पाण्डेको उपचार अहिले पनि भइरहेको छ। गम्भीर घाइते पाण्डेको अवस्था भने खतरामुक्त रहेको प्रहरी उपरिक्षक कँडेलले बताए। पाण्डे वडा नम्बर ४ का वडा सदस्य हुन्। 

तीन दिनअघि असार ३० गते उनीहरू पहिरोले पुरिएका थिए। अविरल वर्षासँगै झरेको पहिरोले खानेपानीको धारा बिग्रिएपछि उनीहरू गाउँमाथि सेवल्दीमा रहेको पानीको मूल हेर्न र पहिरोको जोखिममा रहेकोे वीरबहादुर रानाको घरको अवस्था हेर्न पुगेका थिए। सोही क्रममा माथिबाट एक्कासि झरेको पहिरोले मंगलबार बिहान करिब ८ बजे उनीहरूलाई पुरेको थियो । जेसिभीको सहायताले पहिरोमा पुरिएका उनीहरूको उद्धार गर्नुपरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.