|

भक्तपुर :  असार ३१ गते साँझ मध्यपुर थिमि नगरपालिका वडा- ८ बोडेस्थित कुमारी मन्दिर परिसरमा बिस्तारै स्थानीयको जमघट बढ्दै थियो। नगरपालिकाको १ करोड ३५ लाखको लागतमा कुमारी परिसरको बिस्तार र पुनःनिर्माण सम्पन्न भएर उद्घाटनको तयारी भइरहेको थियो। उता मध्यपुर थिमि–९, बोडेकै कृषि विकास बैंकको तालिम केन्द्रमा नगरपालिकाको चौथो नगरसभाको बन्दसत्रको तयारी पनि भइरहेको थियो।

नगरसभाको बन्दसत्रमा नगरको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरी पारित गर्ने तयारी थियो। तर, अञ्जनादेवी मधिकर्मीसहित उनको समूहको असन्तुष्टिका कारण बैठक बस्न सकिरहेको थिएन। बिहान ११ बजेका लागि डाकिएको बैठक २ बजेसम्मका लागि स्थगित गरेको सूचना नगरसभा सदस्यहरुको मोवाइलमा आउन थाल्यो। बैठक स्थलमा जम्मा भएका केही जनप्रतिनिधिहरु बोडेकै कुमारी मन्दिरतर्फ लागे।

दिउँसो २ बजे पुनः जनप्रतिनिधिहरु बैठक स्थल आउन थाले। नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत उद्धवप्रसाद रिजाल, वरिष्ठ कानुन अधिकृत केशव सिलवालसहित केही कर्मचारीहरु पनि आइपुगे। बैठक शुरु भएन। साँझ ४ बज्न लागेपछि नगरप्रमुख सहित जनप्रतिनिधि र कर्मचारीहरु समेत कुमारी मन्दिर परिसर उद्घाटनका लागि हिँडे।

उपप्रमुख मधिकर्मी पनि कुमारी मन्दिर परिसर उद्घाटनमा सहभागी भए। प्रमुख र उपप्रमुख दुवै मञ्चमा सँगै बसे। उद्घाटनपछि साँझ अबेरसम्म साँस्कृतिक कार्यक्रम चल्दै थियो यही बीचमा उपप्रमुख मधिकर्मीसहित उनको समूहको बहिस्कारबीच गुपचुपरुपमा मध्यपुर थिमि नगरपालिकाको चालु आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रम र बजेट पारित भयो। बैठकले ३ अर्ब २६ करोडको बजेट पारित गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले फेसबुक मार्फत जानकारी दिए।

गतवर्ष पनि विवादका कारण तोकिएको समयमा नगरसभा सम्पन्न गर्न नसकेको मध्यपुर थिमिले यसपटक तोकिएको समयमा नगरसभा बैठक सम्पन्न गरेको कानुनी प्रक्रिया पुरा गर्न गुपचुपरुपमा बैठक सम्पन्न गरेको हो। गतवर्ष असारको अन्तिम साता उद्घाटन भएको तेस्रो नगरसभा असोज १ गते नीति तथा कार्यक्रम र बजेट पारित गरी सकिएको थियो।

गत असार १० गते उद्घाटन भएको नगरको चौंथो नगरसभा बैठक उपप्रमुख सहित असन्तुष्ट समूहको बहिस्कारका कारण बैठक उद्घाटनमा सिमित भएको थियो। त्यसयता पटक पटक प्रयास भएपनि सहमती हुन नसकेपछि एकतर्फी रुपमा बुधवार नगरसभा बैठक सम्पन्न गरेको स्रोतले जानकारी दियो।

स्रोतका अनुसार बैठकै नबसी बहुमत नगरसभा सदस्यहरुको हस्ताक्षर संकलन गरेर नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो। ‘बैठकमा कुनै पनि विषयमा छलफल र नगरसभा सदस्यले आफ्नो धारणा समेत राख्न पाएन,’ स्रोतले भन्यो ।

कतिपय नगरसभा सदस्यलाई बैठक कसरी सम्पन्न भयो भन्ने जानकारी समेत नभएको बताइएको छ। ‘नगरपालिकाले बिहान ११ बजेका लागि बोलाईएको नगरसभा बैठक तयारी नपुगेको भन्दै दिउँसो २ बजेसम्मका लागि स्थगित गर्‍यो। बैठकमा सहभागी हुन २:३० पुग्दा कोही पनि उपस्थित भएको देखिएन,’ नगरसभा सदस्य एवम् नेमकिपाका नेता रमेश थापा श्रेष्ठले भने, ‘खै कसरी नगरसभा पास गर्‍यो। पहिल्यै सबैलाई सही गराएर राखेर मेयरले आफ्नो निकटका कर्मचारीहरुलाई राखेर एकलौटी ढंगमा सबै सम्पन्न गर्‍यो।’

नसस श्रेष्ठले नगरसभा सम्पन्न भएको मेयरको फेसबुकबाट जानकारी पाएको बताए। उनले भने, ‘नगरसभा भएको मलाई केही जानकारी छैन। पछि मेयरले केही व्यक्तिहरु बसेर नगरसभा सम्पन्न भएको भन्दै फोटो फेसबुकमा राख्दा मात्र थाहा पाएँ।’

मध्यपुर थिमिमा नगरप्रमुखले एकलौटी ढंगले नगरपालिका चलाउँदैं आएको उनले आरोप लगाए। ‘मध्यपुर थिमीमा पहिलेदेखि मेयरले एकलौटी ढंगबाट नपा चलाउँदै आएको छ। बहुमतले पारित गरेपनि नगरेपनि मैले धेरै पटक विषयहरु छलफल गरेर अगाडी जाउँ भन्दा कहिले वास्ता गरेन। उपमेयर लगायत धेरैको खासै उपस्थिति देखिएन कसरी सम्पन्न गर्‍यो थाहा छैन,’ उनले भने ।

नगरसभा सम्पन्न गर्न मेयर लगायत उनका पक्षका कर्मचारी र नससहरु सबै बोडेकै निलबाराही बैंक्वेटमा विहान ११ बजेदेखी छलफलमा व्यस्त थियो। त्यहीबाट बहुमत सदस्यहरुको हस्ताक्षर संकलन गरी नगरसभा सम्पन्न भएको घोषणा गरेको स्रोतले जानकारी दिए।

औपचारिक बैठक अघि बैंक्वेटमा नेपाली कांग्रेस, नेकपा, नगरप्रमुखलगायतका केही जनप्रतिनिधि र नगरपालिकाका केही कर्मचारीहरुबीच छलफल भएको थियो। सोही छलफलको आधारमा तय भएका एजेण्डालाई बहुमत सदस्यको हस्ताक्षर संकलन गरी नगरसभालाई औपचारिकता दिएको स्रोतको दावी छ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उद्धव प्रसाद रिजालले भने बैठक नियम संगतनै सम्पन्न भएको जानकारी दिए। ‘अघिल्लो दिन कार्यपालिकाको बैठक बसेर सबै एजेण्डा पास गरेका थियौ। नगरसभाको लागि ११ बजेदेखि छलफल गर्दागर्दै साँझ ५ बजे छलफल टुँगिएको थियो। त्यही निर्णयलाई सर्वसम्मत गरेर प्रकृया पुर्‍याएरै नरसभा सम्पन्न गरेको हो,’ उनले भने, ‘कार्यपालिकाको बैठकमा सर्वसम्मत भएको एजेण्डाका अनुसारै नगरसभा सम्पन्न भएको हो। यो प्रकृया पुगेकै हो नी।’

उनले उपप्रमुखको अनुपस्थिती भएका कारण सभाअध्यक्ष तथा नगरप्रमुख स्वयमले बजेट प्रस्तुत गरेको बताउँदैं नगरसभा बैठकमा भएका गतिविधि सार्वजनिक गर्न नहुने जिकिर समेत गरे । ‘उपमेयरको अनुपस्थितिले गर्दा सभाध्यक्ष आफैले बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो', उनले भने, 'नगरसभाको कतिपय कुराहरु भन्न नहुने संविधानमै उल्लेख छ। त्यही भएर भित्रका सबै कुरा भन्न मिल्दैन। हामीले ऐन अनुसार नियम पुर्‍याएरै नगरसभा सम्पन्न गरेको हो। बाँकी कुरा मेयरलाई सोध्नुस।’

मध्यपुर थिमि नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु दुई खेमामा विभाजन हुँदा पटक पटक राजनैतिक गतिरोध आउने गरेको छ। नगरप्रमुख श्रेष्ठले कांग्रेसका दुई खेमा मध्ये आफु अनुकुल एक समूहले च्यापेर शासन गरेकाले पनि मध्यपुर थिमिमा पटक पटक गतिरोध आउने गरेको नसस एवम् नेमकिपा नेता रमेश थापा श्रेष्ठले बताए। उनले नगरप्रमुख श्रेष्ठलाई पटक पटक प्रक्रियागत ढंगले छलफल अगाडि बढाउँदैं नियम, विधि र प्रक्रिया पुर्‍याएर नगरपालिका सञ्चालन गर्न आग्रह गर्दा पनि त्यसो हुन नसकेको जानकारी दिए।

मध्यपुर थिमिमा गतवर्ष देखी नेपाली कांग्रेस र नेकपाबीच सहकार्य र सहअस्तित्वका आधारमा सहमतीमा नगरपालिका सञ्चालन गर्ने सहमती भएको थियो। सोही सहमतीका आधारमा कांग्रेसको असन्तुष्ट पक्षसँगको सहकार्य तोड्दै नगरप्रमुख श्रेष्ठले पछिल्लो समय नेपाली कांग्रेसको संस्थापन पक्षसँग सहकार्य गर्दै आएको छ।

नगरसभा सम्बन्धमा उपप्रमुख मधिकर्मीसँग प्रतिक्रिया माग्दा पार्टी नगरसभापति सुरेन्द्र श्रेष्ठसँग बुझ्न आग्रह गरिन भने नगरप्रमुख श्रेष्ठले सबै सदस्यहरुलाई बैठकमा आमन्त्रण गरिएको तर उपप्रमुखसहित केही असन्तुष्ट सदस्यहरु अनुपस्थित भएपछि विधि, प्रक्रिया पुर्‍याएर बैठक सम्पन्न गरेको दावी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.