बनाउँदा नै लापरबाही, मर्मतमा बेवास्ता

|

काठमाडौं : यस वर्षको सुरूमै अर्थात वैशाखमा ३ गते बडिगाढ खोलामा आएको बाढीले पुल भत्कायो। गुल्मीस्थित मुसीकोट नगरपालिकाको ३ र ७ वडा जोडने पुल दोस्रो पटक भत्केको थियो।

सोमबार मौवा खोलामा आएको बाढीले त्यहाँको पुलको एक छेउ नै बगाएको छ। पुल भत्केसँगै यतिखेर काठमाडौंको 'लाइफलाइन' मानिने पृथ्वी राजमार्गमा आवागमन ठप्प छ। खोलामा बाढी आइरहेकाले बुधबार बेलुकीसम्म पनि यो पुल मर्मत गर्न सकिएको छैन।  

 यो वर्षको मनसुनी वायु साविक वर्षहरूमा भन्दा बढी सक्रिय भएको छ। अघिल्लो सातादेखि नै लगातार पानी परिरहेको छ। देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबान चलेको छ। धनजनको क्षतिका अतिरिक्त भौतिक पूर्वाधारमा पनि असर गरेको छ। बाढी र पहिरोले विभिन्न रणनीतिक सडक र राजमार्गहरूमा क्षति पुर्‍याएको छ। 

अहिले देशका प्रमुख सडकहरूमा रहेका पूल २० वर्षभन्दा अघि बनेका हुन्‌। यी पूल हुँदै दैनिक जसो भारवहन क्षमताभन्दा बढी सामग्री बोकेका हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन्। यी पुलहरूको अवस्था कस्तो छ भन्नेबारे न नियमित निरीक्षण हुन्छ, न त समय छँदै पुल जोगाउन सुरक्षाका उपाय अबलम्बन गरिन्छन्‌। जब बर्खा लाग्छ : अनि बाढी र पहिरोले पुल बगाउन थाल्छ।

देशभर मुख्य सडकमा एक हजारभन्दा बढी संख्यामा मोटरेबल पुल रहेका छन्‌। हाल यति नै संख्याका पुल निर्माणाधीन अवस्थामा छन्। अनि, मर्मतसम्भार अभावमा देशभर रहेका झण्डै ७०० पुल जीर्ण अवस्थामा छन्‌।

पुल निर्माणमा इन्जिनियरिङ पक्ष नै कमजोर

नेपालका अधिकांश सडकमा प्राविधिक र भौगोलिक पक्ष अध्ययन नगरी पुल बनाउँदा बारम्बार भत्किने गरेको ट्रान्सपोट्र इन्जिनियरिङ आशिष गजुरेल बताउँछन्। पुल निर्माण गर्ने समयमा माटो र भौगोलिक अवस्थाको अध्ययन नगर्दा पनि निर्माण गरिएका पूर्वाधारमा क्षति हुने गरेको उनको भनाई छ।

आसपासमा ढुङ्गाले नबाँधी निर्माण गर्दा पनि बाढीले पुल छेउको भाग काट्ने गरेको उनको भनाइ छ। खोलामा जहिले पनि बाढी आउन सक्ने भएकाले पुलको वरिपरिको माटोलाई सुरक्षा दिनुपर्ने उनले जानकारी दिए।

'पुरानो भइसकेका पुलहरूको निरीक्षण नहुने भएकोले भत्केपछि थाहा हुन्छ,' उनले भने, 'जीर्ण भएका पुलहरूको मर्मत हुने गरेको छैन, भत्केपछि मात्र नयाँ पुल बनाउने चलनले त्यस्तो भएको हो।'

नेपालका सडकमा निर्माण भएका पुलको इन्जिनियरिङ पाटो पनि कमजोर भएकोले उनी बताउँछन्‌। सार्वजनिक भौतिक संरचना निरीक्षण नहुनु राज्यको कमजोर रहेको उनको दाबी छ।

'पुल आसपासमा बालुवा उत्खनन गर्दा समस्या'

सडक र पुल बनाउने तालुक निकाय सडक विभागका कर्मचारीहरू भने पुल भत्किनुका पछाडि बालुवा र माटो निकाल्नेहरूलाई दोष दिन्छन्‌। 

'भएका पुलहरूको समय-समयमा निरीक्षण गरिएको र खोलाको वरपर र पुल छेउबाट स्थानीयले माटो झिक्ने भएकोले पुल कमजोर भइ भत्कने गरेको छ,' विभाग अन्तर्गत पुल महाशाखाका इन्जिनियर बिमल कुमार बस्नेतले भने, 'छेउमै बालुवा उत्खनन गर्दा पुलको संरचना कमजोर बन्छ, अनि भेलबाढीले पुल वरपरको माटो बगाउँदै संरचनामै क्षति पुर्‍याउने गर्छ।' अहिले विभागले जनमैत्री र सामरिक महत्त्व बोकेका पुलहरूमा बढी ध्यान दिएको, तर राजमार्गको पुलमा ध्यान पुग्न नसकेको उनले स्वीकार गरे। 

विभागका अनुसार खोला र खहरेको जोखिममा रहेका पुलमा ढुंगाको जाली लगाउने तयारी भइरहेको छ। यही आर्थिक वर्षमा यो काम थालिने बस्नेतले बताए। 

अहिले भत्केका सडकमा वैकल्पिक पुलको व्यवस्था गरी यातायातका साधन सञ्चालन गरिने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.