|

काठमाडौं : अहिले कोरोना महामारीका कारण नेपाली खेलकुद मैदानमा सुनसान छ। तर मैदानबाहिरको खेलमा भने धेरैको चासो छ। 

यो चासोको सुरुवात ‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ लागु भएसँगै सुरु भएको हो। जसले गत वर्षको असारमा चार वर्षका लागि सदस्यसचिवमा नियुक्त भएका रमेश सिलवाललाई एक वर्षमै पुन सदस्यसचिव हुनुपर्ने दौडमा पु¥यायो भने अन्यलाई पनि यो खेलमा सहभागिताको अवसर मिल्यो।

ऐनले सदस्यसचिवको अधिकार पनि सीमित पारेको छ। नियुक्ति प्रक्रिया पनि फरक तरिकाले अघि बढेको छ। पहिला सोझो राजनीतिक नियुक्ति हुने राखेप सदस्यसचिवमा यो पटक आवेदन हालेर आफूलाई योग्य प्रमाणित गर्नुपर्ने छ। तर पर्दाभित्र राजनीतिक जोड घटाउ र निकटताको खेलमा के यसले सुधार गर्ला त ? अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोझो सम्बन्ध आवश्यक फेरि पनि पर्ने नै छ।

यद्यपि छनोट तरिका केही परिष्कृत छ। जसले गर्दा तीन सदस्यीय छनोट कमिटीले सर्ट लिस्ट गरेर मन्त्रालयमा नामावली दिने छ। जसको अन्तिम दिन बिहीबार (आज) हो। धेरैले यो प्रक्रिया पनि घुमाउरो तरिकाले राजनीतिक नियुक्ति नै भएकाले योग्य भए पनि उम्मेदवारी दिने आँट गरेनन्। 

तर सदस्यसचिवको खेल मैदानमा १५ बढी उम्मेदवार छनोट चरणमा प्रवेश भने गरे। तर धेरेले सदस्यसचिवको एक्लो दाबेदार अहिले पनि निवर्तमान सदस्यसचिव सिलवाललाई नै मानेका छन्।

प्रतियोगिता गराउनु सफलताको मापन हो ?

अहिले उनी निकटहरुले सफल सदस्यसचिवका रुपमा सिलवालको गुणगान गाइरहेका छन्। सिलवाललाई सफल भएको र उनीबाहेक अरुको उपस्थिति अस्वीकार्य रहेको बताउँछन् पछि पर्दैनन्। तर पूर्वाग्रह नराखी उनको एक वर्षको कामको समीक्षा हुनु पनि उत्तिक्कै जरुरी छ। 
निसन्देह कुनैपनि अधिकार प्राप्त व्यक्तिका लागि आफूलाई प्रमाणित गर्न एक वर्ष छोटो समय हो। तर एक वर्षको कार्यकालमा केही सम्झनलायक काम गर्न भने जरुरी छ।

दक्षिण एसियाकै प्रतिष्ठित खेलकुद प्रतियोगिता सम्पन्न गर्नुपर्ने दायित्व सिंगो राज्यको थियो। तर व्यवस्थापकीय हिसाबले सर्वाधिक प्रमाणित गर्ने समय भने तत्कालीन सदस्यसचिव सिलवालका लागि थियो। 

एकपछि अर्को गर्दै निरन्तर सर्दै आएको साग राज्यको इज्जतसँग जोडिएकाले निर्धारित समयमा सम्पन्न गर्ने दायित्व राज्यको थियो। त्यसेले सदस्यसचिव अन्य जो सुकै भए पनि गर्नैपर्थ्याे।

नियुक्ति लगत्तै महत्वपूर्ण भुमिका पाएका सिलवाल व्यवस्थापकीय रुपमा कमजोर रहे।  सिलवालको ठाउँमा अन्य जोसुकैको नियुक्ति भए पनि साग समयमा नै हुन्थ्यो। यसमा कसैले जस लिन खोज्नु सफलता नभई आत्मारति मात्र हो। तर कमजोर व्यवस्थापनको जिम्मा भने सदस्यसचिवको हैसियतमा सिलवालले लिनै पर्छ। 

प्रतियोगिता सम्पन्न हुनु र सफलतापूर्वक सम्पन्न हुनुमा धेरै फरक छ। साग खेलाडीको प्रदर्शनका आधारमा ऐतिहासिक भए पनि व्यवस्थापकीय कमजोरी ढाकछोप गर्न मिल्दैन। खेलाडीको सफलता असारमा नियुक्त भएका सदस्यसचिवले पाँच महिनामा नै स्वर्ण जित्न योग्य बनाएँ भन्नुमा तुक हुन्न। उनलाई जाँच्ने कसी भनेको व्यवस्थापकीय रुपमा उनले सागलाई कति सफल बनाए भन्ने हो।

चर्चा गरिएजस्तै सफल भए त सिलवाल ?

सागमा धेरै कुरामा सिलवाल चुके। उनले पहिलो पटक सागको प्रसारण अधिकारबापत ठूलो रकममा सम्झौता गरे। ८ करोड पाउने गरी प्रसारण राइट बेचे पनि अहिलेसम्म उनले दिएका ६ चेक बाउन्स भएका छन्। 

नेपाल टेलिभिजन र फोटो पत्रकारहरुलाई समेत फोटो खिच्न नपाउने गरी सुरुवाती सम्झौता गरे पनि तीव्र विरोधपछि घरेलु महत्वपूर्ण प्रतियोगिता खिच्न नेपाली मिडियाले पाएका थिए।

भारतको टेलिभिजन कम्पनी एनके मिडिया भेन्चर प्रालिले गरेको सम्झौतामै सिलवाल असफल भए। आयोजकको नाताले नेपालले एसियाडमा रजत जितेको खेल प्याराग्लाइडिङ अन्तिम समयमा आएर सहभागी नपुगेपछि रद्द भएको थियो। त्यसमा सदस्यसचिवले उचित पहल नगरेको आरोप अहिले पनि उनी माथि छ।

साग आयोजनाका लागि नियुक्त भएको तीन महिनासम्म उनले दशरथ रंगशालाको छानो ल्याउने कुनै भूमिका निर्वाह गरेनन्। मन्त्रीको एक्लो पहलमा अन्तिम समयमा रातारात गरेर छानो जडान गरियो। अहिले पनि ठूलो वर्षा भयो भने रंगशालाको भिआइपी तर्फकाे प्यारापिटमा पानी चुहिएर बस्ने अवस्था हुँदैन।

सागका लागि विभिन्न कम्पनीहरुलाई दिएको निर्माण र ठेक्काको रकम अहिलेसम्म पाउन नसक्दा उनीहरुले राखेप र मन्त्रालयमा निरन्तर दबाब दिएका छन्। करौंडौ रकम भुक्तानी नहुँदा ठेकेदार कम्पनीहरुको ओठतालु सुकेको छ। मुख्य कुरा साग सम्पन्न भएको ६ महिना नाग्दा पनि राखेपले आयोजनामा भएको खर्चको विवरण सार्वजानिक गर्न सकेको छैन।

संघहरू असन्तुष्ट

राखेप नेपाली खेलकुदको सर्वाधिक ठूलो नियमनकारी निकाय हो। तर उसले खेलकुद नियमनभन्दा बढी राजनीति गर्ने गरेको आरोप लाग्दै आएको छ। खेल संघहरुलाई उत्तरदायी बनाउनु साटो आफैं प्रतियोगिता गर्न अग्रसर हुँदै आएको देखिन्छ। 

विवादित संघहरुको विवाद समाधान गर्नसमेत राखेप असफल छ। एक संघका प्रतिनिधि भन्छन्, ‘सिलवालको रवैया हेर्दा कुनै संघ नै चाहिन्छजस्तो लाग्दैन। उनी एक्लैले सिंगो खेलकुद धानेजसरी देखाउन खोजेका छन्। जसले संघहरुत निरीह देखिए खेलाडीको वृद्धि विकासमा पनि असर परिरहेको छ।’ संघहरुले वार्षिक क्यालेन्डर अनुसारको प्रतियोगिता गर्न नसक्नुको पछाडि सिलवाल नै महत्वपूर्ण हुन्।

खेलाडीको सफलताको ब्याज फेरि सदस्यसचिव

सिलवालले सदस्यसचिवमा आफूलाई टिकाइरहनका लागि एक्लो अस्त्रका रुपमा खेलाडीले जितेको ५१ स्वर्णलाई आधार बनाएका छन्। उनले आफ्नो कार्यकालमा साग सफल आयोजना गरेको दाबी गर्दै आएका छन्। त्यसको मापन ५१ स्वर्णलाई मान्छन्। तर व्यवस्थापकीय कमजोरी भने उनले अस्वीकार गर्दै आएका छन्। खेलाडीले राज्यलाई दिएको त्यही खुसी नै फेरि पनि सदस्यसचिव हुने मापदण्डका रुपमा उनले लिएका छन्।

सदस्यसचिव सिलवालले आफ्नो एकवर्षे कार्यकालमा खेलकुद क्षेत्रको विकासका लागि राखेपले गर्ने कुनै पनि योजना सार्वजानिक गरेनन्। सिलवाल सामान्य खेलकुद गतिविधिको उद्घाटन र समापन तथा खुद्रा ट्रफी वितरणमै आफूलाई केन्द्रित गर्न रमाउँछन्। 

समग्रमा उनको एकवर्षे कार्यकाल खेलकुदमा हुने संस्थागत विकास, दीर्घकालीन योजना र संघहरुको विवाद समाधान तथा नयाँ खेलाडी जन्माउने भूमिकामा निराशाजनक रह्यो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.