|

कञ्चनपुर : कोरोना (कोभिड-१९) महामारी रोकथाम र नियन्त्रणका लागि सीमा नाका बन्द गरिएपछि महाकाली पारी चाँदनी-दोधाराका स्थानीय बासिन्दा आफैँले तरकारी खेती सुरू गरेका छन्‌।

बन्दाबन्दीअघि भारतीय सहरबाट तरकारी किनेर खाने गरेका स्थानीयहरू अहिले आफैँले तरकारी उत्पादन गरी बेच्न समेत थालेका छन्। यस क्षेत्रमा बन्दाबन्दी अघि भारतीय सीमावर्ती शहर खटिमा र वनबासालगायत सहरबाट चाँदनी-दोधारामा तरकारी आउने गरेको थियो।

लकडाउनका कारण भारतबाट तरकारी आयात बन्द भएपछि चाँदनी-दोधाराका अधिकांश स्थानीय तरकारी उत्पादनमा लागेको माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी गिरीले जानकारी दिइन्‌। उनले भनिन्‌, ‘बन्दाबन्दी अघि उतैबाट तरकारी आउँथ्यो, अहिले त धेरैले आफ्नै घर खेतमा तरकारी लगाएका छ्न्‌, यसअघि सो क्षेत्रमा खासै तरकारी उत्पादन गर्ने गरिएको थिएन।'

चाँदनी-दोधाराका स्थानीयबासीमध्ये केहीले अहिले व्यवसायिक तरकारी खेती नै सुरू गरेका छन्‌‌। नगर उपप्रमुख गिरीका अनुसार व्यवसायिक रुपमा तरकारी उत्पादनमा लागेको स्थानीयले अहिले नजिकका बजारमा आफूले उत्पादन गरेको उपज बेच्न नै थालेका छन्।

स्थानीयले व्यवसायिक र घरमा दैनिक उपभोगका लागि आवश्यक तरकारी उत्पादन गरिरहेका छन्‌। चाँदनी-दोधारामा उत्पादित तरकारीमा विषादी प्रयोग नगरिने हुनाले ह्वात्तै माग बढेको छ। 

चाँदनी-दोधारा क्षेत्र तरकारी र खाद्य उत्पादनका हिसाबले उब्जनी हुने क्षेत्र हो। चाँदनी-दोधाराका स्थानीयले यस अघि परबल खेती गर्दै आएका थिए। भारतले निकासीमा नाकामा रोक लगाएपछि पछिल्लो समय परबल खेती बन्द गरिएको छ।

नगरपालिकाले नीति, कार्यक्रम तथा बजेटमा तरकारी उत्पादनमा लागेका किसानका लागि अनुदान कार्यक्रम ल्याइएको उपप्रमुख गिरीले जानकारी दिइन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.