|

तनहुँ : अविरल वर्षापछि आएको पहिरोले मंगलबार बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। आँबुखैरेनी गाउँपालिका–२ ऐनापहारा, मार्कीचोक र बन्दीपुर गाउँपालिका–१ विमलनगर, डुम्रे, नाहालामा राजमार्ग भाँसिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
 

ऐनापहरा र मार्कीचोकमा पहिरोले खसेपछि मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। तिमिल्सिनाका अनुसार ११ बजेतिर बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित रिमाल्नी, नाहालामा राजमार्ग भास्सिएको छ।

व्यास नगरपालिकाको मादीपुल नजिक, म्याग्दे गाउँपालिका–१ गुणादीअन्तर्गतको सडक खसेको पहिरो सफा गराइसकिएको उनले बताए। ‘पोखरातर्फ जानका लागि राहत भए पनि दमौली–मुग्लिन सडक खण्ड भने अवरुद्ध रहेको छ,’ डिएसपी तिमिल्सिनाले भने, ‘सडक सञ्चालन गर्न ३÷४ घण्टा लाग्नेछ, अहिले सडकको पहिरो हटाउने कार्य भइरहेको छ।मुग्लिनबाट पोखरा जाने सवारीसाधन भने रोकिएका छन्।’

पहिरोले धेरै ठाउँमा घर बगाएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए। विस्तृत विवरण भने आउन बाँकी नै रहेको प्रजिअ अधिकारीले बताए।

मादीसेती नदीले चार घर बगायो

बन्दीपुर गाउँपालिका–६ खहरे थुमथुमेस्थित नाल्दीपुल नजिकै आएको पहिरोले चार घरमा क्षति पु¥याएको छ। त्यस क्षेत्रमा सञ्चालित केही पसलहरुमा क्षति पुगेको स्थानीय नवराज गुरुङले जानकारी दिए।
 
गुरुङका अनुसार त्यहाँको आठ घरमध्ये तीन घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने भौतिक सामग्रीहरु नदीले बगाएको छ। त्यस क्षेत्रमा अत्यन्तै खतरा रहेको भए पनि उद्धारका लागि कोही नपुगेको उनले बताए। 

‘प्राकृतिक विपत्तीमा हामी भएको अवस्थामा पनि न त स्थानीय सरकार आइपुगेको छ, न त अन्य कोही सम्बन्धित निकायले उद्धार गरी स्थानान्तरण गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो खाद्यान्न  र सामग्री नदी र पहिरोले लगिसकेको छ। मानवीय व्यवस्थापनमा सहयोग जुटाउन अनुरोध गर्दछु।’

त्यस क्षेत्रमा बाढी र पहिरो बस्तीमा पसेको गाउँपालिकालाई खबर नभएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताए। खबर पाउनासाथ त्यसतर्फ जान तयार गराइने र त्यस क्षेत्रको जानकारी भने लिनका लागि सम्पर्क गर्ने उनले बताए।

त्यस्तै, बन्दीपुर गाउँपालिका–१ नाहालाका दुई जनाको घर  भत्किँदा पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए। उनका अनुसार स्थानीय सुरेश र अर्जुन अधिकारीको घरमा पहिरोले पूर्ण रुपमा क्षति पुगेको छ। स्थानीय तथा जनप्रतिनिधि र घरपरिवारले पशुचौपायको भने उद्धार गरेका छन्। डुम्रे लगायत ठाउँका ३५ जना विस्थापित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.