|

धनकुटा : केही दिनदेखिको अविरल वर्षाले लेउती र गर्जुवा खोलामा आएको बाढीले साँगुरीगढी गाउँपालिका–७ गर्जुवा गाउँको बस्ती जोखिममा परेको छ। दुवै खोलाको संगमस्थलमा ९ घरपरिवारको बसोवास रहेको छ। खोलामा आएको बाढीले घरनजिकै छेउको जमिन धमाधम कटान गरेपछि बस्ती जोखिममा परेको हो।

खोलामा पानीको वहाव बढिरहेकोले त्रास रहेको स्थानीय यामबहादुर राईले बताए। उनको शौचालयसमेत बगाइसकेको छ, भने घर जोखिममा रहेको छ। केही स्थानीय आफन्तको घरमा सर्न थालेका छन्। बस्तीमा रहेको घरपरिवारका वासिन्दा लेउती खोलामा बालुवा चालेर जीविकोपार्जन गर्ने मजदुर हुन्।

गर्जुवा खोलामा माटोसहित आएको बाढीले धरान–धनकुटा कोशी राजमार्गसमेत पटकपटक अवरुद्ध गरेको डिभिजन सडक कार्यालयका सुपरभाइजर अमृता राईले बताइन्। पानी पर्नेबित्तिकै गर्जुवाको सिरमा पहिलो जाने र सोही पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको हो।

पहिरोबाट आएको लेदो माटोले धरानबाट धनकुटा आउँदै गरेको धनकुटा नगरपालिकाको को१झ ५८४ नम्बरको गाडी आधा भाग पुरेको थियो। सडक डिभिजन कार्यालयले बाटोको पहिरो पन्छाउन् परिचालन गरेको डोजरको सहायताले गाडी निकालिएको गाडीमा सवार धनकुटा नगरपालिकाका कार्यक्रम संयोजक सीताराम गौतमले बताए। पहिरोले छिन् छिनमै बाटो अवरुद्ध भइरहने र डोजरले खुलाउने काम भइरहेको छ।

खोलामा रहेको होमपाइप पुरिएपछि बाढीको माटो सडकमा थुप्रिने गरेको छ। त्यस्तै, गर्जुवाभन्दा केही पर रहेको सिस्नेमा पनि बाढीको जोखिम रहेको छ। गाउँभन्दा माथि निर्माणाधिन कोशी करिडोरको रहेको छ भने मुनि कोशी राजमार्ग रहेको छ। कोशी कोरिडोरको माटो पानीले बगाएर बस्ती हुँदै कोशी राजमार्गमा ल्याएर थोपारिने गरेको छ। थुप्रिएको माटो सडक डिभिजनको डोजरले पन्छाएर सडक सूचारु गर्ने गरिएको सुपरभाइजर राईले बताइन्।

५ घर विस्थापित

निरन्तरको वर्षाका कारण धनकुटा जिल्लामा ५ घर विस्थापित भएका छन्। वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका १ हिलेका २ घर विस्तापित भएका हुन्। पहिरोका कारण धनकुटा १ हिलेका डिल्ली घिमिरे र सेतुलाल तामाङको परिवार विस्तापित भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए।

यस्तै, पहिरोका कारण महालक्ष्मी नगरपालिका-५ लेगुवाका दीपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वज राईको परिवारलाई स्थान्तरण गरिएको एसपी अधिकारीले बताए। विस्तापित भएका परिवारलाई स्थानीयबासीको सहायतामा सुरक्षित स्थानमा सारिएको एसपी अधिकारीले बताए।

४७ घर जोखिममा

निरन्तरको वर्षासँगै हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै धनकुटा जिल्लाका विभिन्न ठाउँका ४७ घरपरिवारलाई उच्च सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। वर्षासँगै बाढी पहिरोका जोखिमबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै धनकुटा नगरपालिका ७ आत्मारा १० घर, महालक्ष्मी नगरपालिका ५ माङमाया खोला आसपासका ३ घर, सहिदभूमि गाउँपालिका ३ छिन्ताङ खहरे भिरका ७ घर, त्रिवेणी दोभानका ३ घर र वडा नं. २ साप्तिङटारका ४ घरलाई उच्च सतर्कतामा रहन भनिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताए।

यस्तै, धनकुटाको साँगुरीगढी गाउँपालिका १ गर्जुवाका ४ घर, साँगुरीगढी कै वडा नं. ६ नाम्जेका ९ घर, चौविसे गाउँपालिका वडा नं. ३ च्याङचुङभिरका ४ घर र वडा नं. ५ कुशेटारका ४ घरलाई सतर्क रहन भनिएको छ।

ग्रामीण सडक अवरुद्ध

यस्तै, वर्षासँगै आएको बाढी र पहिरोका कारणले धनकुटाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएको छन्। वर्षाका कारणले छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाको सिमाना छुट्याउने माङ्माया खोलामा आएको बाढीका कारणले सडक अवरुद्ध भएको छ।

यस्तै, धनकुटा नगरपालिका ९ मुलघाटबाट सहिदभूमि गाउँपालिकाको त्रिवेणी जोड्ने सडकमा ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण समस्या भएको वर्षा रोकिएपछि खुलाइने धनकुटाका प्रमुख जिल्ला अधिकारी विमलीले बताए।

यस्तै, वर्षाको कारणले राष्ट्रिय गौरवको आयोजनाहरु भेडेटार–रवि–राँके सडक र तराइका जिल्लाबाट छोटो दुरिका ताप्लेजुङको ओलाङचुङगोला जोड्ने तमोर करिडोरको धनकुटा खण्डको धेरै ठाउँ जोखिममा परेको छ। भेडेटार–रवि–राँके सडकको धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ मझुवामा उच्च जोखिममा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.