अहिलेकै यात्राले सरकार लामो बाटो हिँड्न सक्दैन

|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन २०७७ फागुन ७ गतेदेखि हुनेगरी मिति तोकिएको छ। तर, कांग्रेसभित्रै महाधिवेशन अहिले तोकिएको मितिमै हुने सम्भावना पनि रहेको नेताहरूले बताइरहेका छन्।

विशेष गरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले फागुनमा महाधिवेशन नगरी कार्यकाल लम्ब्याउने काम गरिरहेको आरोप लगाउँदै आएको छ। के साँच्चै देउवा आगामी फागुनमा महाधिवेशन नगरी कार्यकाल लम्ब्याउनेतर्फ लागेकै हुन्? फागुनमा महाधिवेशन हुन्छन् भन्ने आधार के त? यी र यस्तै विषयमा देउवानिकट मानिने कांग्रेस नेता एनपी साउदसँग थाहाकर्मी सन्तोष अधिकारीले गरेको संक्षिप्त कुराकानी : 

कांग्रेसमा १४ औँ महाधिवेशन लागिसक्यो। तर, अझै पनि केही नेताहरूले महाधिवेशन समयमै नहुने भन्दै शंका गरिरहेको बेला महाधिवेशन समयमै हुन्छ भन्ने आधार के के हुन्

फागुनमा महाधिवेशन गर्ने भनेर पार्टीले निर्णय गरिसकेको छ।  लकडाउनकै कारण सरेर फागुनको लागि तोकिएको मिति नसर्ने भनेर निर्णय पार्टीले गरेको छ। यही निर्णयको आधार र पार्टीको संगठन निर्माण महाधिवेशनको माध्यमबाट नगरे अब बिग्रने अवस्थामा पुगेको छ। त्यसलाई पुरानै लयमा फर्काउनको लागि सबै नेताहरूको मत एक भएकोले फागुनको मिति सर्दैन भन्ने लाग्छ। कोरोना संक्रमणको अवस्था कस्तो हुन्छ त्यसले पनि भर पर्ने कुरा भयो। सभापतिज्यू महाधिवेशन टार्ने मनस्थितिमा भएको मैले पाएको छैन। अरूले के भने त्यता नजाऊँ।  

वरिष्ठ नेता पौडेल पक्षले देउवाले समयमै महाधिवेशन नगर्नका लागि अहिले विभिन्न विभागमा नियुक्ति गर्ने, कारबाहीको नाममा एकलौटी निर्णय गर्ने भनेर तपाईं (देउवा) को गुटलाई आरोप पनि लगाइरहेको छ नि

यो विभाग गठन गर्न विधानमा प्रबन्ध गरेको भन्दा केही चाहिँ ढिला भएको साँचो हो। ढिला भइसकेपछि पनि  यो हजारौँ संख्यामा सयौँ संख्यामा देशभरिका कार्यकर्ताहरूले आफ्नो पार्टीभित्र कामको भूमिका खोजिरहेको अवस्थामा पार्टी सभापतिले विभाग विस्तार गर्ने, विभाग गठन गर्ने निरन्तरता दिन खोज्नुभएको छ। यसमा पार्टीका वरिष्ठ नेता, महामन्त्री, कोषाध्यक्षज्यूहरूको केही असहमति रहेको भनेर जानकारी पनि आएको छ।  तर, बावजुद पनि वार्ता, छलफलबाट समस्याको समाधान गर्नुपर्छ। उहाँहरूले सभापतिले गरेको कामलाई लिएर पार्टीभित्र धेरै विवाद गर्न हुँदैन भन्ने मेरो भनाइ हो।  

१४ औँ महाधिवेशनमा देउवा पक्ष, पौडेल पक्ष, सिटौला पक्ष भएर नेताहरू चुनाव लड्ने हुन कि गुट अन्त्य हुन्छ?

अहिले देखिएकै लक्षणले अघि बढिरहने हो भने गुटहरू झन् झाँगिँदै जान्छ कि, गुट पछि उपगुट, उपगुटपछि अरू केही न जन्म हुने हो कि? विकृतिले पार्टीमा ठाउँ पाउने होकि भन्ने संकेत देखिएको छ। त्यसैले नेताहरूले पार्टी समस्यामा भएको बेला, सरकारमा कम्युनिष्ट रहेको बेला, पार्टीको भूमिका र माया दृष्टिगत गरेर चिन्तन र चिन्ता गर्नुपर्छ। तर, नेतृत्वले सच्चिएर र सुधार गरेर नगए पुरानो पार्टी कांग्रेस भनेर सधैँ माया गरिराख्दैनन् मत दिँदैनन्। 

पार्टीभन्दा फरक कुरा सरकारको काम कारबाहीबारे के भन्नुहुन्छ

 सरकारको काम सन्तोषजनक छैन। धेरैजसो कामहरू प्रोपोगाण्डामा आधारित छन्। कोरोना माहामारीको कारण विकासको पक्ष न्यून भएको छ। उद्योग लगानीको क्षेत्र प्रभावित भएको छ। रोजगारीको क्षेत्र प्रभावित भएको अवस्था छ।

अर्थ व्यवस्था अहिले चौपट भएको अवस्था छ। यसको ठाउँमा सरकारले थलिएका जनतालाई केही राहत मिल्ने कार्यक्रम ल्याउनु त कता हो कता केही भावनात्मक कुराहरु गरेर जनतालाई आफ्नो पक्षमा पार्न चलाखी गरिरहेको छ। तर, यो लामो समयसम्म भावनात्मक मुद्दाका आधारमा मात्रै राजनीति त गर्न सकिन्न। यथार्थ धरातलमै उभिएर गर्नुपर्ने हुन्छ।

अहिले सरकार जुन बाटो हिँडिरहेको छ। त्यो बाटोबाट लामो यात्रा गर्न पनि सक्दैन र जनताको हित पनि हुँदैन।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.