केमिकलयुक्त विदेश रक्सीमा चियर्स बन्द गरौं

|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ हुन् उषाकला राई। प्रदेश १ की सदस्य उनी अहिले एउटा अनौठो अभियानमा छिन्। कोदोको लोकल रक्सीलाई अवैधानिक र मानव स्वास्थ्य बिगार्ने गर्ने भन्दै प्रहरीले पोखिरहेका बेला उनी भने त्यसविरुद्ध होमिएकी छन्। 

वार्षिक अर्बौंको विदेशी मदिरा (रक्सी) नेपालमा आयात भइरहेका बेला दक्षिण कोरियाले सोजु (रक्सी) लाई ब्रान्ड बनाए जस्तै नेपालमा पनि त्यही अभियानमा उनी होमिएकी हुन्। उनले आफ्नो अभियानको नामै दिएकी छन् 'ब्यान्ड भर्सेस ब्रान्ड' अर्थात कोदोको लोकल रक्सीलाई नेपालले ब्रान्ड बनाएर विश्‍वभर व्यापार गर्नुपर्ने उनको योजना छ। 

यही अभियानका क्रममा उनी अहिले प्रदेश १ बाट संघीय राजधानीमा छिन्। किरात राईहरूको बाहुल्यता रहेको खोटाङमा जन्मिएकी उनी तामाङहरुको बाहुल्यता रहेको सिन्धुपाल्चोकमा बिहे गरेर आएकी हुन्। किरात राई र तामाङ जातिले कोदोको लोकल रक्सी बनाउँछन्। उनीहरु दुवै जातिको जन्मदेखि मृत्यु कर्मसम्ममा रक्सी नभइ हुँदैन। 

तर उनीहरुले नै बनाएको लोकल रक्सीलाई प्रहरीले अवैध भन्दै घर घरमा छिरेर पोखिदिन्छ। जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी र प्रहरीका हाकिम पुगेपछि त रक्सी पोख्ने अभियान नै चलाइन्छ। 

आफ्नो माइती जिल्ला खोटाङको दिक्तेलमा एक पटक प्रहरीले चलाएको रक्सी पोख्ने अभियानले उनलाई नराम्ररी घोच्यो। 'किरातीहरुका लागि रक्सी पवित्र वस्तु हो। हाम्रो संस्कारमा यो बिना कुनै संस्कार नै हुँदैन', उनले सुनाइन्, 'एक पटक दिक्तेलमा प्रहरीले रक्सी पोख्‍ने अभियान नै चलाएछ। जिल्लालाई मदिरामुक्त बनाउने भन्दै हाम्रा आमा दिदी बहिनीले उत्पादन गरेको लोकल रक्सी पोखियो, बनाउने भाँडा फुटाइयो, जफत गरियो। तर मदिरामुक्त अभियान चलाउनेले विदेशबाट केमिकल हालेर ल्याइएका रक्सीमा नजर लगाएनन्। दोकानमा सजाएर राखिएका रक्सी छोइएन। गरिबका घरमा बनाइएका रक्सी भने माटोमा पोखियो, यो त साह्रै बेठीक भयो।'

उनले त्यही बेलादेखि नै लोकल रक्सीलाई ब्यान्ड होइन ब्रान्ड बनाउने अभियान चलाइरहेकी छन्। प्रदेशसभा सदस्यको भूमिकामा रहेकाले उनले लोकल रक्सीलाई ब्रान्ड बनाउन कानुन नै अघि बढाउने तयारी गरेकी छन्। 'प्रदेशसभा सदस्य भएकाले लोकल रक्सीलाई ब्रान्ड बनाउन संसदमा सरकारी विधेयक पेश गर्न दबाब दिँदैछु। यदि त्यसो हुन सकेन भने गैरसरकारी विधेयक अघि बढाउँछु। गैरसरकारी विधेयक लेखन पनि थालिरहेकी छु।'

ब्यान्ड होइन ब्रान्ड

उनले कोदोको लोकल रक्सीलाई ब्रान्ड बनाउन लाइसेन्सको व्यवस्था गर्नुपर्ने उल्लेख गरिन्। 'हाम्रो गाउँघरमा उत्पादित रक्सीलाई प्रतिबन्ध होइन ब्रान्डिङ गरौं। हामी अभियानमा छौं तर सरकार मौन छ, सुनेर पनि चुप लागेर बसेको छ', उनले सुनाइन्, 'कोदोको अर्गानिक लोकल रक्सी हाम्रो पहिचान हो। विदेशी रक्सी ल्याएर चियर्स गर्न बन्द गरौं, हामीले लोकल रक्सीको प्याटेन्ट राइट लिनु पर्छ। कोदोको अर्गानिक रक्सीलाई ब्रान्ड बनाउनुपर्छ।'

कोदोको रक्सीलाई ब्रान्ड बनाउन कसरी सम्भव छ त? उनी भन्छिन् 'ब्रान्ड बनाउँदा एकै हुनुपर्छ। बोटलिङ र प्याकिङ सातै प्रदेशमा एकै प्रकारको बनाउनुपर्छ। हामीकहाँ अनगिन्ती जडीबुटी छन् त्यसैले हामीले यसलाई औषधिजन्य बनाउनुपर्छ।'

लोकल रक्सीको निश्‍चित मापदण्ड बनाएर उत्पादन गर्नुपर्ने योजना उनीसँग छ। 'लोकल रक्सीलाई ब्रान्ड बनाउन तालिमको व्यवस्था गर्नुपर्छ। रक्सी जनजातिले मात्रै बनाउने गरेका छन्। यसलाई घरेलु व्यवसायिक उद्योगका रुपमा अघि बढाउनुपर्छ। दूध जसरी संकलन गर्नुपर्छ। राज्य यसमा अघि सर्नुपर्छ', उनले आफ्नो योजना सुनाइन्, 'लाइसेन्स प्राप्त उद्योग बनाउनुपर्छ, व्यापारीहरूलाई अघि सारौं।'

अब नपोखौँ 

गाँजालाई वैधानिकता दिने अभियानमा रहेका पति तथा संघीय सांसद शेरबहादुर तामाङलाई साथमा राखेर मंगलबार काठमाडौंमा केही पत्रकारबीच बोलेकी उनले जनताको उत्पादन नपोख्‍न आग्रह गरिन्

'चीन-अमेरिकी राष्ट्रपतिले त्यहीँको उत्पादन चियर्स गर्छन्। नेपालमा चाहिँ जनताले उत्पादन गरेको कोदोको रक्सी माटोमा हालिन्छ। जनताको घिच्चुकमा हानेर, जनतालाई डुबाएर हामी हामी विदेशी रक्सी चियर्स गर्ने?', उनले सुनाइन्, 'विदेशी रक्सी लिएर हामी चियर्स गर्ने? हाम्रा सेता हिमालमा विदेशी ब्रान्डको रक्सीको विज्ञापन भइरहेको छ। हिमाललाई बीचमा देखाएर विज्ञापन गरिन्छ। हाम्रो हिमाल हामीलाई नै देखाएर विदेशी रक्सीमा हामीले वार्षिक दुई खर्ब पैसा विदेश पठाइरहेका छौं।'

छोराछोरी पाल्न र आफ्नो छाक टार्न आदिवासी जनजातिले बनाएको रक्सी पोखेकोमा उनको चित्त फाटेको छ। 'हाम्रा आदिवासी जनजातिहरूले बनाएको कोदोको रक्सी पोखिन्छ। बालबच्चाको छाक टार्न, कलम कापी किन्‍न भनेर बनाइन्छ। रक्सी पोख्‍ने राज्यले उनीहरुलाई गरेर खा भन्दैन। सरकारले जनतालाई के सहयोग गरेको छ?', उनले सोधिन्, 'उसको जीवन कसरी चलेको छ। लोकल रक्सी बाटोमा ल्याइँदैछ भने पुलिसले पक्रिएर पोखिदिन्छ। गरीबले उत्पादन गरेको वस्तु माटोमा मिलाइदिएर, घोप्ट्याएर हामी हाँस्छौँ। अनि विदेशी रक्सी ल्याएर हामी चियर्स गर्छौं।'

जडीबुटीबाट बन्छ रक्सी

उनले देशको स्थानीय उत्पादन पोख्‍न थालेपछि साम्राज्यवादीको सेना नै आउनु नपर्ने बताइन्। स्थानीय उत्पादन नष्ट गर्न थालेपछि देश त्यसै बिग्रिने उनको बुझाइ छ। 'साम्राज्यवादले देश निल्दो रहेछ, खर्लप्प खाँदो रहेछ भन्‍ने लोकल रक्सी पोखेकोबाट पुष्टि हुन्छ। हाम्रो अर्ग्यानिक रक्सी पोखेर रसायन हालेका महँगा विदेशी रक्सीमा हामी रमाउँछौँ', उनले गुनासो गरिन्, 'नेपाल यति धनी राष्ट्र हो। संसारमै अग्लो ठाउँमा रहेको नेपालमा जडीबुटीबाट अर्ग्यानिक रक्सी बनाउन सकिन्छ। हिमालै हिमालको देश नेपाल हाम्रा हरेक बोटबिरुवा जडीबुटीयुक्त छन्। तिनको प्रयोग गरेर अनेक रोग निको पार्ने रक्सी बनाउन सकिन्छ।'

विदेशी रक्सीमा कयौँ केमिकल हुने उनको तर्क छ। 'विदेशीहरुले कयौँ केमिकल हालेर रक्सी बनाएका छन्। इस्ट भन्‍ने तत्व रसायनबाट बनाउँछन्। हाम्रोमा पहाड हिमालमा उम्रिने जडीबुटीबाट रक्सी बन्छ। जाँड बनाउने मर्चा पनि जडीबुटीयुक्त तत्वबाटै तयार हुन्छ', उनले अगाडि भनिन्, 'हाम्रा पुर्खाहरू विद्वान रहेछन्। उनीहरुले आविष्कार गरेको कुरालाई तर हामीले प्याटेन्ट राइट लिन सकेनौँ। अब पनि ढिला गर्यौँ भने हाम्रो लोकल रक्सीलाई पनि विदेशीले आफ्नो ब्रान्ड बनाउँछन्।'

माग विदेशसम्म 

नेपालमा उत्पादित लोकल कोदोको रक्सी विदेशमा रहेका नेपालीले पनि लैजाने गरेको उनले सुनाइन्। 'तामाकै भाँडमा राखेर आमाहरुले रक्सी बनाएका छन्। खयर राखेर बनाइन्छ, जटामसी, अलैंची राखेर कोदोको रक्सी बनाइन्छ। बेलायत, अमेरिकामा बस्ने नेपालीहरुले लुकाएर भए पनि पठाइदिनु न भन्छन्', उनले भनिन्, 'हो केही मिसावट पनि भएको छ। त्यस्तोलाई त मिसावट नगर पो भन्‍नुपर्छ तर सबै रक्सी माटोमा पोखेर गरिब जनताको पसिना नष्ट गर्ने त होइन नि। त्यसो गर्न बन्द गरेर शुद्धता परीक्षण गरी ब्रान्ड बनाऊँ भन्‍नुपर्नेमा राज्य पोखेर हिँड्छ। लोकल कोदोको हर्बलयुक्त रक्सीलाई ब्यान्ड होइन ब्रान्ड बनाउनुपर्छ।'

उनले नेपालमा ठूलो बोतलमा हालेको लोकल रक्सीलाई हजार डलरसम्ममा बेच्‍न सकिने बताइन्। सानो बोतलको ५ सय डल र अझै सानो बोतलको २ सय डलरमा बिक्री गर्न सकिने उनले बताइन्। 

'हामीले गुर्जो, यार्सा गुम्बा, अलैंची र जटामसी पनि हालेर रक्सी बनाउन सक्छौं। पैसावाल मान्छेले, व्यापारीले मात्रै एक ठाउँ लोकल कोदोको रक्सी उद्योग खोलेर हुँदैन। घर घरमा आमा दिदी बहिनीहरूले बनाउनुपर्छ। तर त्यसलाई नियम गर्नुपर्छ', उनले भनिन्, 'त्यसका लागि तालिमको व्यवस्था हुनुपर्छ। कसरी कोदो फल्ने, सफा बनाउने सिकाउनुपर्छ। रक्सीलाई एकदम शुद्ध बनाउनुपर्छ।'

उनले अँध्यारो कोठामा प्लास्टिक, चप्पल र युरिया हालेर बनाउने कामलाई निषेध नै गर्नुपर्नेमा जोड दिइन्। 'हामीले अँध्यारो कोठामा फोहोर हालेर बनाउने होइन। शुद्धतामा ध्यान दिनुपर्छ। ल्याब परीक्षणको व्यवस्था हुनुपर्छ। ल्याबमा परीक्षण गरेर मात्रै बजारमा पठाउनुपर्छ', उनीसँग योजना छ, 'एउटा ल्याब राखेर हामीले यसलाई किन ब्रान्ड बनाउन सक्दैनौँ? बोटलिङ र प्याकिङमा ध्यान दिनुपर्छ। हाम्रो लोकल कोदोको रक्सीमा हाम्रा हिमाल देखिनुपर्छ। सेतो बोतलमा प्याकिङ गरौँ त्यसमा बरु यार्सा गुम्बा पनि हालौँ। अर्ग्यानिक हर्बल रक्सी। हामी कति चाँडो धनी हुन्छौं।'

उनले लोकल रक्सीलाई उद्योगका रुपमा अघि बढाउन सके युवाहरु विदेशिने अवस्था अन्त्य हुने पनि बताइन्। 'हाम्रा युवाहरु ५० डिग्री तापक्रममा आँसु र पसिना बगाइरहेका छन्। कयौँ युवा बाकसमा प्याक भएर आइरहेका छन्', प्रदेशसभा सदस्य राईले भनिन्, 'त्यस्तो देखेर पनि हाम्रो मन रुन्छ। बाध्यता र दुःखले त्यहाँ जान बाध्य छन् नेपाली। उनीहरुलाई यहीँ रोजगारी दिनुपर्छ।'

गाँजा र रक्त चन्द खेती गरौँ

राईले नेपालमा गाँजा र रक्तचन्दन खेती गर्न सकिने सुनाइन्। लोकल रक्सी जस्तै गाँजा र रक्तचन्दनलाई पनि ब्यान्डबाट ब्रान्ड बनाउनुपर्नेमा जोड दिइन्। ' हामीले अब गाँजा र रक्तचन्दनलाई पनि ब्यान्डबाट ब्रान्ड बनाउनुपर्छ। ब्यान्ड भएकालाई खुलाउनुपर्छ। प्रति एक केजी गाँजा भारतमा ८ लाख, अमेरिकामा एक लाख डलर पर्छ', उनले भनिन्, 'अमेरिका ४७ वटा राज्यमा गाँजा खुला भइसकेको छ। नेपालमा गाँजा खेती धेरैले गरेका छन्। तर अवैध भनिदिएकाले गरीबले दु:ख पाएका छन्, अब गाँजा पनि कानुन बनाएर खुलाउनुपर्छ।'

बेँसीका खयर हुने ठाउँमा रक्त चन्दन लगाउन सकिने उनले बताइन्। 'बेँसीका खयर हुने ठाउँमा रक्त चन्दन रोप्‍न सकिन्छ। हाम्रो हिमाल पहाडका खोँचमा रातो चन्दन हुन्छ। त्यहाँका युवाहरुलाई विदेश जान रोकेर रक्त चन्दन लगाऊँ', उनले भनिन्, 'खयर उम्रेका जति ठाउँमा ५० लाख बिरुवा रोप्‍न सकिन्छ।'

मल्टिनेशनल कम्पनीका उत्पादन यहाँ खुला गरेर यहाँका उत्पादन प्रतिबन्ध गरि गरिबलाई मारिएको उनले बताइन्। 'प्रहरीले घरघरमा पसेर गाँजा फाँडिदिन्छ। कपास र गाँजाको कपडा बन्यो भने विदेशीको नाइलनसहितको कपडा बिक्दैन', उनले सुनाइन्, 'अब हामीले गाँजा खुलाएनौँ भने पछि पर्छौँ। इजरायल र क्यानडाले ग्रिन हाउस भित्र परीक्षण गर्दैछन्। हाम्रो प्राकृतिक गाँजा विश्‍वकै नम्बर वान हो,  हाम्रो प्रकृतिलाई खोस्‍न सकिँदैन। त्यसैले गाँजा नमासौँ। लोकल रक्सीलाई ब्रान्ड बनाऊँ। साम्राज्यवादी सेना आउनै पर्दैन, गाँजा मास्‍ने र रक्सी पोख्‍ने यहीँ छन्। अब यसलाई बन्द गरौं।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.