आफ्नै स्टाटसको कमेन्टमा लेखे आत्महत्याको कारण

|

लमजुङ : २३ वर्षीय युवराज घर्तीले गाउँ फर्किंदा जनप्रतिनिधिको दबाबमा क्वारेन्टाइनमा बस्नुपर्दा अपमानित महसुस गरे। क्व्लाहासोँथर गाउँपालिका ६ पसगाउँका युवराजलाई असार ३१ मा गाउँपालिका ९ स्थित बुद्वोदय माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा बसेको पहिलो दिनमै फेसबुकवालमा युवराजले क्वारेन्टाइनमा १४ दिन राखेर ज्वरो नाप्ने मात्र काम हुने र ज्वरो नापेर मात्र कोरोना परीक्षण हुन्छ र? मैले नबुझेको कुरा भनेर लेखे।

त्यसै स्टाटसको कमेन्टमा भोलिपल्ट उनले लेखे- 'आज मेरो अन्तिम दिन हो। म आत्महत्या गर्दैछु। तर वडा अध्यक्ष मनलालसहित बन्दुक चलाउनेको...साथमा चन्द्रप्रसाद, बलराम, सूर्यप्रसाद मरेजस्तै हो। रिप!'

​उनको फेसबुकमा युवराज गुरुङ नाम राखेका छन्। उनले कमेन्टमा लेखेका प्रभावशाली व्यक्ति रहेको पाइएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका स्वकीय सचिव सूर्य गुरुङ, उनको दाइ चन्द्रप्रसाद, वडा अध्यक्ष मनलाल गुरुङ, पूर्ववडाध्यक्ष बलराम गुरुङ हुन्।

राति नै पासो लगाए

युवराजले राति नै पासो लगाएर प्राण त्यागेका छन्। भवन बनाउन खट बाँध्न राखिएको डोरी जोडेर पासो लगाएका थिए। पासो लगाउन प्रयोग गरिएको डोरी चुँडिएर भुइँमा लडिरहेको अवस्थामा शुक्रबार बिहान क्वारेन्टाइनमा युवराजको शव प्रहरीले फेला पारेको छ। क्वारेन्टाइनमा मानिस राखिएपछि प्रहरी नियमित गस्तीमा पुगेको अवस्थामा भेटेर जानकारी लिन पुगेको प्रहरी टोलीले कोठाभित्र शव फेला पारेको थियो।

युवराजलाई राखिएको जानकारी प्रहरीले भोलिपल्ट मात्रै पाएको थियो।

विदेश जाने योजनामा थिए

दुई वर्षे इलेक्ट्रिकल कोर्ष गरेका युवराज विदेश जाने योजनामा थिए। विदेश जान पैसा बुझाएको र एजेन्ट सम्पर्कविहीन भएको अवस्थामा उनी बुटवलमा रहेकी दिदीको घरमा पुगेका थिए। अचानक लकडाउन भएपछि तीन महिनासम्म अड्किएका उनी पास बनाएर पोखरामा रहेको दाइको घरमा पुगे। ११ दिन पोखरा बसेर गाउँ फर्किएका थिए।

असार २९ मा गाउँ पुगेका उनलाई जनप्रतिनिधिले क्वारेन्टाइनमा बस्न आग्रह गरे। `भाइ आफू घरमै बसेर आएकोले गाउँमै होम क्वारेन्टाइनमा बस्ने भए पनि निरन्तर दबाब दिइरहे,´ दाइ खुमबहादुर घर्तीले भने- बाध्य भएर क्वारेन्टाइनमा बस्न पुगे। ´घरदेखि पैदल तीन घण्टा पर रहेको क्वारेन्टाइनमा दिनरात एक्लै बस्नुपर्ने, खानासमेत आफैँ पकाएर खानुपर्ने अवस्थाले उनी निराश बनेका थिए। साथीहरूलाई फोन गरेर निराशा पोखेका थिए।

शव अझै उठेन शव

बरामद भएको २४ घण्टा बितिसक्दा समेत शव उठ्न सकेको छैन। शवको परीक्षण गरेर मात्र शव परिवारजनको जिम्मा लगाइनेछ। क्वारेन्टाइनमा मृत्यु भएकाले कोरोना परीक्षण गरिने भएको छ। परिवारले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गर्ने मृतकका दाइ खुमबहादुर घर्तीले बताए।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले मृतकको स्वाब संकलन गरिएको र कोरोना परीक्षणको रिपोर्ट आएपछि घटनाबारे अनुसन्धान गरिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.