|

दमक (झापा) : लकडाउनको समयमा अधिकांश गतिविधिहरु ठप्प हुँदा पनि झापाको दमक नगरपालिका–९ मा रहेको धिमाल संस्कृति संग्रहालय निर्माणको काम रोकिएन। सामाजिक दूरी कायम गरी सुरक्षित रुपमा निर्माण कार्य जारी राखेकै कारण अहिले यो स्थान नगरकै आकर्षक स्थानको रुपमा विकास भएको छ।

चरकपारा टोलमा चार वर्षअघि निर्माणा थालिएको संग्रहालयमा धिमाल समुदायको पहिचान झल्कने विभिन्न मूर्ति निर्माण गरिएका छन्। यस्तै, सानो आकारको पोखरी, गणेश तथा हनुमानका मूर्ति, पूजा स्थल समेत निर्माण गरिएको छ। संग्रहालय परिसरमा ओखलमा महिलाहरुले चामल कुट्दै गरेको, पुरुषहरु कुकुरसहित खेतीमा जाँदै गरेको, ढोल बजाउँदै गरेको, सिंगो सुँगुरनै भारमा झुण्ड्याएर बोकेको जस्ता धिमाल संस्कृतिलाई चिनाउने मूतिहरु बनाइएका छन्।

धिमाल संस्कृति संग्रहालयका अध्यक्ष लोकबहादुर धिमालका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा संघीय सरकारमार्फत प्राप्त ४० लाख रुपैयाँको लागतमा विभिन्न संरचना थप गरिएका हुन्। संग्रहालयका लागि प्रदेश सरकारले पनि सहयोग गरेको र चालु वर्षका लागि थप सहयोग प्राप्त हुने आवश्वासन पाएको उनले बताए।

थपिँदै दोमला घर

धिमाल समुदायबारे चासो राख्ने जो कोहीलाई पनि अवलोकन गरेरै धेरै कुरा जानकारी दिलाउन सक्ने गरी संग्रहालय निर्माण थालिएको अध्यक्ष धिमाल बताउँछन्। धिमाल समुदायको जन्मदेखि विवाह तथा मृत्यु संस्कार, मेला–हाट बजार शैली, खेती तथा शिकार चलनलाई मूर्तिकै माध्यमबाट चिलाउन विभिन्न मूर्ति थपिने क्रममा रहेको नगरपालिकाका पूर्वप्रमुख समेत रहेका धिमालले बताए।

यस वर्ष संघीय सरकारबाट एक करोड रुपैयाँ प्राप्त हुने आश्वासन पाएको भन्दै उक्त रकमबाट दोमला घर बनाउने योजना रहेको उनले बताए। दोमला घरबारे प्रष्ट पार्दै उनले भने, ‘दुई तलाको हुने दोमला घर धिमाल समुदायका आधारभूत पहिचान खुल्ने प्रकारको घर हो, यसमा धिमाल समुदायमा परम्परागत रुपमा प्रयोग हुने कृषि औजार, पोशाक, गहना, भाँडा लगायतका सामग्री हुने छन् ।’

नगरको प्रथम नागरिक

दमक नगरपालिकाले धिमाल जातिलाई पहिलो नगरसभाबाटै प्रथम नागरिकको रुपमा घोषणा गरेको छ। यससँगै धिमाल जातिको आर्थिक सामाजिक विकासका लागि नीतिगत रुपमानै प्राथमिकता दिँदै आएको नगरपालिका प्रवक्ता समेत रहेकी उपप्रमुख गीता अधिकारीले बताइन्। 

धिमाल समुदायमा परम्परागत रुपमा उपयोग हुँदै आएका गहना, बाजा, खेतीपातीका औजार उपकरण, माछा मार्ने शैली र औजार अहिले लोप हुँदै गएका छन्। यस्तै, विभिन्न सांकृतिक उत्सवहरुमा प्रयोग हुने पोशाक लगायतका सामग्री नयाँ पुस्तालाई समेत चिनाउने र सिंगो समुदायकै संस्कृति संरक्षण गर्ने उद्देश्यले नगरमा सांस्कृतिक पर्यटनको समेत विकास गर्ने क्रममा रहेको उनले जनाइन्।

अध्ययन केन्द्र बनाउने लक्ष्य

निर्माणाधीन संग्रहालयलाई दमक र धिमाल जातिको अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको धिमाल जातीय विकास केन्द्रका पूर्वअध्यक्ष समेत रहेका सोही वडाका अध्यक्ष रामबहादुर धिमालले बताए। धिमाल जातिको अध्ययनले झापा र मोरङ जिल्लाको इतिहास समेत बुझ्न सहज हुने भएकाले संग्रहालयलाई अध्ययन केन्द्रको रुपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ।

संग्रहालयलाई पूर्णता दिन र नगरभित्रमा अन्य महाराजथानहरुको संरक्षणका लागि नगरपालिकाले प्राथमिकता दिएको वडा नम्बर ४ का वडासदस्य मणिराज धिमालले बताए। विभिन्न ग्रामथान तथा महाराजथानहरुको संरक्षण तथा पूर्वाधार विकास गरी आन्तरिक पर्यटन प्रवर्द्धनको समेत योजना बनाइएको उनले जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.