|

धादिङ : सिमेन्ट उद्योगका लागि चाहिने गुणस्तरीय ढुंगा पाइने धादिङको बेनिघाट रोराङ गाउँपालिकाको जवाङस्थित ढुंगाखानी क्षेत्रमा अहिले ढुंगा होइन, जताततै पुरिएका टिप्पर र स्काभेटर भेटिन्छन्‌।

ढुंगाखानीमा संचालित १९ वटा सवारीसाधन पहिरोमा पुरिएको छ। रोकेर राखेका ती सवारी साधनलाई तीन दिनअघि परेको अविरल वर्षापछि चलेको पहिरोले बगाउँदै लगेर पुरेको हो। जवाङको ढुंगाखानीबाट तराईका विभिन्न स्थानमा रहेका सिमेन्ट उद्योगका लागि ढुंगा बिक्री हुने गर्दछ। 

अन्नपूर्ण क्वेरिज प्रा.लि.ले संचालन गरिरहेको ढुंगाखानीमा प्रयोग भएका ९ वटा स्काभेटर र ११ वटा टिपर पहिरोमा पुरिएको कम्पनीले जनाएको छ। पहिरोमा पुरिएका मेसिन र मोटर बाहिर निकाल्न त्यहाँसम्म पुग्ने पहुँचमार्ग समेत पहिरोले बगाएको छ। पहिरोले खानी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको र त्यहाँबाट झरेको लेदो पृथ्वी राजमार्ग हुँदै त्रिशूली नदीमा खसेको थियो। 

खानी क्षेत्रभित्र पुरिएका स्काभेटर टिपर अन्नपूर्ण क्वेरिजमार्फत संचालन गरिएका हुन। अविरल वर्षापछि ढुंगा निकाल्ने र ढुवानी गर्ने काम रोकिएका कारण मानवीय क्षति भने भएको छैन। तर, पहिरोमा पुरिएका मोटर र मेसिन कामै नलाग्ने भएको बेनिघाट रोराङका प्रकाश रावलले वताए। 

राजमार्गभन्दा माथिको भागमा विभिन्न व्यक्ति र कम्पनीले हजारौं रोपनी जमिन किनेर तथा लिजमा लिएर २० वर्ष अघिदेखि सिमेन्ट उद्योगका लागि ढुंगा निकासी गर्दै आइरहेका छन्। हेटौंडा सिमेन्टले पनि यहाँ जग्गा खरिद ढुंगाखानी संचालनमा ल्याएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.