|

धादिङ : वर्षायाममा नदीबाट वालुवा निकाल्नु जोखिम भए पनि कुनै सुरक्षा विधि नअपनाई त्रिशूली नदीबाट धमाधम निकालिँदै आइएको छ।

त्रिशूली नदीबाट बालुवा निकाल्ने क्रममा गत असार २४ मा गल्छी गाउँपालिका–४ बेल्खुदोभानबाट एक किशोर बेपत्ता छन्। त्रिशूलीबाट बालुवा झिक्न स्थानीय ठेकेदार डिलबहादुर भण्डारीमार्फत काममा लगाईएका गल्छी–२ का १६ वर्षीय ताराबहादुर लुंगेली मगर अझै भेटिएका छैनन्। 

ठेकेदार भण्डारीको घर छेउमा बालुवा झिक्दै गर्दा मगरलाई नदीले बगाएर बेपत्ता बनाएको हो। उनको खोजी गरिए पनि नभेटिएपछि पीडित परिवारलाई ठेकेदारले ३ लाख ५० हजार र गाउँपालिकाले एक लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ।  पिडित पक्षले प्रमुख जिल्ला अधिकारी असमान तामाङ समक्ष क्षतिपूर्तिको माग गर्दै असार ३० मा निवेदन दिएपछि प्रशासनले सर्वपक्षीय बैठक बोलाएर क्षतिपूर्ति तिर्ने सहमति गरेको हो।

भण्डारीले ताराबहादुरसहित १५ जना मजदुरलाई काममा लगाएको भए पनि दुर्घटनापछि आफ्नै घरमा बस्दै आइरहेका खोटाङका प्रदिप राईलाई  ठेकेदारको रुपमा अघि सारेर जिम्मेवारीबाट पन्छन खोजेपछि जिल्ला प्रशासन कार्यालयमा आएर निवेदन दिई छलफल गराउन वाध्य भएको पीडितहरुले बताएका छन्। 

त्रिशूली नदी किनारमा ज्यानको जोखिम मोलेर बालुवा निकाल्ने मजदुरको संख्या सयौं देखिए पनि ती मजदुर आफैंले बालुवा निकालेर बिक्री गर्न भने पाउँदैनन्। नदी नजिक घर भएका, खेतबारी भएका व्यक्तिले नदीको बालुवा कव्जा गर्ने गरेका छन्।

जिल्ला अनुगमन तथा समन्वय समितिले नदी तथा खोलाबाट मजदुरले बालुवा निकाले सोही स्थानमा गाडी लैजान निषेध गरेको भए पनि नदी किनारमै गाडी लगेर बालुवा लोड भइरहेको जनप्रतिनिधिहरुले बताएका छन्। नदीमा बालुवा झिक्ने क्रममा सावधानी अपनाउन नसक्दा मजदुरलाई नदीले बगाएर बेपत्ता पार्ने गरेको भन्दै नदीमा काम गर्ने सम्पूर्ण मजदुरको बिमा गरिनुपर्ने, जोखिममा काम गर्दा सुरक्षाका सबै उपायहरु अपनाउन ठेकेदारहरुलाई निर्देशन दिए पनि उनीहरुले बेवास्ता गरिदिंदा मानवीय क्षति हुने गरेको गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ बताउँछन्।

यस्तै, नदीमा मेसिन औजार प्रयोग गर्न रोक लगाइए पनि रातको समयमा लुकीछिपी मेसिन लगाएर बालुवा झिक्ने र सडकबाट नदेखिने स्थानमा दिउँसै पनि नदीको दोहन भइरहेकोले स्थानीय तह र प्रहरी प्रशासनले यस्ता कार्य रोक्न असफल भएको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल बताउँछन्।

त्रिशूली नदीबाट एक्साभेटरले राति नदीजन्य पदार्थ झिक्ने र उज्यालो भएपछि ती उपकरण लुकाउने गरेको स्थानीयको भनाइ छ । प्रदेश सरकारले नदीजन्य पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनाएको कार्यविधिमा परिच्छेद ४ को ९ मा नदीजन्य पदार्थ संकलन अवधिबारे नदीजन्य पदार्थको संकलन असोजदेखि जेठ मसान्तसम्म हुने उल्लेख छ । सोही कार्यविधिको १६ को अनुगमनसम्बन्धी थप व्यवस्थाको उपदफा ९ मा ढुंगा, गिटी, बालुवाको उत्खनन गर्दा एक्साभेटर डोजरलगायतका हेभी औजारको प्रयोग पूर्णरुपमा बन्देज गर्नुपर्ने भनिएको भए पनि कार्यान्वयन हुन नसकेको गल्छी–२ का वडाअध्यक्ष खनाल बताउँछन्। 

वर्षातको बेला नदीबाट निकालिएको वालुवा धुन नपर्ने र सिधै ग्राहकलाई बेच्न सकिने भएकाले नदी जन्य पदार्थ दोहन गर्नेहरू यो समयमा आकर्षित हुने गरेका हुन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.