संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवामा पहिरोका कारण १०४ परिवार विस्थापित भएका छन्। पहिरोको उच्च जोखिम भएपछि सिलिचोङ –१ को बेसिन्दा,चेप्चेवा लगायत गाउँका १०४ घरपरिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यले जानकारी दिएका छन्।
बेसिन्दा लगायतका गाउँलाई कुनै पनि बेला पहिरोले तान्न सक्ने खतरा भएपछि त्यहाँका १०४ परिवारलाई सुरक्षित स्थानमा सारिएको हो।सिसुवा, बेसिन्दा, चेप्चेवा गाउँ नै पहिरोले जमिन चिरा–चिरा भएर फाटेको छ।
गत असार २८ गते आएको पहिरोले सिलिचोङ गाउँपालिका–१ को बेसिन्दाका ९ घर बगाउँदा ११ जना बेपत्ता भएका छन्। पहिरोबाट विस्थापित भएका बेसिन्दाका ५७ घरलाई बेसिन्दा भन्दा माथिको चित्रे डाडाँमा अस्थायी बास निर्माण गरी राखिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। त्यस्तै गरी २९ घर परिवारलाई सिसुवाको बुधबारे बजारमा राखिएको छ।
चेप्चेवाका १८ घर परिवारलाई बुधबारे नजिकैको पौखमटार राखिएको प्रजिअ आचार्यले बताए। सिलिचोङ पहिरोबाट विस्थापित भएका घरपरिवारलाई सुरक्षाकर्मीले अस्थायी बास निर्माण गरी राखेको छ। पहिरोमा चार जनाको जीवितै उद्धार गरिएको थियो। अहिलेसम्म पहिरोले नौ घर बगाएको छ। एक दशकअघि पनि जिल्लास्थित ताम्कुको सिकदिम पहिरोमा परी ११ जना बेपत्ता भएका थिए।
बेपत्ताको खोजी गर्ने टोली सदरमुकाम फर्कियो
बेपत्ता भएको ८ दिन बित्दा समेत फेला नपरेपछि उद्धारका लागि सदरमुकाम खाँदबारीबाट गएको ६० जना सुरक्षाकर्मीको टोली आइतबार फर्किएको छ। गएको असार २८ गते गएको पहिरो बाट ११ जना अझै बेपत्ता छन्।
एक हप्तासम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि सुरक्षाकर्मीको टोली फर्किएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यले जानकारी दिए। बुद्धिजीवी, राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनको संयुक्त निर्णयपछि जिल्लाका सुरक्षाकर्मीको टोली फर्काइएको हो। पहिरो गएको स्थानमा बेपत्ताको खोजीका लागि गएको नेपाल प्रहरी १५, सशस्त्र प्रहरी १५ र बराह दल गुल्मका ३० जना गरी कुल ६० जनाको सुरक्षाकर्मीको टोली सदरमुकाम फर्किएको हो।
पहिरोमा बेपत्ता भएकाहरुको खोजीकार्य अहिले पनि जारी राखिएको छ। जनप्रतिनिधि, प्रहरी र स्थानीयको सहयोगमा खोजी जारी राखिएको प्रजिअ आचार्यले बताए। बेपत्ताको खोजीका लागि अहिले ताम्कु र बुधबारे प्रहरी चौकीबाट १३ जना प्रहरीको टोली खटाइएको छ।
पहिरोबाट विस्थापित भएका सिलिचोङबासीलाई केही दिन अगाडि प्रदेश १ सरकारले हेलिकप्टरबाट राहत पुर्याएको छ भने निजी क्षेत्रका विभिन्न निकायबाट समेत राहत संकलन गर्ने काम भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।